• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

रोकिएन नदीजन्य पदार्थको उत्खनन

बाँके । राप्ती नदीमा अवैधरुपमा हुने नदीजन्य पदार्थको उत्खनन कार्य नरोकिँदा स्थानीय चिन्तित भएका छन् । 

बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित नवलपुर, बैसा, गोबारपुर र गर्लाबाज गाउँक्षेत्र नजिकै राप्ती नदीबाट अवैधरूपमा ढुङ्गा र बालुवा उत्खनन भइरहेको छ । यो क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन गर्दा मानवबस्ती, खेतीयोग्य जमीनमा हानी–नोक्सानी पुग्ने भन्दै गाउँपालिकाले रोक लगाए पनि उत्खननकार्य नरोकिएको स्थानीय अगुवा विश्वसागर परियारले बताए । 

उनका अनुसार राप्ती नदीसँगै स्थानीय भुवरभवानी सामुदायिक वनक्षेत्रबाट समेत अवैधरूपमा ढुङ्गा उत्खनन कार्य भइरहेको छ । पूर्व सभासद एवं स्थानीय अगुवा पट्टु थारूले भविष्यमा गाउँबस्ती नै जोखिममा पर्ने गरी नदीबाट अवैधरूपमा ढुङ्गा, बालुवा उत्खनन हुनु चिन्ताको विषय भएको बताए ।

सामुदायिक वनक्षेत्रबाट समेत ढुङ्गा उत्खनन हुन थाले पनि उपभोक्ता रुष्ट बनेका छन । भुवरभवानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टेकबहादुर थारूले पटकपटक मौखिकरुपमा गाउँपालिका र सेक्टर वन कार्यालयलाई जानकारी गराए पनि उत्खनन नरोकिएकाले अब लिखितरूपमै अनुरोध गर्ने बताए । 

यो क्षेत्रको राप्ती नदीबाट दैनिक सयाँै घनमिटर ढुङ्गा उत्खनन हुँदा बस्ती असुरक्षित हुनुका साथै स्थानीय सरकारलाई राजश्वमा समेत घाटा भएको स्थानीय सञ्चारकर्मी हेमन्त चौधरीले जानकारी दिए । 
उनकाअनुसार गाउँकै स्थानीय केही व्यक्तिले अवैधरूपमा कार्य गरिरहेकाले प्रतिवाद हुननसकेको हो । 

राप्तीसोनारी गाउँपालिकाले राप्ती नदीमा पर्ने शम्शेरगञ्ज, आलीनगर, ढलैया, मुगुवाखोला, परुवाखोला र झिझरी खोलामा मात्र नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, ग्राभेल र बालुवा सङ्कलनका लागि ठेक्का दिएको छ । गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले ठेक्का दिएको बाहेक अन्यत्र नदीजन्य पदार्थको संरक्षण र संवद्र्धन गर्दै आएको बताउछन् । 

डिभिजन वन कार्यालय बाँकेका प्रमुख मोहनराज श्रेष्ठले अवैधरूपमा हुने नदीजन्य पदार्थको उत्खनन रोक्न स्थानीय सरकारसँग समन्वय गरिएको उल्लेख गर्दै अवैध दोहन भएको खण्डमा तत्काल अनुसन्धान गरी कारवाहीको दायरामा ल्याउने बताए ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर