• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

परराष्ट्रमन्त्री जेनेभा प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को चालिसौँ बैठकमा भाग लिने पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ जेनेभातर्फ प्रस्थान गरेका छन् ।

यही फागुन १३ गते हुने परिषद्को उद्घाटन सत्रमा उनी सहभागी हुने तथा १४ गते परिषद् बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । हाल नेपाल राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सदस्य हो । मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्त मिचेल बेचेलेटसँग फागुन १५ गते द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । 

परराष्ट्र मन्त्रालयका अनुसार मानवाधिकार परिषद्को बैठकमा सहभागी हुने सिलसिलामा जेनेभामा रहँदा परराष्ट्रमन्त्री ज्ञवालीले विभिन्न मुलुकका परराष्ट्रमन्त्री तथा जेनेभास्थित विभिन्न संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुखहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । साथै उहाँले युरोपेली आणविक अनुसन्धान सङ्गठनको पनि भ्रमण गर्नेछन् । मन्त्री ज्ञवालीले गैरआवासीय नेपाली सङ्गठन र नेपाली समुदायका नेतासँग पनि छलफल गर्ने कार्यक्रम छ । 

परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा सङ्घीय संसद्को प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी छन् ।

उक्त प्रतिनिधिमण्डल यही फागुन १६ गते स्वदेश फर्कनेछ । प्रतिनिधिमण्डललाई विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव शङ्करदास वैरागी तथा उक्त मन्त्रालयका उच्च अधिकारीले बिदाइ गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर