• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

अनामिक यात्री

टाढा, हरियो घामलाग्ने देशमा विशाल दिभाङ नदी सुकेर सानो नालीमा परिणत भएको थियो । जेठको टन्टलापुर घाममा बालुवाको साम्राज्य ङिच्च दाह्रा देखाएर पर–परसम्म फैलिएको थियो । छिन्–छिनमा आफ्नो हराउन लागेको सभ्यताबाट टाउको उठाएर पानीसर्प माथि हेर्थ्यो, केही खतरा छ कि भनेर यसो सुँघेजस्तो गर्थ्यो, र पुनः पानीभित्रै विलिन हुन पुग्थ्यो । नदीको किनारमा कटुस, युद्धको बेला सिमानामा खटाइएका सैनिकजस्तै सतर्क उभिएका देखिन्थे । कटुसको एउटा बोटबाट अर्को बोटमा उडी–उडी खेल्ने गाँैथलीहरूलाई हेर्दा लाग्थ्यो मानौं ती गौंथलीहरू त्यस कट्टुसघारीलाई एकताको सूत्रमा बाँध्न तल्लिन छन् । 

ती  बूढा अनामिक यात्री, आफ्नो बूढो बोरेझोला लिएर थकित मुद्रामा एउटा कटुसको छायाँमा फ्यात्त बसे । लामो सास फेरेर सिसीमा ठाढो घाँटी लगाएर पानी पिए । उनका आँखा थकित देखिन्थे, यद्यपि त्यहाँ  किञ्चित जीवित आशाहरूको आभा मधुरो भए पनि स्पष्ट देखिन्थ्यो । ढल्न लागेको शरीरमा ढल्न लागेको जीवन, पराजयको सास्वत कथाजस्तो देखिन्थ्यो । उनी एक्लै थिए, नितान्त एक्लै, त्यस अन्जान वनको अपरिचित बाटोमा, अन्जान गन्तव्यतिर निरन्तर अगि सर्दै । 

‘कता जान लाग्नुभो हजुरबा ?’ पछिबाट आएको यस अपरिचित स्वरले बूढालाई झस्क्यायो । उनले अचम्म मान्दै पछितिर हेरे, उनका आँखामा एक्कासी जीवनका तरंगहरू छछल्किन थाले । हुन पनि त्यस निर्जन वनमा मान्छेको आवाज सुन्दा एक अलौकिक आनन्दको अनुभूति किन नहोस् ? त्यो सानो केटो पनि, लामो र एक्लो यात्रामा बूढै भए पनि सहयात्री पाउँदा दंग देखिन्थ्यो । 

आफ्नोपनले भरिएको एउटा न्यानो मुस्कानसहित बूढाले भने, ‘मालिगाउँ हिँडेको बाबु, त्यहाँ मेरो आफ्नै घर छ, मेरो पुरानो घर, मेरै हातले बनाएको ।’ 

यसरी सुरु भयो, गफगाफको सिलसिला । एकले अर्कालाई साथ दिँदै ती दुई यात्री अगि बढे । बाटोमा अब्बर र मिस्मी जातका फटाहा भेटिने खतरा कायमै थियो, र दुईजना भएपछि उनीहरू ढुक्क भए । छोटा–छोटा अन्तरालपछि केटोले बूढालाई केही सोध्थ्यो, र बूढा पनि आफ्नै नातीलाई माया गरेझै मायालु स्वरमा जवाफ दिन्थे । साठी वर्षका अनुभवहरू, पारम्परिक गाउँले शैलीको भाषामा, सिल्सिलेवर रुपमा फुक्दै गए, केटो पनि गफमा आनन्दित देखिन्थ्यो । कहिले उनीहरू विश्वयुद्ध पछिको समयको बारेमा चर्चा गर्थे भने कहिले बढ्दो बजार भाउको । जीवन कठिन भएका,े र अझ कठिन हुँदै जाने सम्भावना रहेकोमा उनीहरू दुवै एकमत् थिए । उनीहरूको गफगाफमा धेरै प्रसंगहरू उक्किए, र अन्तमा केटाको एउटा प्रश्नले अन्तर्वार्तालाई बुढाको घरफर्काइको विषयमा लगेर ठोक्काइदियो । 

‘हजुरबा, तपाईं किन पुरानो घर फर्किन लाग्नुभा,  तेही पनि एक्लै, यस्तो खतरा बाटोबाट ?’

बूढाको जवाफ लामो थियो, कथामा परिणत भयो । केटो एकाग्र भएर सुन्दै गयो । 

‘सुन बाबु, कथा लामो छ,’ बूढाले  सुरु गरे । इतिहासको कुनै प्राचीन कालखण्डबाट प्रतिध्वनित भएर आएको आवाजजस्तो त्यो आवाज काँपेको थियो । ‘सुशीलले मेरो छँदाखाँदाको घर भत्काइदियो,’ कथा सुरु गरे बुढाले, ‘मेलै त्यो घर नछाडी हुँदै भएन । अब म आफ्नै घर जान लागेको ।’
 
‘को सुशील ?’

‘मेरो छोरो, मेरो एकमात्र छोरो ।’

केटो अचम्मित देखियो, र उसको चेतना पनि दिग्भ्रमित बन्यो । बुढाको कथा उसको बुझाइको परिधिभन्दा बाहिर भएको अनुभूति भयो उसलाई । उसले केही प्रतिक्रिया जनाउनुअघि नै त्यो दूर्भाग्यको पर्याय बनेको बुढेसकाल विरहगाथाको अविरल लहरोको रूपमा प्रतिध्वनित हुँदै अगि बढ्यो । 

‘चालीस वर्ष अगाडिको कुरा हो, मलाई हिजोको जस्तो लाग्छ । त्यो घर बनाउँदा मैले ठूलोचहुरबाट एक्लै काठ बोकेको । काँधभरि दाग अझै आलै छन् । हेर्छौ ? इः लु हेर,’ भन्दै बुढाले पाखुरा सुर्किए । साँच्चै, चोटले पाछेका पाखुरा र काँध, दागै–दागले भरिएका, हृदयविदारक देखिन्थे । 

‘यी दागले झलझली सम्झाउँछन्, मलाई ती दिन । ढुंगा ओसार्दाको कथा छुट्टै छ । मैले त्यसरी बनाएको घर । थुक्क, पापी दैव ! अहिले केही रहेन, सबै स्वाहा पा¥यो पाजीले । घर पनि सिद्धियो, म पनि सिद्धिएँ । हे ईश्वर !’

यस पल्ट केटोले माथि आकाशतिर हे¥यो, दिग्भ्रमित दृष्टिले । फेरि उसले बुढाका काँपिरहेका ओठमा हे¥यो, ती कम्पनहरूमा लुकेका कथाहरूलाई बुझ्ने दुःसाहस जस्तो । 

‘माथिल्लो तल्लाको भित्री कोठामा मेरो पलङ् थियो । म त्यस कोठालाई मेरो घरको ‘मर्मस्थान’ भन्थें । एउटा कुनामा मैले मेरो भगवानको मूर्ति राखेको थिएँ, इ, यो भगवानको,’ भन्दै झोलाबाट पित्तलको शिवको मूर्ति निकालेर केटोलाई देखाए । फेरि मूर्तिलाई झोलामा थन्क्याउँदै भने, ‘मेरो कोठाको भित्तामा रहेका काठ र ढुंगाहरू मसँग कुरा गर्थे, मलाई माया गर्थे । मलाई सुरक्षाको प्रत्याभूति दिन्थे, र आफ्नोपनको अनुभूति गराउँथे । तिनीहरू मेरा थिए, म तिनीहरूको थिएँ ।’

‘जब सुशीलकी आमा बितिन्, म तल्लो तल्लामा सरें । माथि असाध्यै एक्लो भएको अनुभव भयो । समय बित्तै गएपछि, क्याम्पसको ‘सर’ भएको मेरो छोरो सुशीलले भन्यो, ‘बुवा, यो घर बूढो शैलीको भयो । यसको ‘मरम्म्त’ गर्नु प¥यो । साथीहरू आउँदा पनि लाजमर्दो भैसक्यो ।’

‘मलाई घरको असाध्यै माया थियो, मेरो घर, मैले बनाएको । इ हेरन पाखुरा ! कति सुन्दर थियो मेरो घर, मेरो लागि । मैले आँफैँ चित्र कोरेर, योजना बनाएर उभ्याएको घर । त्यसलाई परिवर्तन गर्ने कुरा मलाई जँचेन । म केही बोलिनँ, तर मेरो मौनतालाई प्रोफेसरसा’बले बुझ्न सकेन ।’

‘माघको महिनामा हुनुपर्छ, मेरो मन्दिरका काठ र ढुंगा झिकिए, र त्यहाँ नयाँ काठ र ईंटा जडान गरियो । त्यसपछि म सुत्ने कोठाको ‘मरम्म्त’ भयो । ती नयाँ काठ र ईंटा मेरा लागि अपरिचित थिए । मैले जोहो गरेका सर्दाम होइनन् ती । मलाई मेरो कोठामा तिनीहरूको उपस्थिति जँचेन । तिनीहरूसँग मेरो संवाद सम्भव भएन । म माझकोठामा बसाइँ सरेँ । 

फागुनमा माझकोठाको पनि मरम्मत भयो । ती भित्तामा मेरा आफन्तहरू देखिन छोडे, मलाई म आफैं कतै हराए जस्तो लाग्यो, मेरो शरीरमाथि कसैले बनचरो प्रहार गरेजस्तो लाग्यो । 

म त्यसपछि सिकुवामा बसाईं सरें । यो कुरा प्रोफेसरसा’बलाई मन परेनछ कि क्याहो, मसँग आएर कड्कियो, ‘यो के जात्रा गर्नुभा’को बुवा ? मैले यो घरको मरम्मत कस्को लागि गरेको ? तपाईलाई यो उमेरमा आराम दिउँ भनेर लागिपरेको म । तपाईबाहेक मैले स्याहार पु¥याउनु पर्ने को छ र संसारमा ? तपाई एउटा कोठापछि आर्को कोठामा किन यसरी बसार्इं सर्नु हुन्छ ? यो त असह्य भो अब त ।’

‘मलाई सम्झना छ,’ भन्दै बुढा अगाडि बढे, ‘मैले प्रोफेसरलाई जवाफ दिएको थिएँ, ‘भित्र गर्मी छ, बाहिर यो सिकुवामा कति शीतल हावा आउँछ । मन कति शान्त हुन्छ यहाँ ।’ 

यति सुनेपछि ऊ चुप लाग्यो । मुख फर्र्काएन । एक महिनासम्म मेरो सिकुवाको बास भयो । कति चिसो बतास चल्थ्यो, बाहिर । बेलाबेलामा भँगेराहरू आँपको बोटमा आएर आकाशका जूनतारालाई हेर्दै चिरबिर गर्थे । पारी दिगन्तबाट शान्त चन्द्रमा मलाई न्यानो साथको अनुभूति दिलाउँथ्यो । 

‘त्यो सिकुवा मेरो थियो । यसमा जडान भएका काठ र ढुंगा मेरा थिए, मैले जोडेका । दुईतिर छेकेको माटाको गारो, मैले लाएको । कुनाको जाँतो, मैले खारपानीदेखि बोकेर ल्याएको ढुंगो कुँदेर बनाएको । त्योबेला, दिवाङ् बढेर बहुलाएको थियो । मलाई झन्डै बगाएन । मानवीरेले नसमाएको भए म मास छर्न गैसेको हुने थिएँ । तर त्यो जाँतो देख्दा म सबै दुःख बिर्सन्थें । मेरो जाँतो ।’
‘र अन्त्यमा,’ भन्दै बुढाले लामो सास फेरे, अनि अगि बढे, ‘जे नहुनु थियो, त्यही भयो । म पल्लाघर पर्साईंकाहाँ गएको थिएँ, बुढासँग गफ गर्न । घर फर्केर आउँदा मेरो सिकुवाको पनि हत्या भैसकेको पाएँ । जाँतो भिरबाट उँधो गुल्ट्याइदिएछ मूर्दाले, तल गएर निबारोको ठुटामा अल्झिएको देखें । युद्धमा मरेको सहिदको लाशजस्तो त्यो जाँतो, मेरो जाँतो ।’

भक्कानोले बुढाको वाक्य रोक्यो । आँखाभरि आँसु ढल्पलाए । उनी निकैबेर धकार्रिए ।

‘अब त्यो घरमा मेरो केही रहेन । मेरो मन थामिएन । त्यस दिनसम्म मैले मेरो भनेको घर एक्कासी बिरानो भो मलाई । ती नयाँ झ्याल–ढोका खोल्न र बन्द गर्न पनि आउँदैनथ्यो मलाई ।’

‘त्यसैले म हिँडे, आज बिहानै । मेरो छोरो उठेकै थिएन । पर मालिगाउँ छ, त्यो मेरो पूख्र्यौली गाउँ हो । मैले मुग्लान पस्नुअघि बनाएर छोडेको मेरो घर अझै छ त्यहाँ । म यतिका वर्षपछि त्यस घरतिर जाँदैछु । आहा, मेरो घर !’

‘मैले त्यसको केही लगिनँ । मैले लिएर हिँडेको यही एउटा झोला हो । हेर यो झोलामा के–के छ ।’

बुढाले बोरेझोला अगि सारे । केटोले मुन्टो निहुर्याएर झोलाभित्र हे¥यो । बुढाका जोडी आँखाबाट टप्प टप्किएका आँसुका थोपामध्ये एउटा झोलाभित्र खस्यो, र एउटा केटाको सिरमा । झोलाभित्र शिवको मूर्ति थियो, सूर्तीका केही सुकेका पात थिए, र थियो एउटा निकै पुरानो बर्को । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर