• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

कविता : वर्तमानमा      

आकाशे रंगको भित्तामा  
सुनौलो रंगको पर्खालभित्र 
काँचको लाहा छापमा कैद छ, मेरो बहादुरी 
र, त्यो पाउँदा बजेको मंगल धुनजस्तै
एकोहोरो बजिरहेको छ, पेटमा सारंगी 
तालीको लयमा छ, मुटुको ढुकढुकी
इतिहास भइ सकेको मेरो साहस
दलिनको काप कापबाट निस्केर
मलाई गिजोलिरहेको छ

खाटमुनि ट्याङ्कामा
कोचिएका दस्तावेजका अक्षरहरुमा
बन्दि जीवन बिताइरहेका छन् मेरा सपनाहरू
त्यो पारित गर्दाको समयमा जस्तै
लय मिलाएर गीत गाइरहेका छन्, धमीराहरु
ताल मिलाएर नाचिरहेका छन्, साङ्ग्लाहरु
म, त्यही संगीत सुनेर
दिनरात जाग्राम बसिरहेको छु
र, इतिहाससंगै बगेको मेरो रगत
बाफिएर आँखामा आएर ठोकिए छ
एकनासले बर्सिरहेको छ

समयको बधशालामा
कुड्किएको मेरो अस्तित्वहरुमा
ठिंग्रिएको विगत सुमसुम्याइरहेको छु, आफैसंग
छामेरअठ्याए
हातको ठेला
खुट्टाको खिल
काँधको डाम
भित्र भित्रै जलिरहेको छ, बर्तमानमा
ओकलिरहेको छ, आगो
र, मलाई लपेटिरहेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर