राजधानीमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

काठमाडौं । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा लैजान उद्देश्य राखेर आयोजना गरिएको ‘दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ सुरु भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा राजधानीको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा बिहीबार महोत्सवको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक समारोहका बीच गरे । 

उनले विश्वमा रहेका देशलाई एकअर्कामा आपसी एकता, सद्भाव बढाउन महोत्सवले भूमिका खेल्ने बताउँदै भने, ‘महोत्सवले नेपालको कला, संस्कृति, सभ्यता, परम्परा र भूगोललाई विश्वसामु चिनाउन सफल हुनेछ ।’ अध्यक्ष प्रचण्डले विश्वलाई चिनाउने सफल चलचित्र क्षेत्रमा राज्यको लगानी बढाउन आवश्यक रहेको धारणा राखे । 

कार्यक्रममा अग्रज कलाकार निर शाहले नेपाली चलचित्रलाई विश्वव्यापी लैजान महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले नेपाली चलचित्र जगतको विकासमा प्रचण्ड प्रधानमन्त्री हुँदा महत्वपूर्ण र अविस्मरणीय काम भएको उल्लेख गरे । उनले भने, ‘प्रचण्ड प्रधानमन्त्री भएका बेला नेपाली चलचित्र उद्योगमा दुई वटा महत्वपूर्ण काम भएका छन् । चलचित्र नीति बनाउने र कलाकार कल्याण कोषजस्ता कार्यक्रमले नेपाली चलचित्र जगतलाई अगाडि बढाउन महत्वपूर्ण सहयोग पुगेको छ ।’ 

कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, सुनिल थापा लगायतले महोत्सवले स्वदेश तथा विदेशका कला संस्कृतिबारे जानकारी गराउने बताए । प्रतिष्ठानका अध्यक्ष केपी पाठकले महोत्सवमा ३० देशका ६० ठूला साना चलचित्र प्रदर्शन गरिने जानकारी दिए । 

उनले विभिन्न ६०० चलचित्रबाट उत्कृष्ट चलचित्रलाई प्रदर्शन गर्न थालिएको बताए । राष्ट्रियसभा गृह र नेपाल पर्यटन बोर्डमा भइरहेको महोत्सव चार दिनसम्म सञ्चालन हुने छ । महोत्सवमा बङ्गलादेश, चीन, भारत, अमेरिका, जापान, सिङ्गापुर, मलेसिया, फिलिपिन्स लगायतका कला, संस्कृतिसँग जोडिएका चलचित्र प्रदर्शन गरिने छ । महोत्सवका बेला चलचित्र निर्माण गर्ने निर्माता, निर्देशकसँग पनि अन्तर्क्रिया गरिने प्रतिष्ठानका अध्यक्ष पाठकले बताए।

उक्त महोत्सवको सन्दर्भ पारे १५ भन्दा बढी चित्रकारले तयार पारेका चित्र प्रदर्शनी गरिएको छ । नेपाली संस्कृति, पर्यटनसँग सम्बन्धित दुई दर्जन बढी चित्र प्रदर्शनीमा राखिएको नेपाल ललितकला पत्रकार समाजका कोषाध्यक्ष दिवेश प्रधानले बताए । 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान चित्रकला विभागको सहकार्यमा स्याटडे प्लेन एअरको सहयोगमा  उक्त प्रदर्शनी गरिएको हो । महोत्सवका बीचमा करिब एक दर्जन कलाकारले चित्र बनाउने समेत प्रधानले जानकारी दिए । प्रदर्शनी तथा कार्यशालामा सहभागी कलाकार राकेशचन्द्र श्रेष्ठले नेपाली कला र संस्कृतिलाई पर्यटनसँग जोडेर प्रदर्शनी गरिएको जनाए । उनले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सन्दर्भ कलाका फरक विधालाई एकैस्थलमा प्रदर्शनी तथा कार्यशाला गरी नेपाली पर्यटन प्रवद्र्धन गरिएको बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर