• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

जनकपुर अञ्चल अस्पताल : निशुल्क भोजन पाएपछि बिरामी हर्षित

जनकपुरधाम । समरिना खातुनको २५ वर्षिय छोरा सडक दुर्घटनामा घाइते भएपछि उपचारका लागि जनकपुर अञ्चल अस्पताल पुगिन् । सस्तोमै उपचार हुने सोचका साथ पुगेकी समरीनाका लागि जनकपुर अञ्चल अस्पतालको उपचार र सुविधा पहिले भन्दा अत्यन्तै राम्रो लाग्यो । जनकपुर अञ्चल अस्पतालमा उपचारका लागि पुग्ने बिरामीहरुलाई आफ्नै खर्च तिरेर खानाको व्यवस्था गर्नुपथ्र्यो । बिरामीहरुको खानाका लागि बजेट आउने गरेपनि त्यसको सदुपयोग हुन नसकेका कारण प्रत्येक वर्ष त्यो बजेट फ्रिज हुँदै आई रहेको थियो ।    

अचेल जनकपुर अञ्चल अस्पतालमा निःशुल्क भोजन प्रभावकारी बन्दै गईरहेको छ । केही महिनादेखि शुरु गरिएको भोजन कार्यक्रमबाट गरिबहरु लाभान्वित भईरहेका छन् । धनुषाको क्षिरेश्वर नगरपालिका हारसरका राजकुमार साहले पहिला अस्पतालमै भोजनको व्यवस्था नहुँदा खानाका लागि बाहिरै जानु पथ्र्यो बताए । उनले भने –‘बाहिर भोजन गर्दा पैसा पनि लाग्ने र गुणस्तरिय पनि नहुँदा निक्कै समस्या हुने गथ्र्यो ।’ 

तर, अहिले जनकपुर अञ्चल अस्पतालमा निःशुल्क भोजन उपलब्ध हुँदा हामीलाई राहत भएको उपचारका लागि पुगेका दुःखी खत्वेले बताए । उनले बाहिर भन्दा पोषिलो खाना यहीँ पाउने गरेको बताए । 

बिहान ११ बज्ने वित्तिकै इ रिक्सामा होटेल व्यवसायी सञ्जय साह बिरामीहरुका लागि खाना लिएर अस्पतालमा पुग्छन् र रोगीहरुलाई भोजन बाँड्ने गर्छन् । फेरी राति ८ बजे खाना लिएर आउने गरेको व्यवसायी सञ्जयले बताए । 

जनकपुर अञ्चल अस्पतालले खानाका लागि ५० रुपैया प्रति प्लेट उपलब्ध गराउने गरेको सञ्जयले बताए । खानाका लागि ५० रुपैया प्रति प्लेट कम भएपनि समाजसेवा र व्यवसाय दूब भएकाले आफूलाई कुनै गुनासा नरहेको होटेल उनले बताए ।

बिरामीको खानाका लागि स्वास्थ्य मन्त्रालयले वार्षिक १३ लाख रुपैया बजेट निकासा गरेको छ । १३ लाखले रोगीहरुको भोजन सहज ढंगले व्यवस्थान भईरहेको अस्पतालका बरिष्ठ चिकित्सक डा. रामनरेश पण्डितले बताए । 
२० वर्ष अगाडी बिरामीहरुलाई निःशुल्क रुपमा बाँडिदै आएको भोजनको व्यवस्था फेरी भएपछि बिरामी र बिरामीका कुरुवाहरु हर्षित छन् । 

२० वर्ष अगाडी जनकपुर अञ्चल अस्पतालमा रोगीहरुलाइ निःशुल्क भोजन दिइने गरिन्थ्यो तर अस्पतालमा भोजन बनाउन कुनै मेस संचालकले तयार नभएपछि बाध्य भएर यो सुविधा बन्द गर्नु परेको थियो । 

निःशुल्क भोजनका लागि आउने ३ लाख रुपया प्रत्येक वर्ष फ्रिज हुँदै आएको थियो । बिरामीहरुको भोजनका लागि आउने बजेट फ्रिज हुँदै आएको जानकारी पाएपछि असहाय संरक्षण मञ्च जनकपुरधामका अध्यक्ष वैद्यनाथ साहको दवाबमा फेरी शुरु गरिएको छ । 

निःशुल्क भोजनको सुविधा शुरु गराउनका लागि साहले केही दिन आफ्नै खर्चले बिरामीहरुलाई भोजन निःशुल्क रुपमा खुवाएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर