तिलोत्तमाका सामुदायिक विद्यालयमा छात्रालाई निःशुल्क स्यानिटरी प्याड

बुटवल ।  रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराएको छ । किशोरीलाई रजस्वला हुँदा पनि नियमित विद्यालय आउन प्रोत्साहित गर्नका लागि स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराइएको हो । 

रजस्वला हुँदा विद्यालय नआउने र आए पनि बीचमैं कक्षा छाडेर घर जाने समस्याको समाधानका लागि सामुदायिक विद्यालयमा स्यानिटरी प्याड उपलब्ध गराउने व्यवस्था मिलाइएको नगर उप–प्रमुख जागेश्वरी चौधरीले जानकारी दिइन । यसका लागि नगरपालिकाले चालु आर्थिक वर्षका लागि पाँच लाख रुपैंयाँ बजेट छुट्याएको छ । 

मूलतः कक्षा ६ देखि माथिका छात्राहरुलाई लक्षित गरी नगरपालिकाले यस्तो व्यवस्था मिलाएको हो । नगरपालिकामा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राहरुको संख्या तीन हजार ६ सय ५० छ । सरदरमा प्रतिछात्रा १३६ रुपैंयाँका दरले स्यानिटरी प्याडका लागि विद्यालयलाई रकम दिइएको हो । ‘विद्यालयमा रजस्वला भएपछि बीचमैं पढाइ छाडेर घर जानुपर्ने बाध्यताको अन्त्यका लागि यस्तो व्यवस्था मिलाइएको हो ।’ शिक्षा उपसचिव हरिप्रसाद ज्ञवालीले भने । आर्थिक अभावमा कतिपय छात्राहरुले पुराना कपडा प्रयोग गर्ने र त्यसबाट संक्रमण हुन सक्ने भएकाले चेतना अभिवृद्धिका लागि पनि स्यानिटरी प्याड उपलब्ध गराइएको नगरपालिकाको भनाइ छ । छात्रा संख्याको आधारमा नगरपालिकाले रकम विद्यालयको खातामा जम्मा गरिदिएपछि विद्यालयहरुले प्याडको व्यवस्था मिलाएका छन् । यसका लागि विद्यालयहरुले एक जना महिला शिक्षकलाई ‘फोकल पर्सन’ तोकेका छन् । 

स्यानिटरी प्याडको उपलब्धताले किशोरीहरु ढुक्कसँग विद्यालय आउने वातावरण बनेको जनजागृति माविका शिक्षक नरेन्द्र बहादुर क्षत्रीले बताए । ‘नगरपालिकाले बजेट नदिँदासम्म स्कुलमा स्यानिटरी प्याडको व्यवस्था थिएन । नगरपालिकाले बजेट दिएपछि चालु शैक्षिक सत्रबाट हामीहरुले छात्राहरुलाई आवश्यकताका आधारमा निःशुल्क स्यानिटरी प्याड दिन थालेका छौं । यसबाट उनीहरुमा सकारात्मक प्रभाव परेको छ ।’ उनले भने ।  

यसैगरी नगरपालिकाले गर्भवती महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सुविधा उपलब्ध गराउने तयारी गरेको छ । यस्तै नगरका बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाहरुलाई नगरपालिकाले संघीय सरकारले उपलब्ध गराउने रकममा पाँच सय रुपैंयाँ थपेर दिने गरेको छ । नगरपालिकामा दुई वटा बर्थिङ सेन्टर छन् । नियमित स्वास्थ्य परीक्षण गराई बर्थिङ सेन्टरमा सुत्केरी महिलाले प्रोत्साहन भत्ता स्वरुप दुई हजार पाँच सय रुपैंयाँ प्राप्त गर्छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर