• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

पूर्वलडाकु मनमायाको ‘प्रचण्ड’ भेट्ने सपना पूरा भएपछि...

विराटनगर । उमेरले चारबीस कटिसकेको छ । शरिरले राम्रो काम गर्दैन, हिडडुल गर्न साहारा चाहिन्छ । आफ्नै शरिर सम्हाल्न गाह्रो पर्ने उमेर भएपनि उहाँलाई आफ्नो भन्दा देश र जनताको बढि चिन्ता लाग्छ । 

त्यहि चिन्ताले मंगलबार ८१ वर्षीया वृद्धा मनमाया बस्नेत विराटनगरको एउटा होटलमा देखापरिन् । विराटनगरबाट झण्डै ४० किलोमिटर टाढा बेलबारी ११ को लक्ष्मीमार्गबाट कसैको साहारा बिनानै उनीँ विराटनगर आइन् ।

सोमबार राती नेकपाका अध्यक्ष प्रचण्ड विराटनगर आउने खबर उनको कानमा पर्यो । रेडियो र टेलिभिजनको समाचार रिठ्ठो नबिराई सुन्ने उनी प्रचण्ड आउने खबरले राती राम्ररी निदाइनन् । बिहान विराटनगरसम्म लगिदिन उनले धेरैजनासँग अनुरोध गरिन् तर सहयोग भएन । कसैले नलगिदिने भए भन्ने भएपछि बस चढेर उनी विराटनगर आइन् र चिनजानकासँग सम्पर्क गरिन् । 

तात्कालिन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा आवद्ध भएकी मनमाया अहिलेपनि पार्टी गतिविधिमा उतिकै सक्रिय छिन् । हरेक बैठक र पार्टीका भेलाहरुमा नियमित सहभागि हुने र छलफल गर्ने तथा पार्टीको काममा लागिपर्ने उनको स्वभावबाट स्थानीय जानकार मात्र छैनन् प्रभावित पनि छन् । 

देशमा आएको परिवर्तन प्रचण्डहरुले गरेको आन्दोलनको परिणाम भएको मनमायाको बुझाई छ । त्यो आन्दोलनमा आफुपनि सहभागि भएको तर आन्दोलनका नायक अध्यक्ष प्रचण्डसँग प्रत्यक्ष भेटगर्ने मनमायाको तिब्र चाहाना यतिका वर्षसम्म पुरा हुनसकेको थिएन । धेरै कार्यक्रमहरुमा मनमायाले प्रचण्डको भाषण सुन्नुभएको छ तर प्रत्यक्ष भेटेर बोल्ने रहर पुरा भएको थिएन । 

‘मलाई अध्यक्ष प्रचण्डसँग नभेटी मर्छुकी भन्ने पिर लागेको थियो तर आज मेरो सपना पुरा भएको छ’ मनमायाले भनिन्– ‘मैले अध्यक्षसँग भेटेर गफ गर्ने अवसर पाएको छु, सबै चाहाना पुरा भए अब मरें भने पनि केही छैन ।’

अध्यक्ष प्रचण्डसँगको भेटमा उनले आफुलाई ज्यानको भन्दाबढी पार्टीको माया लाग्ने गरेकोले पार्टीलाई बलियो र सशक्त बनाउन सुझाव दिइन् । उनले भनिन्– ‘मलाई कहिल्यै पनि मेरो ज्यानको माया लागेन पार्टीकै बढी माया लाग्छ, यो पार्टीलाई सफल बनाउनु पर्छ ।’ उनले प्रचण्डले आफु गरिबको छोरा भएको र हलो जोतेर दुःख गरेर आएको भनाईबाट हामी गरिबहरु पनि प्रभावित भएर उनको अभियानमा लागेको बताइन् । जवाफमा अध्यक्ष प्रचण्डले जनताको अपार माया र सहयोगले परिवर्तन सम्भव भएको भन्दै मनमायालाई धन्यवाद दिएका थिए । 

गएको स्थानीय तहको चुनावमा मनमाया अरु युवा कार्यकर्ता झैं गाउँमा धेरै खटेका थिए । निर्वाचन परिचालनमा पुगेकी बिनिता घिमिरे सामनाले उनको सक्रियता देखेर चासो दिदाँ मात्र उनको विगत थाहा पाइएको रहेछ । ‘जनयुद्धको बेला गाउ ँभरीबाट मकै संकलन गरेर सातु पिँधेर माओवादी कार्यकर्ताहरुलाई पठाउने गर्नुहुँदो रहेछ उहाँ,’ घिमिरेले भनिन् ‘प्रचण्डसँग एक पटक भेटेर मर्ने रहर छ भन्नुभएको थियो आज मैले नै उहाँलाई भेट गराउने चाँजो मिलाइदिएको हुँ ।’ प्रचण्डसँग भेटेपछि मनमाया अत्यन्त हर्षित भएको घिमिरेले बताइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर