निर्वाचन प्रणालीले भ्रष्ट आचरणलाई बढुवा दियो : पूर्व सांसद मञ्च

विराटनगर । पूर्व सांसद मञ्च, नेपालले विद्यमान निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

मञ्चले विद्यमान निर्वाचन प्रणाली, संविधान कार्यान्वयनको अवस्था र वर्तमान सरकारको समृद्ध नेपाल र सुखी नेपालीको नाराको विषयमा आरम्भ गरेको सुझाव संकलनका क्रममा निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।

अहिले अपनाइएको निर्वाचन प्रणाली अत्यन्त महंगो हुँदै गएको र वास्तविक जनप्रतिनिधि निर्वाचत हुनै नसक्ने त्यसको ठाउँमा कालो धन आर्जन गरेका व्यक्तिहरु र व्यापारीहरुले चुनाव जित्ने अवस्था आएकोले निर्वाचन प्रणालीमा सुधार जरुरी भएको पूर्व सांसदहरुको भनाई छ । 

पूर्व सांसद मञ्च नेपालका तर्फबाट बिहीबार विराटनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मञ्चका उपाध्यक्ष घनेन्द्र बस्नेतले निर्वाचन प्रणालीले भ्रष्ट आचरणलाई बढाएको तथा चुनावमा चन्दा दिएर सहयोग गर्नेको मुद्दा बोकेर जनप्रतिनिधिहरुले आफनो कार्यकाल बिताउनु पर्ने अवस्था यहि निर्वाचन प्रणालीको उपज भएको तर्फ धेरैले प्रश्न उठाएको बताए । 

‘चुनावमा करोडौं खर्च गर्ने जितेपछि साँवा उठाउँन भ्रष्टाचार गर्नुपर्ने अनि हार्नेले चाँही बर्बादी व्यहोर्नु पर्ने अवस्था छ,’ बस्नेतले भने, ‘मैले २०४८ सालमा चुनाव लड्दा ३ हजार खर्च गरेको थिएँ, २०५६ मा ६ लाख खर्च गरें, अहिले दुई चार करोड खर्च गर्न थालेका छन् यो भयावह अवस्था हो ।’

पूर्व सांसद मञ्च, नेपालले चैत्र २ गते प्रदेश १ अन्तरगत रहेका पूर्व सांसदहरुको भेला आयोजना गरेर यस विषयमा व्यापक छलफल गर्दैछ । त्यसको सबै तयारी पुरा भएको महासचिव शंकरनाथ शर्मा अधिकारीले जानकारी दिए ।

भेलामा संविधान कार्यान्वयनको अवस्थाका र यसमा भएका प्रगतिहरुको समिक्षा गरिने छ भने सरकारले अधि सारेको समृद्ध नेपाल र सुखि नेपालीको नारा कार्यान्वयनकालागि गर्नुपर्ने कामहरुको विषयमा सुझाव लिइने छ । 

संगसंगै सरकारले अवलम्वन गरेको निर्वाचन प्रणालीको विषयमा पनि सुझाव संकलन गरिने छ र देशका सातै प्रदेशबाट प्राप्त भएका सुझावहरुको अध्ययन र विश्लेषण पछि सरकारलाई प्रतिवेदन दिइने महासचिव अधिकारीले जानकारी दिए । पछिल्लो समय सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाउने निर्णय हतारमा आएको महशुस भएको मञ्चले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर