• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

निर्मला प्रकरण : प्रमाण नष्ट र निर्दोषलाई यातना दिएको आरोप लागेका ६ प्रहरीलाई धरौटीमा छाड्न आदेश

कञ्चनपुर । जिल्ला अदालत कञ्चनपुरले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रमाण नष्ट गरेको र निर्दोषलाई यातना दिएको आरोप लागेका ६ जना प्रहरीलाई धरौटीमा छाड्न आदेश दिएको छ । 

न्यायाधीश राजेन्द्र कुमार आचार्यको एकल इजलासले बिहीबार दुई प्रहरीलाई दुई मुद्दामा र अन्यलाई एक मुद्दामा धरौटी माग्न आदेश दिएको हो । अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीका अनुसार प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई प्रमाण नष्टमा ५ र यातनामा ४ लाख गरी ९ लाख धरौटी माग गरिएको छ ।  

यस्तै, प्रहरी निरीक्षक जगदीश भट्टलाई ४ लाख, सई हरिसिंह धामीलाई ३ लाख ५० हजार, सई रामसिंह धामीलाई ३ लाख र प्रहरी जवान चाँदनी साउदलाई २ लाख ५० हजार धरौटी माग गरिएको छ । श्रेष्तेदार अवस्थीकाअनुसार उनीहरुले धरौटी बुझाएमा रिहा हुनेछन् भने नबुझाएमा थुनामा रहनेछन् । 

मुलुकी ऐनको नयाँ व्यवस्थाअनुसार ६ जना प्रहरीलाई फागुन २३ गते जिल्ला अदालत उपस्थित गराइएको थियो । एसपी दिल्लीराज विष्ट र डिएसपी अगुंर जिसी भने अदालतमा उपस्थित भएका थिएनन् ।

निर्मलाकी आमा दूर्गादेवी र अनुसन्धानका क्रममा पक्राउ परेका दिलिपसिंहका दाजु खड्ग विष्टले दिएको जाहेरीका आधारमा कञ्चनपुरकी तत्कालीन एसपी डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध मुद्दा दायर भएको थियो । तर, विष्ट र डीएसपी अंगुर जिसी फरार छन भने ६ जना पक्राउ परेका थिए । तर, अदालतमा मुद्दा चलिरहेकै बेला दूर्गादेवीले निवेदन फिर्ताका लागि आवेदन दिएकी थिइन ।

गत साउन १० गते साथीको घरमा जान्छु भनेर हिँडेकी बालिका पन्त भोलिपल्ट ११ गते नजिकैको उखुबारीमा मृत भेटिएकी थिइन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर