• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

६९औँ प्रजातन्त्र दिवस र गणतन्त्र नेपाल

मुलुक यतिबेला ६९ औ प्रजातन्त्र दिवस मनाउने भव्य र उल्लासमय तयारीमा जुटेको छ । २००७ साल फल्गुण ७ गते नेपालमा एकतन्त्रीय निरंकुश जहानियाँ राणा शासनको अन्त्य भै बहुदलीय प्रजातन्त्रको स्थापना भएको थियो ।

सर्वप्रथम नेपालमा बहुदलीय प्रजातन्त्र स्थापनाको लागि राणासँग शिर नझुकाइकन् देश, जनता र प्रजातन्त्रका लागि सहादत प्राप्त गर्नुहुने ती महान् सहिद (गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्द) प्रति हार्दिक सम्मान र श्रध्दासुमन अर्पण गर्नैपर्दछ । जसले माफी भन्ने दुई शब्द नमागेर देश र जनताको मुक्तिका लागि आफूलाई बलिबेदिमा चढाएका थिए ।

तिनै महान् सहिदका कारण आज हामी बहुदलीय प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिक बन्न सफल भएका छौं ।

आज नेपालमा ऐतिहासिक संविधान सभाले संविधान बनाइसकेको छ । संविधान अनुसार तीनै तहको निर्वाचन सम्पन्न भैसकेको छ । संविधान पूर्णरुपमा कार्यान्वयन भैसकेको छ । देशमा बामपन्थी गठबन्धनले सुविधाजनक बहुमत ल्याइ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा प्रदेश २ बाहेक ६ वटै प्रदेशमा र केन्द्रमा सरकार निर्माण भइ कृयाशील रहेको अवस्था छ ।

लेखक

हामीले ६९औँ प्रजातन्त्र दिवस मनाइरहँदा कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले एक वर्षे कार्यकाल व्यतित गरिसकेको छ । वर्तमान सरकारले जनतालाई सर्भिस डेलिभरी दिन, सुशाशन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न सन्तोषजनक काम गर्न सकिरहेको छैन । संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्नभने यो सरकार सफल रहेको पाइन्छ । संविधान सम्मतरुपमा कार्यान्वयन गर्नुपर्ने काम सरकारले गरिरहेको छ ।

संविधान अनुकूल व्यवस्थापन र कार्यान्वयन गर्नुपर्ने झण्डै १६५ कानुनलाई संशोधन र परिमार्जन गर्ने काम सरकारले गरिसकेको छ । संघीय संसद प्रतिनिधिसभाबाट पारित भैसकेको छ । आगामी फागुन २० गते अगावै राष्ट्रियसभाबाट समेत ती १६५ वटै कानुन पारित गरिने तयारी भैसकेको कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले र नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका उपनेता सुभाष चन्द्र नेम्वाङको कार्यकक्ष सिंहदरबारमा यो स्तम्भकारलाई जानकारी दिनुभएको थियो ।
फागुन ६, ७ र ८ गते ६९औँ प्रजातन्त्र दिवस भब्य र उल्लासमय रुपमा मनाइरहँदा सरकार संविधान कार्यान्वयन, नियम कानुनको व्यवस्थापन र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने सवालमा जति सक्रिय र सबल देखिन्छ त्यही सबलता र सक्रियता मुलुकको विकास र समृद्धिमा देखाउन सकिरहेको छैन ।

प्रजातन्त्रदेखि आज गणतन्त्रसम्म आइपुग्दा नेपाल र नेपाली जनताले मुलुकको समग्र विकास र जनताको समृद्धि चाहेका थिए र छन् । वर्तमान सरकारले सुरुमै विकास र समृद्धिको नारा अगाडि सारेको त हो । तर, जनताले अनुभूति प्राप्त गर्नसक्ने गरी विकास र समृद्धि पौने तीन करोड नेपाली जनताको दैलोमा पुग्न सकिरहेको छैन । 

भर्खरै सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम,’ ‘नेपालको पानी नेपालीकै लगानी, सबै नेपाली जलविद्युतको शेयरधनी,’ जस्ता लोकप्रिय र जनमुखी कार्यक्रम अगाडि सार्नुभएको छ । जुन एकहदमा सकारात्मक मान्नैपर्दछ । यसले एकहदमा ‘प्रजातन्त्र दिवस’ को गरिमा र महत्वलाई अभिवृद्धि गर्छ नै ।

यसबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केही सशक्त र प्रभावकारीरुपमा अगाडि बढ्न खोजिरहेको देखिन्छ । ६९औँ प्रजातन्त्र दिवस मनाउन नेपाली कांग्रेसले आफू र आफ्ना भातृसंगठनलाई सक्रियरुपमा उतारेको छ । संविधान निर्माण, कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा नेपाली कांग्रेस पनि प्रतिबद्ध र इमान्दार देखिएको छ । मुलुकका सबैखाले परिवर्तन र आन्दोलनको नेतृत्व गरेको नेपाली कांगेस जिम्मेवार र रचनात्मक भएर अगाडि बढ्न जरुरी छ । उ संविधान र परिवर्तनप्रति इमान्दार हुने नै छ, हुनु जरुरी पनि  छ ।

यता परम्परागत शक्तिको रुपमा स्थापित हुन खोजिरहेको राप्रपा आपसमा टुटफुट र विभाजनबाट क्षीण हुन पुगेको छ । गत संसदीय निर्वाचनले यो तथ्य पुष्टि गरिसकेको छ । ६९औँ प्रजातन्त्र दिवस मनाउँदै गर्दा यही सेरोफेरोमा तिनवटै राप्रपा एकताको प्रयास भएता पनि प्राविधिक कारणले स्थगित हुन पुगेको छ । भर्खरै राप्रपा प्रजातान्त्रिक र ए राप्रपा राष्ट्रवादीबीच एकता भइ राप्रपा संयुक्तमा रुपान्तरित भएको छ । आशा गरौ छिट्टै नै तिनवटै राप्रपा निकट भविष्यमा नै एक हुने नै छ । केही पृथक र मौलिक मान्यता बोकेता पनि सबै राप्रपाले संविधानको सहकार्य र कार्यान्वयनमा जोडदिएका छ्न । यसलाई राप्रपाको  संविधान, परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्धताकै रुपमा लिन सकिन्छ ।

यसरी नेपाल र नेपाली जनता ६९औँ प्रजातन्त्र दिवस भब्य र उल्लासमयरुपमा मनाइरहँदा मुलुकमा संसदभित्र र बाहिरका सबै राजनीतिक दलका बीचमा चुनावी प्रतिस्पर्धालाई केही समयका लागि बिर्सिएर विकास र समृद्धिका लागि एकखालको न्युनतम दलीय सहमति आवश्यक छ । राजनीतिक स्थिरता, दिगो शान्ति र आर्थिक समृद्धिका लागि राष्ट्रिय सहमति कायम राख्न सरकार र राजनीतिक दलहरु सफल रहुन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको ६९औँ प्रजातन्त्र दिवसको उपलक्ष्यमा यही चाहना र कामनाका साथ सम्पूर्ण सहिदहरुप्रति श्रध्दा सुमन । राजनेताहरुमा हार्दिक नमन ।।

लेखक गिरि राप्रपा संयुक्तका केन्द्रीय सञ्चार समितिका सदस्य हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर