‘डाइङ क्यान्डल’ उत्कृष्ट चलचित्र

काठमाडौं । ‘दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–०१९’ सम्पन्न भएको छ । महोत्सवमा कथा चलचित्र सिंगापुरको ‘द ल्यान्ड इम्याजिन्ड’ उत्कृष्ट घोषित भएको छ । यो चलचित्रले उत्कृष्ट चलचित्रको पुरस्कारको रुपमा एक हजार डलरसहित गौतम बुद्ध अवार्ड प्राप्त गरेको छ ।  

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा गत बिहीबारदेखि पाँच दिनसम्म भएको महोत्सवमा उत्कृष्ट कथा चलचित्रको अवार्ड ‘डाइङ क्यान्डल’ (निब्दो मैनवत्ती) ले जितेको छ । नरेशकुमार केसीले निर्देशन गरेको उक्त चलचित्रलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नगद ५० हजारसहित उक्त अवार्ड प्रदान गरे । 

त्यस्तै, केसीले नै उत्कृष्ट कथा निर्देशकको अवार्ड समेत हात पारे । उत्कृष्ट स्क्रिन चलचित्र अवार्ड शिवम् अधिकारीद्वारा निर्देशित चलचित्र ‘पञ्चायत’ ले जित्न सफल भएको छ । छोटो चलचित्रमध्येबाट शेनाङ्ग ग्याम्जो तामाङद्वारा निर्देशित चलचित्र ‘सुपरमोङक’ उत्कृष्ट भएको छ । यस्तै छोटो चलचित्रबाट उत्कृष्ट निर्देशकको अवार्ड ‘मदर’ चलचित्रका निर्देशक परिच्छेद सेनले हात पारे । 

यसैगरी अन्तर्राष्ट्रियतर्फ छोटो चलचित्रमा भारतको ‘मिन आलाप’ उत्कृष्ट भएको छ । सुवर्ण सेन्जुटी तुल्सीले निर्देशन गरेको उक्त चलचित्रले पाँचसय डलरसहित माउन्ट एभरेस्ट अवार्ड प्राप्त गर्यो । महोत्सवको समापन अवसरमा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले महोत्सवले मुलुकको राष्ट्रिय एकता र विविधतालाई जोड्ने बताए । 

उनले यस्ता महोत्सवले विभिन्न मुलुकको सांस्कृतिक र कुटनीतिक क्षेत्रलाई नजिक ल्याउन सहयोग पु¥याउने बताउँदै समाजमा कतै नसुनिएका र नदेखिएका कुरालाई चलचित्रले कलाको माध्यमबाट प्रस्फुटन गराउनुपर्ने धारणा व्यक्त गरे । नेपालका लागि बाज्रिलका राजदूत मारिया टेरेसा मेस्कुरा पेसोआले यस्ता महोत्सवले विभिन्न देशको सांस्कृतिक एकतालाई नजिक ल्याउने बताए । 

पाँच दिनसम्म राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा सञ्चालन भएको महोत्सवमा नेपालसहित चीन, अमेरिका, जापान, बङ्गलादेश, सिङ्गापुर, भारत, मलेसिया, फिलिपिन्सलगायत ३१ देशका छोटा र लामा चलचित्रले भाग लिएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिए । उनका अनुसार विभिन्न ६ सय चलचित्रबाट ६० वटा उत्कृष्ट चलचित्रलाई प्रदर्शनमा राखिएको थियो । 

पुरस्कार छनोटका लागि नेपालका ख्यातिप्राप्त चलचित्रकर्मी नीर शाहको संयोजकत्वमा भारतका चलचित्रविद् प्रेमेन्द्र मजुमदार, चीनको बेजिङ्ग फिल्म एकेडेमीका प्रोफेसर ल्याङ्ग स्याओ र क्यान्स फिल्म फेस्टिभलका प्रोग्राम निर्देशक एन्ने डेलेचको निर्णायक समिति गठन गरिएको थियो । सोही कार्यक्रममा छोटो कथा वाचनतर्फका पुरस्कार विजेतालाई लघुचलचित्र बनाउनका लागि दिवस अमागाईको काशिनाथ र सजल लोप्चनको गाइड टु फिल्म फेस्टिभल नामक दुईवटा कथालाई प्रदान गरियो । रेड कार्पेट प्रालि र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानबाट चालिस हजार नगद अनुदान दिने घोषणा गरिएको छ । 

महोत्सवको सन्दर्भ पारेर डेढ दर्जन चित्रकारका चित्र प्रदर्शनीमा राखिएको थियो । चलचित्र र चित्रकलालाई अन्तर्राष्ट्रिय स्तरसम्म लैजान महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने भएकाले कला प्रदर्शनी तथा कार्यशाला गरिएको नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले बताए । प्रदर्शनीमा प्राज्ञ सुषमा राजभण्डारी, केशव राज खनाल, राकेशचन्द्र श्रेष्ठ, दिवश प्रधान, देवेन्द्र थुम्केली, विनोद गुप्ता, दीपेन्द्रमान बनेपाली, राकेश याकामी, सञ्जु शाही, प्रकाश मानन्धर, कान्छाकाजी भासिमा, शंकरसन श्रेष्ठ, विक्रम प्रजापति, अनन्त आचार्य, सूर्यराम सुवाल, राद्येश्याम नकर्मी लगायतका कलाकारका चित्र राखिएको थियो । 

नेपाली कलामार्फत पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेर प्रदर्शनी गरिएको स्याटडे प्लेनएअरका अभियन्ता राकेशचन्द्र श्रेष्ठले बताए । प्रदर्शनी नेपाल ललितकला पत्रकार समाजको संयोजनमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान चित्रकला विभाग र स्याटडे प्लेनएअरको सहकार्यमा भएको थियो । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर