जनताको जलविद्युत : माथिल्लो त्रिशुली थ्रि बी को सेयर किन्दा कति फाइदा ?

काठमाडौं । 'नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी’ भन्ने नारासहित जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत ‘त्रिशूली बी’ को सेयर आवेदन खुल्ला भएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त आयोजनाको सेयरमा आवेदन दिंदै औपचारिक रुपमा सेयर खरिद प्रक्रिया अगाडि बढाए ।

प्रधानमन्त्री ओलीले १० लाख रुपैयाँ बराबरको १० हजार कित्ताका लागि पहिलो आवेदन दिए । त्यस्तै प्रधानमन्त्री पति राधिका शाक्यले पनि सोही संख्याको सेयर माग गर्दै दोस्रो आवेदकमा परिन । 

त्यस्तै ऊर्जा जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले १ हजार कित्ताका लागि आवेदन दिए भने ऊर्जा मन्त्री पत्नी समेत रहेकी पूर्वसभामुख ओनसरी घर्तिले २ लाख रुपैयाँ बराबरको २ हजार कित्ता सेयरका लागि आवेदन दिइन । 

नेपाली जनताको लगानीमा नै केही ठूला जलविद्युत् आयोजना निर्माण गर्ने र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने लक्ष्यका साथ सरकारले सो कार्यक्रम शुरु गरेको हो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले १९ वटा आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेको छ । ती आयोजनाबाट तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । कार्यक्रमको पहिलो आयोजनाको रूपमा त्रिशूली गङ्गा जलविद्युत् कम्पनीले निर्माण गरिरहेको माथिल्लो त्रिशूली थ्री बी आयोजना छनोट गरिएको हो । 

कस्तो छ आयोजना

त्रिशूली गङ्गा जलविद्युत् कम्पनी नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीका रूपमा स्थापना गरिएको हो ।

कूल ३७ मेगावाट क्षमताको त्रिशूली बी आयोजनाको निर्माण कार्य समेत शुरु भइसकेको छ । कम्पनीको जारी पूँजी दुई अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३७ करोड पाँच लाख बराबरको १०० रुपैयाँ अङ्कित दरको ३७ लाख पाँच हजार साधारण सेयरमध्ये ३ प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्याई बाँकी ३५ लाख ९३ हजार कित्ता सेयर सर्वसाधारणका लागि विक्री शुरु भएको हो । 

आवेदकले न्यूनतम १०० कित्तादेखि बढीमा एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।  १०० रुपैयाँ अङ्कित मूल्य रहेकोमा अहिले त्यसको १० प्रतिशत हुन आउने  १० रुपैयाँका दरले आवेदन दिन सकिने व्यवस्था गरिएको छ । बाँकी रकम भने आयोजनाको भौतिक निर्माण ७५ प्रतिशत सम्पन्न भएपछि मात्रै तिर्दा हुनेछ । अग्रिमरूपमा लगानी गरिएको रकमको समेत सरकारले ब्याज उपलब्ध गराउने प्रावधान राखिएको छ । 

कम्पनीका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमका अनुसार सो आयोजना विसं २०७८ फागुन १७ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माणमा निर्माण अवधिको ब्याजसमेत गरी ८ अर्ब २२ करोड ७४ लाख ४१ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । त्यसमा आयोजनाको प्रवद्र्धक नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको समान ३०–३० प्रतिशत, प्रभावित जिल्ला (नुवाकोट र रसुवा) का स्थानीय तहको ५ प्रतिशत, प्रभावित जिल्लाका स्थानीय बासिन्दाको १० प्रतिशत, विद्युत् प्राधिकरण र दूरसञ्चार कम्पनीका कर्मचारीका लागि ५ प्रतिशत, जलविद्युत् आयोजनामा लगानी गर्ने उद्देश्यले प्रभावित जिल्लाका बासिन्दाले स्थापना गरेका कम्पनीका लागि पाँच प्रतिशत एवं आमसर्वसाधारणका लागि १५ प्रतिशत सेयर सुनिश्चित गरिएको छ । 

विसं २०७२ जेठ २४ मा विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरेको उक्त आयोजनाले विसं २०७४ भदौ ६ मा विद्युत् खरीदबिक्री सम्झौता गरिसकेको छ । यस्तै लगानीकर्ता बैंक तथा वित्तीय संस्था र कम्पनीबीच गत भदौ ४ गते ऋण सम्झौता भएको थियो । 

हालसम्म आयोजनाले साइट आवास, कार्यालय भवन, जग्गा अधिग्रहण, टेस्ट अडिट टनेल, पहुँच मार्गसम्मको अधीन, वन क्षेत्रको प्रयोग र रुख कटानलगायतका कार्य सम्पन्न गरिसकेको छ । 

उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडन उत्पादनगृहदेखि थ्री ‘बी’ हब सवस्टेशनसम्मको ३ किमी लामो १३२ केभी प्रसारण लाइन निर्माणकार्य हाल जारी छ । समग्रमा आयोजनाको भौतिक प्रगति २९ प्रतिशत र वित्तीय प्रगति १२ प्रतिशत छ । 

आयोजना निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी सिचुवान एन्हे हाइड्रोलिक तथा हाइड्रोइलेक्ट्रिक इञ्जिनीयरिङ कम्पनीमार्फत भइरहेको छ ।

कहाँबाट दिने आवेदन

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल लिमिटेड रहेको छ । प्राथमिक सेयर निष्काशन गरेका अन्य कम्पनीमा जस्तै यो आयोजनामा पनि आश्वा सुविधा भएका बैंक तथा वित्तीय संस्था तथा सि– आश्वामार्फत पनि सेयर आवेदन गर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ । 

कम्पनीको सेयरमा चैत ७ गते आजदेखि छिटोमा यही चैत ११ गतेसम्म र ढिलोमा आगामी वैशाख ६ गतेसम्म आवेदन दिन सकिनेछ । सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रम घोषणा गरेको थियो । 

आफ्नो देश आफैं बनाउन आयोजनामा लगानी : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अरुसँग हात थाप्ने भन्दा पनि आफ्नो देश आफै बनाउने यस्ता आयोजना अघि सारिएको बताएका छन् ।

'जनताका साना साना पूँजी सङ्कलित गरेर ठूला आयोजनामार्फत आफ्नो मुलुक आफैँ बनाउन सकिन्छ ।'  जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत ‘त्रिशूली बी’ को सेयर आवेदन शुभारम्भ गर्दै उनले भने । 'जुन देशका जनताले आफ्नो देश आफै बनाउन सक्छौँ भन्ने ठान्छ, त्यो देश अगाडी बढ्छ । जुन देशको जनतामा आत्मविश्वास हुन्छ त्यसले गर्न सक्छ । जुन देशको जनतामा स्वाभिमान हुन्छ, स्वाभिमानले राष्ट्र निर्माण गर्न सक्छ ।’ नयाँ ढंगले राष्ट्रलाई समृद्ध बनाउन जुट्नु परेको प्रधानमन्त्री ओलीको भनाई छ । 

प्रधानमन्त्री ओलीले विकासका लागि कसैसँग हात नथापी यस्ता आयोजनालाई नमूनाको रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिँदै कृषि, पर्यटनजस्ता क्षेत्रमा पनि जनताको लगानी जोडेर देशलाई आत्मनिर्भर बनाउन सकिने धारणा व्यक्त गरे । (राससको सहयोगमा)

छुटाउनु भयो कि

जनताको जलविद्युत स् पहिलो सेयर प्रधानमन्त्री, तेस्रो ऊर्जामन्त्रीलाई

प्रधानमन्त्रीले कति किने माथिल्लो त्रिशूली थ्रि बीको सेयर ?

जनताको जलविद्युत कार्यक्रम सुरु, प्रधानमन्त्री ओलीले दिए सेयरका लागी पहिलो आवेदन (फोटोफिचर)

नयाँ ढंगले राष्ट्रलाई समृद्ध बनाउन जुट्नु परेको छ :  प्रधानमन्त्री ओली (भिडियोसहित)


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर