कविता : स्मृति–घात !
जति वेला
मनमा लोभले डेरा पाएको थिएन
त्याग, तपस्या, समर्पण
विद्रोह, विजय र वलिदान
यिनीहरू थिए मनको डेरामा !
जति वेला
तिम्रो टाउकाको निश्चित मोल थियो
हाम्रा टाउकाका पनि मोल थिए
तिमी हामी त्यति वेला मूल्यवान थियौं !
त्यति वेला
हामी गौंडा निस्कन नसक्दा
तिमी माथिबाट हात दिन्थ्यौ
तिमी गौंडा निस्कन नसक्दा
हामी सिङ्गै काँध दिन्थ्यौ !
भोकै प्यासै पनि
तिम्रो अनुहारमा छाएको
कान्ति पिएरै वाँच्थ्यौं हामी
पत्करको ओछ्यानमा पनि
हाम्रो सुरक्षाको विश्वासमा
मसक्क निदाउँथ्यौ तिमी !
ती दिनहरूमा
तिमी थियौ हामी थियौं
आहा ती दिनहरू पनि थिए !
दुखै दुखले भरिएर पनि
सुखद अनुभूतिका थिए ती दिन
आफैंलाई पुर्ने खाडल खन्न
कोदालो बोकेर हिड्दा पनि
चिन्ताको कुनै वादल हुन्नथ्यो
योध्दाहरूको अनुहारमा !
हो कमरेड
त्यो समय
कि तिमी थियो कि हामी थियौं
यी वर्णशङ्कर विचारका कमरेडहरू थिएनन !
जव,
तिम्रो दिमागबाट बसाइँ सर्यो आदर्श
जव
तिम्रो आत्माबाट आत्महत्या गर्यो सपनाले
जव
तिम्रो टाउकाको मूल्य
चार पैसामा पनि नबिक्ने भयो
त्यसपछि कथाले अर्कै बाटो समात्यो !
अहिले तिमी छौ
वर्णशङ्कर विचारका कमरेडहरूसँग
अहिले
तिमी अलग छौ हामी अलग छौं
वर्णशङ्कर विचारवालाहरू
घोकाउँन खोज्दै छन
समृध्दिको वर्णमाला हामीलाई !
तिमी तिनीहरूकै बीच छौं
मन्द मन्द मुस्कानमा
हामी भने टाढाबाट हेरिरहेछौं
तिम्रो कक्टेल पार्टी !
अहिले तिमी
तिम्रै टाउकाको मोल तोक्नेसँग बसेर
हिसाव गर्दै छौ (हाम्रा टाउकाको भाऊ
समयले नराम्रोसँग गिज्याइरहेछ !
भूत पूर्व कमरेड,
तिमीलाई याद आउँछन
ती कमरेड हुँदाका पुराना दिनहरू
प्रतिकृया दिनुहोस