• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

अमेरिका आशावादी रहेको उत्तर कोरियासँगको अर्को एउटा बैठक

मोहिनी मिश्र रिसाल/काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको आगामी बैठकप्रति आशावादी रहेको बताउँदै गत बुधबार भने, ‘आगामी हप्ता भियतनामको हनोइमा हुन लागेको उत्तर कोरियाली नेतासँगको बैठकप्रति म निकै आशावादी छु, मलाई लाग्छ त्यहाँ जे हुन्छ त्यो सबैका लागि फलदायी नै हुनेछ । 

बुधबार उनले आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन्, ‘यसको अर्थ आगामी बैठक नै अन्तिम भन्ने त होइन तर पनि मलाई लाग्छ त्यो बैठक सफल हुनेछ । बैठकबाट दुई देशबीचको सम्बन्धमा अहिलेको भन्दा अझै सुधार आउने छ र त्यसमा हुने प्रगतिले कोरियाली प्रायद्धीपमा मात्र होइन अरुतिर पनि खुसीको खबर नै दिनेछ ।’ 

त्यस बैठकपछि अमेरिकाले उत्तर कोरियामाथि लगाएका केही नाकाबन्दीहरुमा पनि खुकुलो पार्ने धारणा उनले आफ्नो ट्वीटमाार्फत सार्वजनिक गरेका छन् । राष्ट्रपति ट्रम्पले यदि उत्तर कोरियाले अमेरिकाले यसअघि भन्दै आएका केही कुराहरुमा सहमति जनाएमा अमेरिकाले पनि त्यस्तो नाकाबन्दीलाई खुकुलो पार्ने बताएका छन् । 

यसअघि उनले अमेरिकाले वास्तविक रुपमा उत्तर कोरियाको नाकाबन्दी हटाउन चाहेको तर पनि उत्तर कोरियाको तर्फबाट समेत निःशस्त्रीकरण पूर्ण रुपमा लागु भएको हेर्न आफू र अमेरिकी नागरिकले चाहेका राष्ट्रपति ट्रम्पले बतएका थिए । त्यस कुरालाई उनले आफ्नो यो पछिल्लो पटकको ट्वीटमा पनि समेटेका छन् । 

राष्ट्रपति ट्रम्पले आफू आसन्न बैठकप्रति आशावादी रहेको बताइरहेका बेला दक्षिण कोरियामा भने दुवै कोरियाको संयुक्त कार्यक्रमको प्रस्तुति जारी थियो । नयाँ वर्षको अवसरमा भन्दै यी दुई देशले दक्षिण कोरियाका विभिन्न शहरमा यस्तो प्रस्तुति दिएका थिए । त्यस प्रस्तुतिमा दुवै कोरियाका कलाकारहरु थिए भने दर्शक पनि कुनै कुनै शहरमा त दुई कोरियाकै व्यक्ति रहेका थिए । 

यस्ता प्रस्तुति र संयुक्त बैठकहरु गएको वर्ष यी दुई कोरियाबीच निकै भए । वरिष्ठ कलाकारहरु, मन्त्रीसहित राजनीतिक तहका र अन्य क्षेत्रका पनि विशिष्ठ व्यक्तिहरुले एक अर्को देशको भ्रमण गर्ने, बैठक गर्ने, खेलकूद प्रतिश्पर्धाहरुको आयोजना गर्नेजस्ता कार्यक्रमहरु भएका छन् । त्यसैगरी यस्ता खालका विशिष्ठ भेटहरु दुई कोरियामा मात्र सीमित नरहेर अमेरिकासम्म पनि पुगेका छन् । अमेरिकी र उत्तर कोरियाली नागरिकहरु पनि एक आपसमा अर्को देशमा नजाने तथा प्रवेश गर्न पनि नदिने गरेकोमा त्यो अवस्था गत वर्ष भने रहेन । उत्तर कोरियाली र अमेरिकी नागरिक तथा उच्च राजनीतिक तहमा पनि भ्रमणहरु भएका थिए । तर दुई कोरियाको जस्तो उच्चस्तरमा र धेरै तहमा भने होइन । 

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता उनबीचको पहिलो शिखर बैठक गत वर्षको जुन १२ मा सिङ्गापुरमा भएको थियो । जुन बैठकले विश्वको ध्यान तानेको थियो र संसारले एक आश्चर्यको घटनाका रुपमा पनि लिएको थियो । पहिलो शिखर बैठकमा उत्तर कोरियाले पूर्णरूपमा निःशस्त्र हुने घोषणा गरे पनि त्यसको पूर्ण कार्यान्वयन भने हुन सेकेको छैन । उसले गर्ने भनेको निशस्त्रीकरणमा नै यो गएको वर्षदिनको अमेरिकी चासो बढेको हो । तर त्यस शिखर बैठकले पूर्ण रुपमा निशस्त्रीकरणको पालना नगरेको भनिए पनि कोरियाली प्रायद्धीपमा भने पहिलेका वर्षहरुको तुलनामा शान्ति छाएको छ । 

अमेरिकाले उत्तर कोरियाले भनेजस्तो गरी निशस्त्रीकरण गर्न सकेको छैन भन्छ भने उत्तर कोरियाले पनि सहमति एकोहोरो नहुने भन्दै यदि आफूले त्यो सिंगापुर सहमतिको पालना गर्नुपर्ने हो भने उत्तर कोरियाले पनि गर्नुपर्ने बताएको छ । तर प्रगति भने एक आपसमा थोरै मात्र भए पनि भएकै छन् । सहमति र समझ्दारीको तहमा केही मात्रामा भए पनि बृद्धि भएको छ । 

यही थोरै थोरै विश्वास र थोरै थोरै आशङ्का रहेकै बेला विश्वको प्रमुख शक्ति राष्ट्र अमेरिका र उत्तर कोरियाबीचमा यही फेबु्रअरीको २७ र २८ मा भियतनामको हनोइ दोस्रो पटक शिखर बैठक हुन लागेको छ । दोस्रो शिखर बैठकमा राष्ट्रपति ट्रम्पले गर्ने सहमति र अमेरिकी लचकतालाई विश्वका नागरिकले अहिले बडो चासोका साथ हेरेका छन् । त्यसैले विश्वमा हाल रहेको आशङ्कालाई न्यूनीकरण गर्दै थप विश्वास र सहकार्यको वातावरण बनाउने अपेक्षा विश्व समुदायको रहेको छ । 

आफ्ना नागरिकलाई एकले अर्को देशमा छिर्न पनि नदिने र आफूसँगका शक्तिशाली आणविक अस्त्रले नै एकले अर्कोलाई सिध्याइदिनेसम्मका धम्की र व्यवहारको सामना गरीआएका अमेरिका र उत्तर कोरियाबीच हुन लागेको यो आसन्न बैठकको प्रतिक्षा अहिले पनि अघिल्लो बैठकको भन्दा कम छैन, बरु बढी नै छ । 

विश्व समुदायले नै आश्चर्यजनक र अभूतपूर्व मानेको यस वार्ताले यी दुई देशबीचको कटुतामात्र होइन कि विश्वमा समय समयमा विश्वयुद्ध नै हुने त होइन भन्ने आशङ्कालाई पनि मेट्ने अपेक्षा गरिएको थियो । अमेरिकी नागरिक लुकिछिपी उत्तर कोरियाको भ्रमण गरीहाल्यो भने पनि जासूसी गरेको आरोप लगाउँदै उत्तर कोरियाले पक्राउ गरी थुनामा राख्ने तथा अमेरिकाले पनि त्यसै गर्ने गरिएका कटुतामा पूर्ण रुपमा पूर्णविराम भने लाग्न नसकेको अवस्थामा उच्चस्तरीय दुई नेताको भेटवार्तापछि धेरै कमी भने आएको छ । 

अमेरिकाले वास्तविकरुपमा उत्तर कोरियाको नाकाबन्दी हटाउन चाहेको तर पनि उत्तर कोरियाले पूर्णरुपमा निःशस्त्रीकरण नगरेको कुरामा सन् २०१८ को जुन महिनाको वार्ता अडिएको छ । तर केही दिनअघि अमेरिकी राष्ट्रपति ट्रम्पले आगामी हप्ता भियतनामको हनोइमा हुनलागेको वार्ताका बारेमा प्रतिक्रिया दिँदै उत्तर कोरियाली नेतासँगको बैठकप्रति आफू निकै आशावादी रहेको बताउनुले पनि यो बैठकप्रति थप आशा पलाएको मान्न सकिन्छ । 

कोरियाली प्रायद्वीपमा पनि यो बैठकको पर्खाई उस्तै रहेको छ । किनभने छ रिक्टर वरिपरीको भूकम्प गयो भने उत्तर कोरियाले आणविक परीक्षण गरेर पो हो कि भनेर पहिला दक्षिण कोरिया र जापानमा पक्का गर्नुपर्दथ्यो । अहिले त्यसमा कमी आएकै छ । अथवा त्यस्तो त्रासको अन्त्य हुने पहिलो आशा कोरियालीलाई नै हुनेछ । 

सन् १९५३ मा दुई कोरिया छुट्टिएपछि दुई कोरियाबीच शत्रुताको व्यवहार रहदै आएको थियो । खासमा उत्तर र दक्षिण कोरियाबीचको सत्रुतापूर्ण व्यवहार हाल निकै लामो समयदेखि नै अमेरिकासमक्ष पनि देखिन थालेको हो । तर सन् २०१८ को जुन महिनामा अमेरिका र उत्तर कोरियाबीच भएको शिखर वार्तापछि दुई कोरियाबीच सहकार्य र आवात जावतमा पनि बृद्धि भएको छ । उच्च स्तरीय नेताबीच पनि आवात जावतको क्रम जारी नै रहेको छ । 

अमेरिका र उत्तर कोरियाबीच हुने यस वार्ताले कोरियाली प्रायद्वीपमा बर्षौदेखि चलिआएको द्वन्द्व समाधान हुने र पहिले त दुई कोरियामा छुट्टिएर बस्न बाध्य आफ्नै दाजुभाई दिदीबहिनीबीच मेलमिलापका लागि सघाउने अपेक्षा दुवै कोरियाका नागरिकको छ । अब यस वार्ताले कोरियाको एकीकरणका लागि पनि सघाउने आशा नागरिकमा पलाएको छ, जुन स्वाभाविक पनि हो । 

अनि विश्वले पनि कोरियाली प्रायद्वीपमा शान्ति छाएमा विश्वमा नै अस्त्रको होडबाजी हट्छ र सर्वत्र शान्ति फैलिनुका साथै जस्तोसुकै सत्रुताको पनि समाधान वार्ताबाटै गर्न सकिन्छ भन्ने सन्देश प्रवाह हुने अपेक्षा गरेको छ । त्यसैले सिंगापुरपछिको यो दोस्रो शिखर बैठकको परिणामप्रति राष्ट्रपति ट्रम्प र नेता उन मात्र होइन कि विश्व समुदाय नै उत्सुक र आतुर छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर