• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

गण्डकी प्रदेशले सेनेटरी प्याड वितरण गर्ने

पर्वत । एसइइ परीक्षामा सम्मिलित छात्रालाई पर्वतमा सेनेटरी प्याड वितरण गरिने भएको छ । 

सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले पर्वतमा सेनेटरी प्याड वितरण गर्ने भएको हो । 

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका महिला अधिकृत गुमा वाग्लेका अनुसार प्राकृतिक नियमानुसार छात्रामा हुने महीनावारीलाई सहजरुपले व्यवस्थापन गरी परीक्षामा सहभागी गराउन यस्तो कार्यक्रम अघि सारिएको हो । 

चैत १० गतेदेखि सुरु हुने एसइइ परीक्षामा पर्वतमा दुई हजार ८७४ विद्यार्थी सहभागी हुँदैछन । पर्वतमा तोकिएका १९ परीक्षा केन्द्रमा एक हजार ४३७ छात्र र एक हजार ४३७ छात्रा रहेका छन् । सामाजिक विकास मन्त्रालयले छात्रा सङ्ख्याको अनुपातका आधारमा सेनेटरी प्याड खरीदका लागि जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ पर्वतलाई १३ हजार रकम बराबरको चेक प्रदान गरेको छ । 

चेक रकम ग्रहण गर्दै जिल्ला शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि पौडेलले छात्रा परीक्षार्थीका लागि सामाजिक विकास मन्त्रालयले प्रशंसनीय सहयोग गरेको बताए । 
सामाजिक विकास मन्त्रालयले गण्डकी प्रदेशअन्तर्गतका मनाङ र मुस्ताङबाहेकका नौ जिल्लामा सेनेटरी प्याड खरीदका लागि झण्डै पाँच लाख रकम प्रदान गरेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर