सात लघुवित्तको साढे २३ करोडको आइपीओ आउँदै (कसको कति)

काठमाडौं । पछिल्लो समय दोस्रो बजार निरन्तर घटिरहेको छ । दोस्रो बजारमा भएको लगातारको गिरावटको समयमा प्राथमिक सेयरमा लगानीकर्ताको अलि बढि नै आकषर्ण देखिन्छ । साधारण सेयर (आइपीओ)मा लगानी गर्न उत्सुक लगानीकर्ताहरुका लागि खुसीको खबर छ । निकट भविष्यमै सात वटा लघुवित्त कम्पनीले २३ करोड ५२ लाख ३१ हजार ८ सय रुपैयाँको सेयर निष्काशन गर्दैछन् ।

आइपीओ निष्काशन गर्ने सातवटा कम्पनीमध्ये स्पर्श लघुवित्तले नियामक नेपाल धितोपत्र बोर्डबाट सेयर निष्काशनको अनुमति पाइसकेका छ । त्यस्तै अन्य छ कम्पनी भने सेयर निष्काशनको अनुमति माग्दै नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएका छन् । 

स्पर्श लघुवित्त वित्तीय संस्थाले २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको २ लाख ६९ हजार ६३० कित्ता साधाराण सेयर (आईपिओ) जारी गर्दैछ । सेयर निष्काशनका लागि कम्पनीलाई नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । स्पर्श लघुवित्तको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । आइपीओ जारी गरेपछि लघुवित्तको चुक्ता पूँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ पुग्नेछ । 

गुराँस लघुवित्त वित्तीय संस्थाले २ लाख ५० हजार कित्ता आइपीओ निष्काशनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । लघुवित्तले २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्न माग गर्दै पुस १० गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । लघुवित्तको जारी पूँजी ७ करोड ७५ लाख रुपैयाँ र चुक्ता पूँजी ४ करोड २० लाख रुपैयाँ छ । लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्था सेयर निष्काशनको अनुमति माग्दै नियामक निकाय धितोपत्र बोर्ड पुगेको छ । लघुवित्तले १ करोड ९८ लाख ६१ हजार रुपैयाँ बराबरको १ लाख ९८ हजार ६१० कित्ता आइपीओ बिक्री गर्न लागेको हो । आइपीओ निष्काशनका लागि माइक्रोफाइनान्सले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको । 

जनसेवी लघुवित्त वित्तीय संस्थाले ४ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको ४ लाख ६३ हजार ३०० कित्ता सेयर निष्काशन गर्न लागेको छ । कम्पनीले सेयर निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । हाल ३० करोड रुपैयाँ अधिकृत पूँजी रहेको कम्पनीको जारी पूँजी १४ करोड रहेको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले एक करोड ६१ लाख ७७ हजार ८ सय रुपैयाँको १ लाख ६१ हजार ७ सय ७८ कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले सेयर बिक्री प्रबन्धकका लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्था पनि सेयर निष्काशनको अनुमति माग गर्दै नियामक निकाय धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता सेयर बिक्री गर्ने जनाएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कम्पनीले सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरेको छ । नवलपरासीको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको इन्फिनिटीको चुक्ता पुँजी १४ करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपश्चात चुक्तापूँजी २० करोड ७४ लाख रूपैयाँ पूग्नेछ ।

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले प्रति सेयर १०० रुपैयाँ अंकित मुल्यमा ३ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ३५ हजार कित्ता सेयर जारी गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीको अधिकृत पूँजी २० करोड रुपैयाँ रहेको छ । त्यस्तै जारी पूँजी १० करोड र चुक्ता पूँजी ७ करोड रहेको छ । आइपीओ बिक्री पश्चात चुक्तापूँजी १० करोड रुपैयाँ पुग्नेछ । साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कम्पनीले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर