• मंगलबार २-७-२०७६/Tuesday 05-21-2019/ 12:26 am

कथा : सन्तेको कुकुर

“आहा ! कति माया लाग्दो रै’छ । चेइ–चेइ–चेइ !” प्याउलीले फुरुक्क हुँदै उसको ढाड सुसुम्याई ।“अब त ती बजियाका साँडेले दिग्दार त गर्न पाउन्न कि !” उसले फेरि कुरा थपी । खैरो रंगको कुकुरको छाउरो पुच्छर हल्लाउँदै दौडेर प्याउलीसँग लुटुपुटु गर्न थाल्यो ।“ए हजूर ! यसको नाम शेरु राखम है ?” प्याउलीले सुझाव मागी । बिँडीको लामो सर्को तानेर फुस्स धुवाँ उडाउँदै अलिअलि हँसिलो अनुहार पारेर सन्तेले टाउकोले समर्थन जनायो ।

“बज्जेले हगेर हैरान पा¥या’छ । पाल्ने मन भए आप्mनै ओछ्यानमा हगाउँनु नि !” रिसले ठूला–ठूला आँखा पार्दै बडा साहेबको घरतिर हे¥यो सन्तेले । उसको बोलीको प्रहार बडा साहेबको बेलाइती कुकुर टमीप्रति थियो । “अबबाट हाम्रो शेरु भुक्नासाथै हेरिहाल्नु पर्छ । त्यस साँडेको ढाड एकैतालमा ठनक्कै नपारी हुन्न ।” प्याउलीले पनि बडा साहेबको महलतिर धारे हात देखाई ।उतापट्टि बडा साहेबको महलको चौथो तलाको वरण्डामा तीन–चार जना बसेर गफगाफ गर्दै थिए । त्यहाँ त्यस वडाका वडाध्यक्ष, एकजना भलाद्मी मान्छे र अरु दुई जना नेताजस्ता मान्छेहरु थिए ।

तिनीहरुकै छेउमा गजक्क फुलेर बसेको थियो बडा साहेब ।  असहाय उद्धार समितिको चन्दा कागजमा उसले बडो गर्वका साथ हस्ताक्षर ठोक्यो – शेर सिंह । त्यसपछि चन्दा रसिदलाई ती नेताहरुतिर फर्काउँँदै दम्भ प्रस्तुत ग¥यो – “बुझ्नु भो’ , मेरा बाजेले सिंगै गाउँ दान ग¥या थिए उसबेलामा । उच्च खानदान भएर पनि दानी स्वभाव हो हाम्रो । आजकल त जमानै भलो गर्ने छैन ।” सबैले उसको कुरामा साथ दिँदै मुण्टा हल्लाए । बडा साहेबले पनि केही बेर आफ्नो खानदान र परम्पराको लामो विश्लेषण छाँट्यो ।

कुराकानीकै बीचमा नोकरले सबैलाई चिया टक्र्यायो । चिया लिने–दिने क्रममा कुराको प्रसंग टुक्रियो । वातावरण एकैक्षणको लागि शून्य भयो, केवल चियाको चुस्की तानेको “सुरुप–सुरुप” को आवाज आयो ।कुरा बढाउँने मनसायले भलाद्मी देखिने मान्छेले घरको पर्खाल वरिपरि नियाल्दै मुख खोल्यो – “टोलकै आकर्षण बढाउँने गजबको घर बनाउँनुभयो यहाँले त !”

 “हुन त यो सानोसानै कुटी त बनाइयो तर......!” ओठको चोसो तेस्र्याएर सन्तेको छाप्रातिर इसारा गर्दै फेरि भन्यो बडा साहेबले “त्यो छाप्रोले गर्दा सुनको छेउमा दुर्गन्ध भा’छ ।” “उसो भए केही त सोच्नु प¥यो नि !” माझी , चोरी र बुढी औंलाले रुद्रघण्टी सुम्सुम्याउँदै नेताजस्तो देखिनेले सुझाव दिन खोजे झैं ग¥यो ।“सोचेको त उसको जग्गालाई दोब्बर दाम दिन खोज्या हो, मोरो मान्दैन । पुर्खाको जगेडा ज्यान गए छाड्दिन भन्छ ।.... बस चले त यही मुंग्राले सिध्याइदिउँ जस्तो लाग्छ ।” छातीभरिको क्रोध एकैपटक ओकल्न खोज्यो बडा साहेबले ।

 “हैन हैन, त्यसरी त हुन्न । त्यस्तै गर्दागर्दै अहिले त सन्तेजस्ताहरुले ठोक्न शुरु गरिसके । बल हैन दिमाग चलाउँनु बेश हुन्छ होला । बरु......।” त्यसपछि बडा साहेबको कानमा फुसफुसायो अर्को नेताजस्तो मान्छेले ।“ए ! मैले गरिसकेँ हुन्नहुन्न त्यो त ।” उसको कुरालाई अस्वीकार ग¥यो बडा साहेबले । भलाद्मी जस्तो मान्छेले पनि कुराको तानाबानालाई राम्ररी नियाल्यो । त्यसपछि हातको घडि हेरेर हतार भए झैं गरी बिदा माग्यो ।

त्यो भलाद्मी मान्छेसँगै अरुहरु पनि त्यहाँबाट हिँडे । बडा साहेब पनि च्यूँडो मुसार्दै उनीहरु गएतिर हेरेर केही सोच्न थाल्यो । सन्ते र प्याउलीलाई परैबाट देख्दै उसका परेला रिसले फुर्फूराउँन थाले । “मुर्खको बुद्धि... हुन्छ भन्या एकदम ठीक रहेछ ।” उसले सन्तको बुद्धिलाई मनमनै तौलियो ।

 डेढ बर्ष जति अगाडि बडा साहेबले आफ्नै महलमा बोलाएको थियो सन्तेलाई । अनेक प्रकारले ललाईफकाई गर्दा पनि सन्तेको सोचाई फेरिएन । महलमा आफैंले बोलाएर फकाएपछि कसो नहोला र ! भन्ने बडा साहेबको मध्ययूगीन विचारले फेल खायो ।

“तँलाई गाउँतिर अलिकति बढ्तै जग्गा दिलाउँला नि मोरा !” उसले चिप्ला कुराले पनि जाल हानेको थियो । बडा साहेबको चिप्ला कुरालाई बुझेर सन्तेले पनि “महल बनाउँनुअघि हजुरले पनि मेरो झुप्रो हे¥या भए यस्तो टण्टै हुने थिएन बडा साहेब !” भनेर नम्र प्रकारले व्यंग्य ठोकेको थियो । त्यस व्यंग्यबाँडले बडा साहेब भुतुक्कै भएको थियो । 

“त्यो ढिंडो चाट्ने मुखले मेरो अपमान ? यो हुनै सक्दैन ।” उसको मनले निर्णय ठोक्यो । अनि उत्तिबेलै सन्तेलाई घोक्रेठ्याक लगाएको थियो बडा साहेबले । यसै बिषयले गर्दा ऊ र सन्तेबीच शीत–संघर्ष चल्दै आएको थियो । आफ्नो योजनाबाट हात धुनु परेकोले बडा साहेबको क्रुद्ध सोचाइले सँधैजसो सन्तेलाई सताउँथ्यो ।

सबेरै, घामको उजेली धर्तीमा नपर्दै त्यो महलको मूलढोका खुल्थ्यो अनि बडा साहेबको टमी बुर्कुसी मार्दै सन्तेको आँगनमा पुग्थ्यो । आन्द्राका पिनाहरु तेस्र्याएर फर्कन्थ्यो । केहीबेरमा सन्ते आइपुग्थ्यो अनि “थुइक्क साँडे !” भन्दै कोदालोले सोह्रेर मिल्क्याउँथ्यो । सँधैजसो दोहरिन्थ्यो यो प्रहशन ।

असफलताको मानसिकताले बडा साहेबको गिदी कट्कट् खाँदै थियो । सन्ते र प्याउलीले कुकुरको छाउरा खेलाउँदै आफ्नै घरतिर हेरेको दृश्य वरण्डाबाट छर्लङ्गै देखिन्थ्यो । त्यो दृश्यले बडा साहेबलाई झन छट्पटी भयो । “बाजेहरुको युग एक मिनेट मात्र फर्किने भए पनि जान्याथें मैले......।” मुठ्ठीलाई दह्रो पारेर कस्यो अनि यथार्थको अनुभूति भएपछि फेरि मुठ्ठी खोल्यो । त्यसैबेला बजारतिर गएकी बडा साहेबकी श्रीमती टमीलाई बोकेर स्याँ स्याँ र फ्याँ फ्याँ गर्दै आइपुगी ।

 “ए हजुर ! भुस्याहा छाउरो पो ल्याएर पालेछन् तिनेरले त छ्या ः ।” लोग्नेलाई हत्त न पत्त सुनाई उसले । “पाल्न देऊ न त, आखिर गल्लीको गुहुको दाम पर्दैन क्यारे ! त्यही खाएर बाँचिहाल्छ नि ।” बडा साहेबले पनि थुम्थुम्याउँन खोज्यो श्रीमतीलाई ।

उसको कुरालाई कत्ति पनि वास्ता नगरी एक तमासले बोली उसले “अँ ! खाइहाल्यो नि गुहु ! बरु हजुरको नाम पो.....।” थुतुनो बिगार्दै एकै सासमा कुरा बढाई–“ सुनिस्योस् त ! त्यो कुकुरको नाम पनि हजुरकै राखेछन् ।

यो अरु केही हैन, हजुरलाई सोझो देखेर जिस्क्याएका हुन् के तिनेरले ।”अब भने बडा साहेबको नाकको पोरा बेलुन फुले झैं फुक्क फुले । श्रीमतीचाहिँ एकोहोरो टेपरेकर्डर बजेझैं फत्फताउँदै थिई । क्रोधले गर्दा बडा साहेबका दुबै कान ताता भए । श्रीमतीले के बोल्दैछे भन्ने कुरा पनि सुनेन उसले । घाँटी तनक्क तन्काएर नोकरलाई बोलायो – “ए रुद्रे ! त्यो लिँडेलाई कुकुरको नाम फेर्न लगा ।”

मालिकको आदेश सुनेर हतारिँदै आएको रुद्रले टाउको कन्याउँदै अनकनायो – “मैले अघि नै भन्याथेँ !  तर उल्टै हप्काई सन्तेकी जोईले ।”
बडा साहेबका आँखा लाल लाल भए, पाकेका गोलभेंडा जस्तै । “म त शाही खानदानको नातेदार पो ! त्यस लिँडेको त्यत्रो फूर्ति ?” घमण्डले उसको शिरमा ताज चढ्यो । उत्तिबेलै उसले हातमा पुर्खेली छडी लियो अनि हिँड्यो सन्तेको तुजुक झार्न ।

 सन्ते आँगनमा दाउरा चिर्दै थियो । बडा साहेबलाई देखेपछि बन्चरो भूईँमा राखेर पसिना पुस्दै नमस्कार टक्र्यायो ।“हुँ !” बडा साहेबले कंश महाराजको हुँकार छोड्यो । आफूलाई साँच्चिकैको महाराज हुँ जस्तो लाग्यो उसलाई । दुबै हातले छडीलाई भूईँमा टेकाउँदै हप्कायो – “तैँले के खोज्या ?” सन्तेले पक्क पर्दै हेरिरह्यो ।
“मेरो नाम तेरो लुते कुकुरसँग सुहाउँने देखिस् ?” ओठ थरर्र कमायो बडा साहेबले ।“नाम कसैको विर्ता हैन क्यारे !” नजानिँदो गरी घोसे मुण्टो पारेर सन्तेले मुख खोल्यो । पहिलेपहिले नम्र भएर बोल्ने सन्तेको व्यंग्यलाई बडा साहेबले पचाउँन सकेन ।

“म को हुँ भन्ने तँलाई था’छैन ?” छडीले सन्तेको छातीमा क्वाच्च घोचेर पछाडि ठेल्यो उसले । यतिन्जेलसम्म सन्तेको रिसले पनि सीमा नाघिसकेको थियो ।“पैले जे भए पनि ऐले त सबै बराबरी नै हैन र !” अहंकारले फुलेको बडा साहेब सन्तेको जवाफ सुनेर लुत्रुक्क प¥यो । आफ्नो बचेखुचेको दम्भ पनि पानीमा डुब्ला कि भन्ने त्रासले गर्दा ऊ त्यहाँबाट “तँ  गोब्रेका दिन आए जस्तो छ ।” भन्दै हिँड्यो । ऊ हिँडेपछि प्याउली पनि फुत्त बाहिर निस्केर जिब्रो फड्कार्न थाली “न बिराउँनु, न डराउँनु । त्यसले दिया खा’ भए पो !”

अपमानको घुट्को घुटुक्क पा¥यो बडा साहेबले । दायाँबायाँ कतै नहेरी ऊ घरतिर लाग्यो सरासरी । “यो सब बहुदलको करामत हो ।” छडीलाई भाँचकुँच पारुँला झैं गरी निमोठ्यो अनि कसैले हेर्दै पो छ कि ! यताउति आँखा घुमायो उसले । घरको मूलढोकामा छिर्दाछिर्दै उसले चिच्यायो “ए रुद्रे ! यता मुण्टी । त्यस लिँडेलाई आजै सिध्याउँनुपर्छ ।”

अपमानको पीडाले उसलाई नराम्रोसँग घाइते पारेको कुरा उसको बोलीले प्रष्ट्याउँथ्यो । होस हराएको  बडा साहेबलाई सम्झाउँन खोज्दै हस्याङ्गफस्याङ्ग गरेर ओर्लेको रुद्रले भन्यो “बडा साहेप ! जमाना पहिले जस्तो छ र ?”

बडा साहेब झसङ्ग भयो । आफ्नो हैसियत त साँच्चै नै खस्केछ भन्ने लाग्यो उसलाई । अहंकारको पारो अब अलिकति तल झ¥यो उसको । छिटोछिटो घर मास्तिर उक्लेर श्रीमती र नोकरसँग उसले खुसरफुसर ग¥यो ।पर्सिपल्ट रात । बडा साहेब ओछ्यानमा पलेँटी कसेर बेलाइती झोल पिउँदै थियो । श्रीमतीचाहिँ उसको घुँडामा कुइनो राखेर ढल्कँदै कुरा गर्दै थिई । “सुनिस्योस् त ! मान्छेहरु सबेरै उठेर सूर्य देवता पुज्छन् , हामीले चैं पूर्वतिर हे¥यो कि त्यहि कामी र कमिनी दर्शन गर्नुपर्छ ।

हजुरले चुनाव हा¥या त्यसै हो र ! साइत बिग्रेरै भा’हो त्यस्तो ।” पुल्पुलिएको स्वरमा गुनासो गरी उसले श्रीमान्सँग । बडा साहेब पनि झोलले भिजेको ओठ चलाउँदै गम्भीर भयो अनि श्रीमतीलाई सम्झाए जस्तो ग¥यो – “पर्ख न पर्ख ! हतार गरेर हुने भए म चुपचाप बस्थेँ हुँला त !”

त्यसैबेला बाहिरपट्टि सन्ते कराएको आवाज आयो – “शेरु ! चेइ–चेइ ।” सन्तेको त्यो आवाज टोलभरि फिँजिदै बडा साहेबको कानमा बजारियो । अब उसका कानका पार्टपुर्जाहरु हल्लिन शुरु गरे । पटकपटक दोहोरिँदै गरेको सन्तेको आवाजले बडा साहेबलाई खपिनसक्नुको रिस उठ्यो । “साहेब खानदानकै उपहास हो यो ।” उसले ठोकुवा ग¥यो मनमनै ।

सन्तेले आँगनमा निस्केर जोडजोडले कराएको सुनेर मसिनो आवाज भएको कुकुर कतैबाट खुब भुक्न थाल्यो । बडा साहेबको आत्मसन्तुष्टीमाथि त्यो आवाजले धावा बोलेछ क्यार ! रन्थनिँदै करायो “बज्जे छाउरो मरेनछ कि क्या हो ? कस्तो घिनलाग्दो भुक्यो ।” बडा साहेबकी  श्रीमती मुसुक्क हाँसी अनि लोग्नेको छातीमा ढुकुमुकु गरेर लाडे पल्टँदै भनी “छया : हजुर पनि !”

त्यो हाम्रो टमी पो त ! सुनिस्यो त कत्ति मीठो भुक्छ ।” बडा साहेबले श्रीमतीलाई हेरेर अलि हँसिलो अनुहार पार्न खोज्यो । श्रीमतीले पनि कर्के आँखाले हेर्दै मुस्कुराई । सन्ते आफ्नो कुकुरलाई बोलाईरहेको थियो – “शेरु चेइ– चेइ !” बडा साहेबले चाहिँ नसुने झैँ गर्न छेऊमा राखेको टेपरेकर्डरलाई अलि जोडले बजायो ।


 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

डा. डीआरको उपन्यास र तीन गीति एल्बम सार्वजनिक

  • ६ जेठ, २०७६

काठमाडौं । गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम सार्वजनिक भएको छ । काठमाडौमा आयोजना गरिएको यस कार्यक्रममा ‘अधुरो

कविता : हेडमास्टरको चाबुक

  • ४ जेठ, २०७६

निर्दयको पराकाष्ठा छ यो हेडमास्टर श्रीपेचझैँ लगाउँछचुच्चे टोपी कोट लगाउँछ पौराणिक खालको छाती कस्छ दौराको तुनाले हरदम हुन्छ हातमा बेतको छडी घरि

कविता : उत्साहको गीत

  • ४ जेठ, २०७६

आगो दन्किएको समयको सङ्घारबाट खोज्नु छ देशको नक्शा र भत्किएको सिमारेखा जोडेर बनाउँनु छ – मेरो देश नेपालको मानचित्र अत्याचारको निलडाम खपेर अचेल