• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

माधव नेपाल र झलनाथ खनालको नाडी छाम्दै प्रचण्ड !

काठमाडौं । केहीदिन अघि सरकारले सिके राउतसंग ११ बुँदे राजनीतिक सहमति गर्यो । राजनीतिक सहमति घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई सिके राउतसंग तुलना गरे ।

प्रचण्डले हतियारको राजनीतिबाट चुनावमा सहभागी भएर संविधान बनाउने कामको एक ढंगले अगुवाइ गरी त्यसपछि एमाले र माओवादीबीच एकता गर्नु ठूलो निर्णय क्षमता भएको ओलीले बताए । ‘जो सुकैले, सानो हिम्मतकोले सक्दैन । सीके राउतजीमा पनि असाधारण निर्णय क्षमता देखेँ’ उनले भने ।

उनको उक्त अभिव्यक्तिपछि विभिन्न मिडिया र सामाजिक सञ्जालमा प्रचण्डलाई सीके राउतसंग गरिएको तुलनाको विरोध पनि भयो । नेकपाका स्थायी समिति सदस्य भीम रावलले असन्तुष्टि नै जनाए । 

त्यसको खण्डन प्रचण्डले पोखरामा पुगेर संचारकर्मीसंग गर्न भ्याए । संचारकर्मीले सोधेको प्रश्नको उत्तर दिँदै प्रचण्डले भने–‘प्रधानमन्त्री जी ले मलाई सीकेजीसंग जोडेर बोल्नेबेला म पनि त्यहीँ थिएँ । मलाई लाग्छ उहाँले त्यो सोचेर, यही भन्छु भनेर भन्नु भएको होइन् । तर त्यसो नभन्दिएको भए हुन्थ्यो ।’

पार्टी एकतापछि नै विभिन्न विषयमा विवाद भइरहेको सत्तारुढ नेकपाभित्र पछिल्लो समय फरक प्रसगंले चर्चा पाएको छ । चर्चा मात्र होइ विवाद पनि सुरु भएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीलाई सरकारले प्रतिबन्ध लगाएसंगै यसको पक्ष र विपक्षमा नेकपा विभाजित भएको छ । पार्टीभित्रै सरप्राइज हुनेगरी सरकारले गरेको उक्त निर्णयपश्चात बुधबार दिनभर सामाजिक सञ्जालमा यसको पक्ष र विपक्षमा अभिमत राख्नेहरुको ओइरो समेत लागेको थियो ।

यी प्रतिनिधिमुलक घटना हुन् । प्रधानमन्त्रीले विभिन्न सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिमा प्रचण्डको तारिफ गर्न थालेका छन् । प्रचण्डलाई असाधारण क्षमता भएको नेताको रुपमा लिनसकिने भन्दै उनले सभागृहबाट नै उद्घोष गरेका थिए ।

प्रधानमन्त्री ओलीले पछिल्लो समय गर्दै आएका निर्णय र कार्यशैलीप्रति प्रचण्ड सन्तुष्ट छैनन् । प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति नेकपाका नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायत नेताहरुको असन्तुष्टि छरपस्ट भएको छ । 

‘छलफलमा प्रचण्ड’
स्रोतका अनुसार अध्यक्ष प्रचण्डले माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरुसंग केही समयअघिदेखि नै छलफल गरिरहेका छन् । विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउने सरकारले निर्णय गरेपछि प्रचण्ड पनि असन्तुष्ट भएको स्रोतको दाबी छ । प्रचण्डले ओलीको कार्यशैलीप्रति असन्तुष्टि पोख्दै बुधबार बिहान पनि नेपाल र खनाल लगायतसंग वार्ता गरेका थिए । 

स्रोतका अनुसार यतिबेला प्रचण्डले झलनाथ र नेपाल लगायत नेताहरुको नाडी छामिरहेका छन् । प्रचण्डले पार्टी एकताको कामलाई पनि तीव्ररुपमा अघि बढाउन चाहेको तर ओलीले त्यसमा लिङ्गरिङ गरिरहेको प्रचण्ड निकट स्रोतको दाबी छ । सरकारका मन्त्रीहरुको नियुक्ति, सरकारको कामकारबाही जस्ता विषयमा ओलीले एकल निर्णय गर्न खोजेको कारण प्रचण्ड ओलीसंग सन्तुष्ट हुन नसकेको स्रोत बताउँछ ।

‘अहिले नै सम्बन्ध बिच्छेद हुँदैन’
समाचार दैनिकलाई प्राप्त जानकारी अनुसार प्रचण्ड अहिले नै ओलीसंग सम्बन्ध बिच्छेद गर्ने पक्षमा छैनन् । प्रचण्डलाई अहिले पार्टी भित्र छलफल चलाइरहेका नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतसंग पनि पूर्ण भर भइसहेको छैन् । यतिबेला प्रचण्ड आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्नका लागि केही नेताहरुको बारेमा सुक्ष्म अध्ययन गरिरहेका छन् । 

पूर्व एमालेका नेताहरु योगेश भट्टराई, घनश्याम भुसाल, गोकर्ण विष्ट जस्ता दोस्रो तहका नेताहरुसंग पनि अध्यक्ष दाहालले छलफलको क्रम अघि बढाएको स्रोतको दाबी छ । प्रचण्डले अनौपचारीक छलफल गरिरहेपनि अहिले तत्कालै निर्णय गर्ने अवस्थामा भने प्रचण्ड पुगेका छैनन् । 

प्रचण्डले सरकारको काम कारबाहीको बारेमा पनि बाहीर आलोचना गरेका छैनन् । केही दिन अघि प्रचण्डले सार्वजनिक कार्यक्रममा नै सरकारले गरेको गुण या दोषको जिम्मेवारी पनि सरकार आफैं हुनपर्ने अभिव्यक्ति दिएका छन् । 

केपी ओलीको पछिल्लो व्यवहारले एकता अघि गरिएको सम्झौता कार्यान्वयन गर्ने विषयमा पनि प्रचण्ड संशकित रहेको स्रोतको दाबी छ । पार्टीको दस्तावेजलाई अहिलेसम्म पनि प्रिन्ट गर्न समेत ओलीले नचाहेको बारेमा पनि प्रचण्ड असन्तुष्ट छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर