गण्डकी प्रदेशमा मुख्ममन्त्री वातावरणमैत्री गाउँ छनोट

दमौली । गण्डकी प्रदेश सरकारले शुरु गरेको ‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ’ का लागि तनहुँका चार गाउँ छनोट गरेको छ । 

प्रत्येक निर्वाचन क्षेत्रमा एउटा नमूना कृषि गाउँ निर्माण गर्ने उद्देश्यबमोजिम तनहुँको भानु नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र आँबुखैरेनी गाउँपालिकाका चार गाउँलाई नमूना कृषिगाउँका रुपमा छनोट गरिएको गण्डकी प्रदेश भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठका अनुसार जिल्लास्तरमा गठित नमूना कृषिगाउँ छनोट समितिको सिफारिशबमोजिम भानु–११ स्थित बाँसखर्क, आँबुखैरेनी–४ स्थित भाँगे, शुक्लागण्डकी–९ र १२ स्थित भाटडाँडा तथा भिमाद–९ स्थित भानुमती गाउँलाई छनोट गरिएको हो । 

मन्त्रालयले तय गरेको कार्यविधि तथा मापदण्डका आधारमा सम्बन्धित प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुखसँगको परामर्शबाट छनोट गरी पठाइएका गाउँलाई मन्त्रालयको निर्देशक समितिको बैठकले अन्तिम रूप दिएको उनले जानकारी दिए । 

गाउँ छनोट गर्दा पर्यटकीय क्षेत्र भएका र कृषि पर्यटनको सम्भाव्यता भएका ठाउँलाई प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ । छनोट भएका गाउँको ५० घरधुरीबाट एक÷एक सदस्य रहने गरी कृषि सहकारी वा समूहमार्फत त्यहाँको मौसम तथा हावापानी सुहाउने गरी पशुपालन, तरकारी खेती, कुखुरा, माछा तथा अन्य खाद्य तथा नगदेबाली उत्पादन गर्न सक्नेछन् । 

मन्त्रालयले गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रका ३६ गाउँलाई नमूना कृषिगाउँका रुपमा छनोट गरेको छ । कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयले चालू आर्थिक वर्षमा रु १० करोड ८० लाख बजेट विनियोजन गरेको छ । छनोट भएका प्रत्येक गाउँलाई पहिलो वर्ष रु ३० लाखका दरले अनुदान उपलब्ध गराउने र चौथो वर्षसम्म प्रत्येक वर्ष ५० प्रतिशत रकम घटाउँदै लगेर त्यसपछि स्थानीय तहलाई हस्तान्तरण गरिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । 

कार्यक्रम सञ्चालन गर्दा सहकारीले ज्ञान केन्द्र वा विज्ञ केन्द्र र एकाइको सहयोग लिई वातावरणमैत्री नमूना कृषिगाउँ स्थापनाका लागि जलवायु समानुकूलित प्रविधि, असल कृषि अभ्यास, पर्यावरणीय खेती, कृषि पर्यटन, दिगो कृषि यान्त्रीकीकरण, लैङ्गिक तथा सामाजिक समावेशीकरण, क्षमता विकास र सहसिकाइ कार्यक्रमको वार्षिक कार्ययोजना बनाउनुपर्ने शर्त राखिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर