• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

जाजरकोट अस्पतालमा उपकरणको अभाव

जाजरकोट । जाजरकोट अस्पतालमा डिजिटल एक्सरे नहुँदा दैनिक उपचारमा समस्या भएको छ । 

बिरामीलाई तत्काल सेवा प्रवाह गर्नका लागि र रोग पत्ता लगाउन डिजिटल एक्सरेको आवश्यकता पर्ने भए पनि जाजरकोट अस्पतालमा सो नहुँदा दैनिक समस्या भएको जाजरकोट अस्पतालका प्रमुख राजेन्द्र लामाले बताए । 

पचास श्ययाको अस्पतालको स्तरोन्नतिसँगै बिरामीको चाप बढे पनि सोअनुसारको सामग्री नहुँदा उपचारमा समस्या आउने गरेको छ । अस्पतालमा चिकित्सक भए पनि उपकरणको अभावमा भने जति सेवा प्रवाह गर्न नसकिएको उनको भनाइ छ ।

उपचारमा आएकामध्ये ७० प्रतिशत बिरामीको एक्सरे गर्नुपर्ने अवस्था भए पनि पुराना र छिटो, छरितो सेवा प्रवाह गर्न सक्ने खालका उपकरण नहुँदा समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतको भनाई छ । 

विसं २०२७ मा निर्माण भएका पुराना भवनमा सेवा दिँदा समस्या भएको अध्यक्ष बस्नेतको भनाइ छ । डिजिटल एक्सरे भएमा बिरामीलाई तत्काल समस्या पत्ता लगाउन सकिन्छ र अन्य एक्सरेभन्दा स्पष्ट देखिने गर्छ अस्पतालका प्रमुख लामाले बताए । 

भिडियो एक्सरे भए पनि पुरानो भएकाले काम गर्दा समस्या आउने गरेका अस्पताल प्रशासनले बताएको छ । जाजरकोट अस्पतालको फार्मेसी सेवा प्रभावकारी नहुँदा दुःख पाएको बिरामीले बताएका छन् । औषधि बिक्री भएको रकमसमेत नियमित जम्मा नहुँदा र जसलाई चाहिन्छ, उसैले लिने गरेको पाइएको छ । 

तीन वर्ष अघि टिकट काटेको रकम अहिलेसम्म अस्पतालको खातामा जम्मा हुन सकेको छैन ।  अस्पतालबाट उठेको रकम बैंकिङ प्रणालीमार्फत् जम्मा भई काम हुनुपर्नेमा जसले टिकट काट्छ, उसले नै व्यक्तिगत रुपमा चलाउँदा दुरुपयोग भएको हो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर