• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

अश्लील सामग्री राखेको भन्दै बंगलादेशका २० हजार वेबसाइट बन्द

ढाका । बंगलादेशमा अश्लील सामग्रीहरू राखेको आरोपमा झण्डै २० हजार वेबसाइट बन्द गरिएको छ । 

अश्लीलता विरुद्धको लडाइँ अभियानका क्रममा उनीहरूलाई बन्द गरिएको सरकारी उच्च अधिकारीहरूले मङ्गलबार बताएका छन् । 

मुस्लिम समुदायको बाहुल्यता रहेको देश भएकाले कामोत्तेजक अनलाइन सामग्रीहरू पाच्य नहुने भन्दै सरकारी पक्षले नियन्त्रण गर्न लागेको हो । 

‘मैले बङ्लादेशलाई सुरक्षित र रचनात्मक इन्टरनेट प्रयोगकर्ता रहेको देश बनाउन चाहन्छु, बालबालिकाका लागि पनि यो अत्यन्त घातक छ,’ बङ्लादेशका दूरसञ्चारमन्त्री मुस्तफा जब्बरले भने । 

अश्लीलताका विरुद्धमा आफूले ठूलो लडाइँ नै लड्नु परेको बताउँदै उनले  यसलाई निरन्तरता दिने जानकारी पनि दिए । 

बंगलादेशका सरकारी उच्च अधिकारीहरूले सामाजिक सञ्जाल, टिकटक, विगोलगायतका एपहरूको दुरूपयोग भएको ठानेका छन् । 

दक्षिण एशियाली यो देशमा दुरूपयोग भएका यस्ता सामाजिक सञ्जाल र एपहरूलाई प्रतिबन्ध गराउनुपर्नेमा पनि मन्त्री जब्बरले जोड दिए । 

अहिले प्रतिबन्ध लगाइएका वा बन्द गराइएका वेबसाइटमध्ये अधिकांश विदेशी रहेको उनले जानकारी दिए । 

बंगलादेशको उच्च अदालतले गत नोभेम्बरमा अश्लील वेबसाइट तथा प्रकाशनहरू बन्द गर्न निर्देशन दिएकाले सरकारी अधिकारीहरूले यस्तो अभियान थालेका हुन् । 

बंगलादेशमा अश्लील वेबसाइटहरू नै सर्वाधिक हेरिएको सूचीमा रहँदै आएका छन् । देशमा अहिले झण्डै आधा जनता इन्टरनेटको पहुँचमा रहेको तथ्याङ्क छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर