जनताको जलविद्युतको पहिलो शेयर खुल्दै, पहिलो चरणमा ३७ लाखबढी कित्ता शेयर बिक्री गर्ने

काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको शेयरधनी’ भन्ने नाराका साथ यही चैत ७ गतेदेखि त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर बिक्री हुने भएको छ । 

सरकारले नेपाली नागरिकको लगानीमा नै तीन हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्यका साथ उक्त कार्यक्रम लागू गरेको हो । सोही कार्यक्रमको पहिलो आयोजनाको रुपमा त्रिशुली जलविद्युत कम्पनीको साधारण शेयर बिक्री गर्न लागिएको आज प्रकाशित विवरणमा उल्लेख छ । 

कम्पनीका अनुसार पहिलो चरणमा ३७ लाख ५ हजार कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ । ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत साधारण शेयर बिक्री गर्न लागिएको यो पहिलो जलविद्युत कम्पनी हो । आज प्रकाशित विवरणअनुसार सो कम्पनीको शेयर निष्काशन छिटोमा यही चैत ११ गते र ढिलोमा आगामी वैशाख ६ गतेसम्म हुनेछ । 

कम्पनीको जारी पूँजी दुई अर्ब ४७ करोडको १५ प्रतिशत अर्थात ३७ करोड पाँच लाख बराबरको १०० अङ्कित दरको ३७ लाख पाँच हजार कित्ता शेयर बिक्री गर्न लागिएको हो । अग्रिम रुपमा शेयर बिक्री गर्न लागिएकाले हाल प्रतिशेयर  १० का दरले न्यूनतम १०० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था गरिएको छ । 

कूल बिक्री हुने शेयरमध्ये एक लाख ११ हजार १५० कित्ता शेयर भने कम्पनीका कर्मचारीलाई संरक्षण गरिएको छ । शेयरमा आवेदन दिने आवेदकले पहिलो चरणमा प्रतिशेयर  १० का दरले हुन आउने तीन करोड ७० लाख ५० हजार मात्र अग्रिम भुक्तानीका लागि आग्रह गरिएको छ । 

उक्त शेयरवापत चुक्ता हुन बाँकी रहने ९० भने नियमानुसार पछि माग गरिने आह्वानपत्रमा उल्लेख छ । त्यो भनेको आयोजनाको निर्माण ७५ प्रतिशत सकिएपछि थप रकम माग गरिनेछ । नुवाकोटको साविक मनकामना गाविस र रसुवाको लहरेपौवा गाविसको सीमानामा आयोजना रहेको छ । 

आयोजनाको कूल क्षमता ३७ मेगावाट रहेको छ भने कूल लागत निर्माण अवधिको व्याज समेत गरी कूल रु आठ अर्ब २२ करोड ७४ लाख रहेको छ । शेयर बिक्री गरिएको मितिदेखि ७ दशमलव ९५ वर्षमा साधारण लगानी फिर्ता हुनेछ ।

सो कम्पनीको साधारण शेयरमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा ग्लाबेल आइएमई क्यापिटल रहेको छ । 

बोर्डले बिहिबार मात्रै जनताको जलविद्युत कार्यक्रमअन्तर्गतका आयोजनाको शेयर बिक्रीका लागि ‘रेटिङ’ गराउनु नपर्ने व्यवस्था गरेको छ । सरकारको तयारी अनुसार कूल स्वपूँजीको ४९ प्रतिशत लगानी नागरिकबाट जुटाउने तयारी गरिएको छ । सरकारले उक्त कार्यक्रमअन्तर्गतका आयोजनामा लगानी गर्ने शेयरधनीलाई व्याजवापतको रकम समेत उपलब्ध गराउने भएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आग्रहमा बोर्डले धितोपत्र निश्कासन गर्नेसम्बन्धी व्यवस्थालाई थप सहज र सरल समेत बनाएको छ । उच्च प्रतिफल दिने आयोजना छनोट गरेर नागरिकलाई लगानीका लागि आग्रह गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

सो आयोजनामा नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकमलगायतका संस्थाले समेत लगानी गरेका छन् । स्थानीय आयोजना प्रभावित र नुवाकोट तथा रसुवाका स्थानीय निकायले समेत लगानी गर्ने भएका छन् । 

यस्तै बैंक तथा वित्तीय संस्थाले समेत सो आयोजनामा ऋण लगानी गरेका छन् । कम्पनी र प्राधिकरणबीच २०७४ भदौ ६ गते विद्युत खरीद सम्झौता भएको थियो । आयोजनाले २०७८ फागुन १७ गतेदेखि व्यावसायिक रुपमा विद्युत उत्पादन गर्ने आयोजनाका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर