• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

भारतका सर्वाधिक धनी व्यक्तिको ४५ अर्ब डलरदेखि २ अर्ब डलरसम्मको यात्रा

अझ ब्लूमबर्ग इन्डेक्सको आंकडालाई मान्ने हो भने अनिलको सम्पती खाली १.५ अर्ब डलर छ

काठमाडौं । सन् २००७ मा भारतका सर्वाधिक धनी दाजु–भाई मुकेश अम्बानी र अनिल अम्बानीमा अंश छुट्टिएको दुई वर्ष भएको थियो । त्यस वर्ष फोर्ब्सले धनी व्यक्तिको सुचीमा दुवै दाजु–भाई माथि नै थिए । 

दाई मुकेश भाई अनिलभन्दा थोरैले धनी थिए । त्यस वर्षको फोर्ब्सको सुची अनुसार, अनिल अम्बानी ४५ अर्ब डलरको मालिक थिए, भने मुकेशसँग ४९ अर्ब डलर थियो । 

सन् २००८ मा सम्पतीको मामिलामा भाई आफ्नो दाई भन्दा अगाडी आउने धेरैजसोले अड्कल काटेका थिए । विशेष गरी, रिलायन्स पावरको सार्वजकि सेयर जारी हुनअघि । 

अनिलको महत्वाकांक्षी परियोजनाको एक सेयरको मूल्य एक हजार रुपैयासम्म पुग्न सक्ने अनुमान लगाइएको थियो, यदि यस्तो भएको भए, वास्तवमा अनिल आफ्ना दाई मुकेशभन्दा अगाडी हुने थिए, तर यस्तो भएन । 

फोर्ब्सको सन् २०१८ को धनी व्यक्तिको सुचीअनुसार, मुकेश अम्बानीको सम्पतीमा केही कमी आएको थियो, उनी अहिले ४७ अर्ब डलरको मालिक हुन्, तर १२ वर्ष अगाडी ४५ अर्ब डलरका मालिक अनिल अम्बानी अब २.५ अर्ब डलरका मालिक बनेका छन् ।

अझ ब्लूमबर्ग इन्डेक्सको आंकडालाई मान्ने हो भने अनिलको सम्पती खाली १.५ अर्ब डलर छ । 

एक समय थियो, दुई दाजुभाईमा बुबा धीरुभाई अम्बानीको सच्चा उत्तराधिकारी साबित हुने होड थियो, तर अब यो होड सकिएको छ र अनिल आफ्नो दाईभन्दा धेरै पछि परिसकेका छन् । 

एक दशकअघि अनिल अम्बानी सबैभन्दा धनी भारतीय व्यक्ति बन्ने संघारमा थिए । त्यस समय, अनिलसंग दुरदृष्टि र जोश छ, उनी २१औँ शताब्दीका उद्यमी हुन् र उनको नेतृत्वमा भारतसँग एक बहुराष्ट्रिय कम्पनी माथि उठ्ने आथिर्क विशेषज्ञहरु मान्थे ।

त्यस समय अनिल आफ्नो आलोचक र दाईलाई गलत साबित गर्न गइरहेका छन् भन्ने धेरैलाई लाग्थ्यो, तर यस्तो भएन । 

अनिल र मुकेशका पिता धीरुभाई अम्बानीको निधन सन् २००२ मा भयो । उनको समयमा कम्पनीको तिव्र गतिले विस्तार हुनुका चार मुख्य कारण थिए – बढी परियोजनाको सफल प्रबन्धन, सरकारसँग राम्रो तालमेल, मिडियाको प्रवर्द्धन र लगानीकर्ताको आशा पुरा गर्नु । 

यी चार चीजलाई पुरा नियन्त्रणमा राखेर धीरुभाईले लामो समयसम्म तिव्र गतिले अघि बढिरहे । मुकेश अम्बानीले पनि यी चार कुरालाई ध्यानमा राखे तर, अभिनल कुनै न कुनै कारणले चिप्लिरहे । 

सन् २००७–२००८ बीचमा मुकेश अम्बानीलाई विश्वव्यापी आर्थिक मन्दीका कारण भारी झट्का लाग्यो, उनको सम्पतिमा लगभग ६० प्रतिशत गिरावट आयो, तर उनी यस कठिन समयबाट अगाडि निक्लिए र आफ्नो पुरानो अवस्थाको नजिक पुगे र अब उनी अगाडी बढ्ने तयारीमा छन् । 

अनिल जब एक पटक चिप्लिए, फेरी चिप्लिरहे । यसको एक ठूलो कारण थियो उनीसँग लगातार क्यास आउने कुनै धन्धा नहुनु । 

अनिल अम्बानी

सन् २००५ मा जब दुई दाजुभाईबीच मनमुटाव भयो, मुकेशको भागमा रिलयान्स समूहको ‘रिलायन्स इन्डस्ट्रिज’ पर्यो, जुन समूहको सबैभन्दा ठूलो कम्पनी थियो र भारी मुनाफा दिने गर्थ्यो । 

अनिलको भागमा ‘रिलायन्स पावर’ टेलिकम आयो, जसको भरपुर विस्तारको सम्भावना थियो, तर उसमा सुरुवातमा भारी लगानीको पनि आवश्यकता थियो । 

रिलायन्स पावर त्यति ठूलो कम्पनी थिएन र त्यसलाई चलाउनका लागि पनि निक्कै पुंजी आवश्यक थियो । रिलायन्स फाइदाको धन्धा अवश्य थियो, तर दाजुको भागमा आएको रिलायन्स इन्डिस्ट्रिजसँग उसको तुलना गर्न सकिँदैन थियो । 

मुकेशको व्यापारले पैसा बनाइरहेको थियो, जबकि अनिलको व्यापार बढाउनका लागि पैसाको आवश्यकता थियो । 

त्यसो त अनिल अम्बानी कच्चा खेलाडी भने होइनन् । अंश छुट्याएको समय अनिलले एक सर्त मनाएका थिए, जसमा रिलयान्स इन्डन्स्ट्रिजबाट अनिलको कम्पनीलाई ग्यास मिलिरहेनेछ । 

ग्यासको मूल्य निक्कै सस्तो थियो, यसरी अनिल अम्बानीले आफ्नो पावर प्लान्टका लागि सस्तोमा कच्चा मालको व्यवस्था गरेका थिए । ग्यासको त्यो सस्तो भाउ एक जादुको लठ्ठी जस्तै थियो, जसबाट उनले निक्कै मुनाफा लिने आशा थियो । 

तर, अनिलको दुर्भाग्य, उनको यो योजना राजनीति र अदालतको चपेटमा आयो । केन्द्र सरकार र उनका ठूलो दाईले अनिललाई अदालतमा पुर्याए । 

सन् २०१० मा सर्वोच्च अदालतले आफ्नो फैसलमा भन्यो – तेल र ग्यास राष्ट्रिय सम्पदा हो, उनले कसलाई र कति मूल्यमा बेच्ने यसको निर्णय गर्ने अधिकार खाली सरकारलाई छ । रिलायन्स इन्डस्ट्रिजलाई आदेश दिँदै बाँकी बिजुली बनाउने कम्पनीलाई पनि ग्यास दिन आदेश दियो । 

अदालतको यो फैसलाले अनिल अम्बानीलाई ठूलो धक्का लाग्यो । उनी बजारबाट उच्च मूल्यमा तेल किन्न बाध्य भए । यसकै कारण भारी मुनाफा र त्यसलाई लगानी गरेर अगाडी बढ्ने उनको लक्ष्य असफल भयो । 

त्यसपछि अनिल अम्बानीले रिलयान्स पावरको सार्वजनिक सेयर जारी गरेर बजारबाट पैसा उमार्ने प्रयास गरे, लगानी कर्ता यसलाई लिएर उत्साह पनि थियो । सेयर ७२ गुणा बढी बढेर गयो र अब सब ठिक हुन्छ भन्ने लागेको थियो । 

सन् २०१८ फेब्रुअरीमा सेयर लिस्टिङ भयो, सेयर ५ सय ३८ मा खुल्यो आफ्नो अलोटमेन्ट मुल्य ४५०देखि १९ प्रतिशत माथि । त्यसपछि पहिलो दिन नै यसमा गिरावट आउन सुरु भयो । धेरैको करोडौँ रुपैयाँ डुब्यो । हिजोअजा रिलायन्स पावरको सेयर १२ रुपैयाँ पनि पार गर्न सकिरहेको छैन । 

सन् १९८०देखि १९९० बीच धीरुभाईले रिलायन्स ग्रुपका लागि बजारबाट लगातार पैसा उठाइरहे, उनको सयरको मूल्य सँधै राम्रो रह्यो र लगानीकर्ताको विश्वास पनि लगातार रहिरह्यो । 

मुकेश अम्बानीले मुनाफाबाट पछिल्लो दशकमा शानदार तरिकाले विस्तार गरे । अर्कोतर्फ ग्यासलाई लिएर अदालतको फैसला र रिलायन्स पावरको सेयरको मूल्य गिरावटले अनिलको बाटो अप्ठ्यारो बन्दै गयो । 

यस्तो अवस्थामा अनिल अम्बानीसँग भारतीय र विदेशी बैँक र वित्तिय संस्थाहरुबाट ऋण लिनु बाहेक कुनै बाटो रहेन । सन् २०००देखि २०१० बीचको दश वर्षमा जहाँ अम्बानी दाजु कारोबारमा अगाडी बढ्दै गए, त्यही भाईको कम्पनीमाथि ऋणको भार चढिरहेको थियो । 

अनिल अम्बानी यदि चामत्कारिक ढंगले माथि उठ्न सकेनन् भने दुर्भाग्यवश उनी भारतको उद्यमी इतिहासको सबैभन्दा असफल व्यक्तिमा गनिनेछन् । 

खाली एक दशकमा ४५ अर्ब डलरको सम्पति डुब्नु कुनै सामान्य दुर्घटना भने पक्कै होइन । उनको कम्पनीका सेयर धनीहरुलाई भारी झट्का लागेको छ । 

आज हालत यस्तो अवस्थामा छ, उनका केही कम्पनीहरुले टाट पल्टिएको घोषित गरिदिन दबाब दिइरहेका छन् । 

आज जुन हालत छ, यसका लागि एक हदसम्म अनिल आफैँ पनि जिम्मेवार छन्, भने केही हदसम्म परिस्थितिहरु पनि जिम्मेवार छन्, जुन उनको नियन्त्रणमा रहेनन् । यसमा एक ठूलो भूमिका उसको पनि छ, जसले आफ्नो बाचा निभाउन सकेन । 

(बिबीसीः भारतीय वरिष्ठ पत्रकार आलम श्रीनिवासद्धारा प्रस्तुत लेख बिबीसीबाट अनुवादित । आलम रिलायन्स परिवारमाथि लेखिएको एक चर्चित किताब ‘अम्बानी भर्सस अम्बानी, स्ट्रोम्स इन द सी विंड’का लेखक हुन् )

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर