विद्युत् प्राधिकरणका तत्कालीन लेखाप्रमुखविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका तत्कालीन लेखाप्रमुख उमेशकुमार ठाकुरविरुद्ध रु ५२ लाख १३ हजार ५९० बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नक्कली बिल तथा भौचर तयार पारी बदनियतपूर्वक सरकारी स्रोतको दुरुपयोग गरेको उहाँमाथि आरोप लागेको छ । रत्नपार्क वितरण केन्द्रका प्रमुख मनोजकुमार सिंहको समेत मिलेमतोमा ललितपुर वितरण केन्द्रमा सरुवा भएर जाँदासमेत बरबुझारथ नगरेको र ललितपुरमा समेत रु २० लाख बराबरको हिनामिना गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार रु एक करोड बराबरको हिनामिना गरेको भन्ने उजुरीका विषयमा अनुसन्धान गर्दा आन्तरिक छानबिन समितिलाई नै प्रभावमा पारी रु ३० लाख मात्रै तिरेर सफाइ दिन लागिएको समेत अनुसन्धानबाट खुलेको छ ।
प्रतिकृया दिनुहोस