जनताको जलविद्युत : कसरी किन्ने सर्वसाधारणले सेयर ?

काठमाडौं । 'जनताको जलविद्युत' कमर्यक्रम अन्तर्गत पहिलो चरणमा निष्काशन भएको 'माथिल्लो थ्रि बी' को सेयरमा आवेदन दिन सर्वसाधारण जनताको निकै चासो देखिएको छ ।
ऊर्जा जलस्रोत तथा सिचाई मन्त्रालयले अघि बढाएको जनताको जलविद्युत आयोजनामा बहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता सेयरका लागि आवेदन दिंदै उक्त कम्पनीको पहिलो आवेदक बनेका थिए । 

यस आयोजनामा लगानी गर्न चैत १ गते आव्हानपत्र प्रकाशन गरी बिहीबार चैत ७ गतेदेखि सेयर बिक्री खुल्ला गरिएको थियो । सेयर बिक्री खुल्ला गरिएको पहिलो दिन बिहीबार साँझ साढे ५ बजेसम्म १२ हजार ७ सय ७३ आवेदकले ६० लाख ३१ हजार १ सय ३० कित्ता सेयर किन्न आवेदन दिएको कम्पनीका प्रबन्ध निर्देशक मोहनप्रसाद गौतमले बताए ।

कम्पनीले जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख बराबरको १०० रुपैयाँ अङ्कित मूल्यमा ३७ लाख ५ हजार कित्ता साधारण सेयरमध्ये ३ प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्याई बाँकी ३५ लाख ९३ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । यसरी हेर्दा आयोजनाका लागि माग गरेभन्दा करिब २ गुणा बढी आवेदन पहिलो दिनमा नै परेको हो । 

प्रतिकित्ता १० रुपैयाँमा नै सेयर

ऊर्जा मन्त्रालयले अघि बढाएको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गतको पहिलो आयोजना त्रिशुली थ्री ‘बी’ को सेयरमा लगानीकर्ताले पहिलो चरणमा प्रतिकित्ता १० रुपैयाँ सेयर भाउमा नै आवेदन दिन सकिने व्यवस्था गरेको छ । सेयर निष्काशन कार्यविधि अनुसार इच्छुक आवेदकले आफूले खरिद गर्न चाहेको सेयरको कुल मुल्यको दश प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरमा प्रतिकित्ता १० रुपैयाँमा सेयर खरिद गर्न सकिन्छ ।

बाँकी ९० प्रतिशत रकम आयोजनाको ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणमा माग गर्नेछ । सोही समयमा ९० प्रतिशत रकम लगानीकर्ताले भुक्तानी गर्नुपर्छ ।

कार्यविधि अनुसार हाल सेयर खरिद गर्नका लागि बुझाइएको १० प्रतिशत रकमको पनि कारोबार योग्य नभएसम्म वार्षिक ८ प्रतिशत ब्याजदर प्रदान गर्ने व्यवस्था छ ।

सर्वसाधारणले कसरी किन्ने सेयर

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल लिमिटेड रहेको छ । प्राथमिक सेयर निष्काशन गरेका अन्य कम्पनीमा जस्तै यो आयोजनामा पनि आश्वा सुविधा भएका बैंक तथा वित्तीय संस्था तथा सि– आश्वामार्फत सेयर आवेदन गर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।  त्यस्तै मेरो सेयर सफ्टवेयर प्रयोगकर्ताले इन्टरनेटको माध्यमबाट जुनसुकै स्थानबाट आवेदन दिन सक्नेछन् भने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलबाट समेत सेयर भर्न सकिन्छ ।

कम्पनीको सेयरमा चैत ७ गते आजदेखि छिटोमा यही चैत ११ गतेसम्म र ढिलोमा आगामी वैशाख ६ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ । सर्वसाधारणले न्यूनतम १०० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् ।

यस्तो छ कम्पनीको अवस्था

नुवाकोटमा निमार्णाधीन ३७ मेगावाटको माथिल्लो त्रिशुली थ्रि बी आयोजजना जनताको जलविद्युत कार्यक्रमको पहिलो आयोजनाको रूपमा त्रिशूली गङ्गा जलविद्युत् कम्पनीले निर्माण गरिरहेको छ । यस आयोजनामा प्रवद्र्धक नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको समान ३०–३० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

त्यसैगरी, आयोजना प्रभावित जिल्ला (नुवाकोट र रसुवा) का स्थानीय तहको ५ प्रतिशत, प्रभावित जिल्लाका स्थानीय बासिन्दाको १० प्रतिशत साथै विद्युत् प्राधिकरण र दूरसञ्चार कम्पनीका कर्मचारीका लागि ५ प्रतिशत सेयर छुट्याइएको छ ।

विसं २०७२ जेठ २४ मा विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरेको उक्त आयोजना विसं २०७८ फागुन १७ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।हालसम्म आयोजनाले साइट आवास, कार्यालय भवन, जग्गा अधिग्रहण, टेस्ट अडिट टनेल, पहुँच मार्गसम्मको अधीन, वन क्षेत्रको प्रयोग र रुख कटानलगायतका कार्य सम्पन्न गरिसकेको छ । 

उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडन उत्पादनगृहदेखि थ्री ‘बी’ हब सवस्टेशनसम्मको ३ किमी लामो १३२ केभी प्रसारण लाइन निर्माणकार्य हाल जारी छ । समग्रमा आयोजनाको भौतिक प्रगति २९ प्रतिशत र वित्तीय प्रगति १२ प्रतिशत छ ।  आयोजना निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी सिचुवान एन्हे हाइड्रोलिक तथा हाइड्रोइलेक्ट्रिक इञ्जिनीयरिङ कम्पनीमार्फत भइरहेको छ ।

सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रम घोषणा गरेको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले १९ वटा आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेको छ । ती आयोजनाबाट तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । जनताको जलविद्युत कार्यक्रममा ४८२ मेगावाटको अरुण किमाथांका, ७२५ मेगावाटको माथिल्लो अरुण ३७२ मेगावाटको अरुण चौथो लगायतका आयोजना समावेश गरिएको छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर