शिवम सिमेन्टको आइपीओमा एक दिनमै १८ करोडको आवेदन

काठमाडौं । शिभम् सिमेन्टले निष्काशन गरेको साधारण सेयरमा पहिलो दिनमा नै १८ करोड रुपैयाँको आवेदन परेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटकलका अनुसार पहिलो दिन सोमबार साँझसम्म ६ लाख कित्ताका लागि आवेदन परेको छ । 

शिवम् सिमेन्टले स्थानीयसहित सर्वसाधारणका लागि फागुन ६ गतेदेखि ४६ लाख ९९ हजार ६ सय ४० कित्ता सेयर निष्काशन गरेको हो ।  निष्काशित सेयरमध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषहरु र शिवम् सिमेन्टका कर्मचारीहरुका लागि, ५ लाख ७९ हजार कित्ता मकवानपुरबासी र ४१ लाख २० हजार कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन्  । 

शिवमले यसअघि तोकेको प्रिमियम मूल्य घटाएर सर्वसाधारण र स्थानीयका लागि सेयर निष्काशन खुला गरेको छ । कम्पनीले सर्वसाधारणको लागि प्रति कित्ता ३०० रुपैयाँ र मकवानपुरबासीका  लागि २०० रुपैयाँमा सेयर निष्काशन गरेको हो । सर्वसाधारणले १०० रुपैयाँ अंकित मूल्यमा २०० प्रिमियमसहित प्रतिकित्ता ३०० रुपैयाँका दरले र मकवानपुरबासीका लागि १०० रुपैयाँ अंकित मूल्यमा १०० प्रिमियम थपगरी प्रतिकित्ता २०० रुपैयाँका दरले सेयर निष्काशन गरेको हो । 

शिवमले यसअघि मकवानपुरबासीलाई ३०० रुपैयाँदरले ८ लाख ८० हजार कित्ता सेयर निष्काशन गरि २ लाख २४० कित्ता सेयर बाँडफाँड गरिसकेको छ । 
आइपीओमा सर्वसाधारण तथा मकवानपुरबासीले न्युनतम ५० कित्तामा आवेदन दिन सक्नेछन् । त्यस्तै अधिकतम भने मकवानपुरबासीले ५ लाख ७९ हजार ६४० कित्ता र सर्वसाधारणले ४४ लाख कित्तासम्म आवेदन गर्न पाउने छन् ।  

आइपीओमा इच्छुक आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयरका प्रयोगकर्ताले इन्टरनेटको माध्यमबाट जुनसुकै स्थानबाट आवेदन दिन सकिने व्यवस्था छ ।  आइपीओमा छिटोमा फागुन ९ गते र ढिलोमा चैत ५ गतेसम्म आवेदन दिन सकिने छ । शिवमको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर