• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

यी १० महिला : जो नेपालको इतिहासमा नै पहिलो बने !

काठमाडौं । आज अन्तर्राष्ट्रिय महिला दिवस । विश्वभर आज विभिन्न कार्यक्रमका साथ महिला दिवस मनाईँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रमकाबीच महिलाहरुको सम्मानस्वरुप दिवस मनाइएको छ । 

यसैबीच, प्रधानमन्त्री देखि विभिन्न सर्वसाधरणले महिला दिवस विशेष महत्वकोे भएको भन्दै महिला हिंसा अन्त्य र महिलाको हकहितमा आवाज उठाएका छन् । 

हरेक वर्ष ८ मार्चका दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

महिला दिवसको अवसरमा हामीले नेपालका केही सफल महिलाहरुको स्मरण गरेका छौं । नेपालको राजनीतिदेखि विभिन्न ऐतिहासिक महत्वको विषयमा आफूलाई महिला भएपनि पहिलो बनाउँदै उत्कृष्ट ठहरिएका महिलाहरुको चर्चा गरेका छौं । 

१) विद्यादेवी भण्डारी (पहिलो महिला राष्ट्रपति)
राष्ट्रपति विद्यादेवि भण्डारी नेपालको इतिहासकै पहिलो महिला राष्ट्रपति हुन् । उनी नेपालको वर्तमान तथा गणतन्त्र नेपालकी दोश्रो राष्ट्रपति हुन् । राष्ट्रपतिमा निर्वाचित हुनुपूर्व उनी एक राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टी एमालेकी उपाध्यक्ष तथा अखिल नेपाल महिला संघकी अध्यक्ष थिइन् । उनी स्वर्गिय नेता मदन भण्डारीकी धर्मपत्नि समेत हुन् । 

उनलाई विश्व प्रसिद्ध पत्रिका फोब्र्सले बर्ष २०१६ का शक्तिशाली महिलाहरु मध्ये ५२ औं स्थानमा सूचिकृत गरेको छ ।

२) शुशिला कार्की (पहिलो महिला प्रधानन्यायाधीस)
न्याय परिषदको इतिहासमा शुशिला कार्कीको नामलाई पहिलो प्रधानन्यायाधीसको रुपमा लिन सकिन्छ । २०७३ असार २७ गते उनी नेपालको इतिहासलाई नै ब्रेक गर्दै पहिलो महिला प्रधानन्यायाधीस भएकी हुन् । 

कार्कीको जन्म २००९ जेठ २५ गते शङ्खरपुर–३ विराटनगरमा भएको हो । उनले महेन्द्र मोरङ कलेज विराटनगरबाट २०२८ बिए र वनारस हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा २०३१ मा एमए गरेकी छिन् । उनले २०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक (बिएल) गरी कानुनी यात्रा सुरु गरिन् ।

अधिवक्ता भएर कानुन क्षेत्रलाई कर्मथलोका रुपमा कार्कीले २०३५ चैत १६ गतेदेखि काम सुरु गरिन् । उनले तीन वर्ष २०४२–२०४६ महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापनसमेत गरिन् ।

विसं २०४५ देखि २०४७ सम्म सुशीलाले कोसी अञ्चल बारको अध्यक्षको जिम्मेवारी लिँदै २०५९ देखि २०६१ सालसम्म विराटनगर पुनरावेदन बारको अध्यक्ष बनिन् ।

३) ओनसरी घर्ति (पहिलो महिला सभामुख)

बाल्यकालदेखिनै जनयुद्धमा होमिएकी नेकपाकी नेतृ ओनसरी घर्ति नेपालको संसदीय इतिहासमै पहिलो महिला सभामुख हुन् । 
रोल्पाको जंकोट १ माडिचौरमा जन्मिएकी घर्ती रोल्पा २ बाट प्रत्यक्ष निर्वाचित सभासद हुन् । माओवादी सशस्त्र जनयुद्धमा लागेकी घर्तीले १० वर्ष भूमिगत जीवन विताएकी थिइन् ।

उनले एसएलसीसम्म अध्ययन गरेकी छन् । उनले यसअघि संविधानसभा उपसभामुख थिइन् । नयाँ संविधान बनेसँगै तत्कालीन सभामुख सुवास नेम्वाङ र उपसभामुख घर्तीले राजीनामा दिएका थिए ।

४) द्वारीका ठकुरानी (पहिलो मन्त्री)
द्वारीका ठकुरानी नेपालको इतिहासमै पहिलो महिला मन्त्री बनेर इतिहास रच्न सफल नाम हो । ठकुरानी पहिलो आम निर्वाचन २०१५ मा डडेल्धुराको जोगबुढा क्षेत्रबाट जनप्रतिनिधिको रुपमा निर्वाचित भएर दक्षिण एसियाकै पहिलो महिला मन्त्री समेत बनेकी हुन् । 

५) पासाङ ल्हामु शेर्पा (पहिलो नेपाली आरोही)
पासाङ ल्हामु शेर्पा सर्वोच्च शिखर सगरमाथा चढ्ने प्रथम नेपाली महिला हुन् । उनले २०५० साल बैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिईन् । त्यो भन्दा पहिले उनको सगरमाथा चढ्ने प्रयास तीन पटक सम्मको असफल भएको थियो । उनले सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेकी थिईन् ।

सगरमाथा चढ्नु भन्दा पहिले उनले मोन्ट ब्लाङ्क, चो यू तथा अन्य हिमालहरू चढिसकेकी थिईन् । उनको जन्म सोलुखुम्बु जिल्लाको चौरीखर्क, लुक्ला सुर्के–४मा २०१७ साल मंसिरमा भएको थियो । 

पासाङ ल्हामुको सहासको सम्मान गर्दै नेपाल सरकारले उनलाई नेपालको राष्ट्रिय बिभूती घोषित गरेको छ । सरकारले २०५९ साल वैशाख १० गते शेर्पालाई राष्ट्रिय विभूति घोषणा गरेको हो ।

६) सोनी राणा (पहिलो महिला पाइलट)
नेपालको पहिलो पाइलट हुन सोनी राणा । सन् १९९१ मा उनले पहिलोपटक लाइसेन्स लिएपछि यो क्षेत्रमा नारीको प्रवेश भएको हो । नेपाल नागरीक उड्डयन प्राधिकरणबाट १९९१ को मार्च २९ मा ११९ नम्बरको लाइसेन्स लिएकी हुन् ।

पहिलो महिला पाइलटको रुपमा रक्षा राणालाई लिएपनि सोनीले आफू पहिलो महिला पाइलट भएको बताउँदै आएकी छिन् । रक्षा राणाले भने १९९२ मा लाइसेन्स लिएकी थिइन् ।भने उनको लाइसेन्स नम्बर पनि १२३ छ । 

७) रामदेवी श्रेष्ठ (पहिलो महिला चालक)
नेपालको इतिहासमा नै पहिलोपटक सवारी हाँक्ने महिला हुन रामदेवी श्रेष्ठ । उनले राजा महेन्द्रको समेत गाडी हाँकेकी थिइन् । आफन्त गुमाएर रोडमा पुगेकी बेसहारा रामदेवीको सहारा बनेको काठमाडौंको रविभवनस्थित आमाघरमा १ सय वर्षको जन्मदिन मनाउने कार्य भएको छ । 

विसं २०२२ सालमा तत्कालिन राजा महेन्द्रको गाडी चलाउने गरेका रामदेवीले लगातार सात बर्ष राजा महेन्द्रको गाडी चलाएकी थिइन् ।

८) लक्ष्मी शर्मा (पहिलो महिला चालक)
सार्वजनिक यातायातको स्टेरिङ चलाउने पहिलो महिला हुन लक्ष्मी शर्मा । उनले ०३८ सालमै टेम्पो चलाउने काम गरेकी थिइन् । त्यसैले त उनी नेपालकै पहिलो महिला टेम्पो चालकका रुपमा चिनिएकी छिन् । 

१३ वर्षको कलिलो उमेरमा वैवाहिक सम्वन्धमा बाँधिएकी शर्मालाई श्रीमानले चरम मानसिक र शारीरिक यातना दिएका थिए । त्यसपछि उनले आफैंले केही गर्नुपर्छ भन्ने भावनाका साथ संघर्ष प्रारम्भ गरेकी थिइन् । २०३८ सालमा उनले आफ्नी साइली आमाबाट सापटी पैसा मागेर टेम्पो किनेर जमलदेखि महाराजगञ्जसम्म आफैं हाँक्न थालिन् ।

९) शैलेजा आचार्य (पहिलो महिला उपप्रधानमन्त्री)
शैलेजा आचार्य नेपालको पहिलो महिला उपप्रधानमन्त्री हुन् । उनी विसं २०५५ सालमा मन्त्रिपरिषदमा प्रवेश गरेकी थिइन् । त्यतिबेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला थिए । उनी उपप्रधान एवं जलस्रोमन्त्री भएर काम गरेकी थिइन् । 

१०) अनुराधा कोइराला (पहिलो महिला प्रदेश प्रमुख)
अनुराधा कोइराला हाल ३ नम्बर प्रदेशको प्रदेश प्रमुखको पदमा छिन् । उनी देशकी पहिलो महिला प्रदेश प्रमुख हुन् । अनुराधालाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम चाहिँ माइती नेपाल नामक गैरनाफामुलक संस्थाले गरेको हो । हालसम्म माइती नेपालले १२ हजार भन्दा बढि महिला तथा बालिकाहरुलाई उद्दार र पुनस्र्थापन गरेको छ ।

शाही शासनकालमा उनी महिला तथा समाजकल्याण मन्त्री बनेकी थिइन् । अनुराधाको जन्म सन् १९४९ को १४ अप्रिलमा भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर