• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

उत्तरकुमार वली : एक विकासप्रेमी नेता

को हुन् सांसद उत्तरकुमार ? 

नारायणपुर । दाङको कर्णाली भनेर चिनिने पश्चिम क्षेत्रको विकासको नेतृत्व गर्न शुरु गरेका सांसद उत्तरकुमार वलीको निधनपछि त्यो क्षेत्र यतिखेर शोकमा छ । माघ २४ गते अपरान्ह भएको कार दुर्घटनापछि अचेत अवस्थामा रहँदै आएका सांसद वलीको शुक्रबार बिहान काठमाडौँमा उपचारकै क्रममा निधन भएपछि पश्चिम दाङ दुःखित छ । 

विद्यार्थी कालदेखि राजनीतिक यात्रा शुरु गर्नुभएका वली पूर्णकालीन रुपमा राजनीति मै होमिनुभएपछि पश्चिम दाङमा विकासले मुहार फेर्न थालेको स्थानीयवासी बताउँछन् । बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले पश्चिम दाङले वर्षौंपछि प्राप्त गरेको विकासप्रेमी नेता गुमाउनु परेको प्रतिक्रिया दिए । ‘जतिबेलादेखि सांसद वलीले केन्द्रीय राजनीतिमा पहुँच राख्न शुरु गर्नुभयो, त्यो समयदेखि पश्चिम दाङले विकासको महसुस गर्न पाएको हो,’ गाउँपालिका अध्यक्ष पौडेलले भने – ‘जनतालाई खुशी बनाएर आफू खुशी हुने नेता हुनुहुन्छ उहाँ ।’

दाङ निर्वाचन क्षेत्र नं ३ (ख) बाट प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुने सांसद वलीले चालु आर्थिक वर्षका लागि मात्रै पश्चिम दाङमा करोडौँ बजेट तथा कार्यक्रमहरु भित्र्याउनु भएको थियो । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले चालु आवमा आफ्नो गाउँपालिकाका लागि मात्रै ७ करोडको बजेट प्रदेश सरकारबाट विनियोजन भएको बताए । दंगीशरण गाउँपालिका सांसदको वलीको गृह गाउँपालिका पनि हो । ‘यो क्षेत्रले अहिलेसम्म राजनीतिक नेतृत्व पाउन सकेको थिएन, उत्तरकुमारको उदय हुने बित्तिकै विकासको कार्यक्रमहरु शुरु भएका हुन्,’ अध्यक्ष चौधरीले भने – ‘हाम्रो गाउँपालिकामा मात्रै ७ करोड भन्दा बढीको बजेट उहाँकै पहलमा विनियोजन भएको छ ।’

विकासको पहिलो पूर्वाधारको रुपमा सडक र शिक्षालाई प्राथमिकता दिँदै बजेट तथा कार्यक्रमहरु निर्माण गर्नुभएका सांसद वलीको पहलमा पश्चिम दाङमा सिँचाइ सुविधाका लागि कुलो, नहर र बाँध निर्माणका कार्यक्रमहरु शुरु भएका छन् । सामुदायिक विद्यालयहरुमा भौतिक पूर्वाधार निर्माण, युवाका लागि खेलकूद मैदानको निर्माण, पर्यटकीय गन्तव्यहरुमा पूर्वाधार निर्माणका योजनाहरु सांसद वलीकै नेतृत्वमा सञ्चालन भएको बबई गाउँपालिकाका अध्यक्ष पौडेल स्मरण गर्छन् ।

वलीको निधनपछि पश्चिम दाङले एक सबल नेतृत्व गुमाएको बताउँदै अध्यक्ष पौडेलले भने– ‘यो वर्ष बबई गाउँपालिकामा मात्रै ३ करोडको बजेट उहाँकै पहलमा विनियोजन भयो । त्यो बजेटमा नयाँ सडकको ट्र्याक निर्माण, स्तरोन्नति र विद्यालयहरुको भौतिक पूर्वाधारमा सुधार गर्ने योजनाहरु छन् ।’

प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले सांसद वली जस्ता राजनीतिक विचारले दृढ र विकासमा नेतृत्व दिनसक्ने अर्को नेता दाङले पाउन धेरै वर्ष कुर्नुपर्ने बताए । कक्षा ८ देखि वलीसँग मित्रवत् सम्बन्धमा रहेर काम गर्दैआएको बताउनुहुने सांसद चौधरीले पश्चिम दाङको आर्थिक विकासका लागि धेरै योजनाहरु लिएर वलीले राजनीति गरेको सम्झन्छन् ।

को हुन् सांसद उत्तरकुमार ? 

दंगीशरण गाउँपालिका वडा नं ६ लेटारका सांसद वलीको जन्म साल २०४१ हो । विद्यार्थी जीवनमै गाउँको विद्यालय अखिलको प्रारम्भिक कमिटीमा बसेर विद्यार्थीहरुको नेतृत्व गर्नुभएको वलीले जिल्ला कमिटीबाट तत्कालीन निर्वाचन क्षेत्र नं ४ को इञ्चार्ज भएर काम गरेका थिए ।

आइएस्सी अध्ययनका लागि नेपालगञ्जस्थित बहुमुखी क्याम्पसबाट समेत वलीले राजनीतिक गतिविधिहरु गरेका थिए । बिएस्सी अध्ययनका लागि काठमाडौँको अमृत साइन्स क्याम्पसबाट विद्यार्थी आन्दोलनको नेतृत्व गर्नुभएको सांसद चौधरीले जानकारी दिए । उनले भने –‘सबैका प्रिय विद्यार्थी नेताको रुपमा उहाँले शैक्षिक विषयहरुमा बहस चलाउनुहुन्थ्यो । उहाँ विद्यार्थीे आन्दोलनलाई नेतृत्व गरेर सफल बनाउने नेता हुनुहुन्थ्यो ।’

सांसद वली तत्कालीन निर्वाचन क्षेत्र नं ५ बाट २०६४ मा र सविधानसभाको २०७० सालको निर्वाचनमा पनि उम्मेदवार भएका थिए । दुई निर्वाचनमा पराजित भए पनि प्रदेश सभाको निर्वाचनमा उहाँले नेपाली काँग्रेसका नेता बुद्धिराम भण्डारीलाई पछि पार्दै विजयी भएका हुन् । बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले भने – ‘निर्वाचन हारे पनि जनतामाझ पुगेर विकास निर्माणका बारेमा छलफल गर्ने, योजनाका लागि पहल गरिरहने र समस्या भए व्यक्तिगत लगानीमा विकासका लागि स्थानीयवासीलाई सहयोग गर्ने व्यवहारका कारण वली सबैको प्रिय बन्नु भएको थियो ।’

माघ २४ गते बेलुका बुटवलस्थित अस्थायी राजधानीबाट बैठकपछि दाङस्थित घरतर्फ आउँदै गर्नुभएका सांसद वली लमही घोराही सडक खण्डमा दुर्घटनामा परेका थिए । 

घोराहीबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ५५२९ नं को यात्रुवाहक बसले बुटवलबाट तुलसीपुरतर्फ आउँदै गरेको बा १८ च ६८३६ नं को सांसद वली सवार कारलाई घोराही–लमही सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका वडा–३ चिसापानी नजीकै ठक्कर दिएको थियो । 

सांसद वली आफैंले कार चलाउनु भएको थियो । दुर्घटना लगत्तै वलीलाई लमहीमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि राति नै कोहलपुर मेडिकल कलेज लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकप्टरबाट राजधानी लगिएको थियो । दुर्घटना भएको १६ दिनसम्म अचेत अवस्थामा रहेका सांसद वलीको शुक्रबार बिहान निधन भएको हो । सांसद वलीका श्रीमती र दुई छोरा छन् ।

(रासस)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर