• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

विद्यालयमा रंगरोगन गरेर मनाइयो होली

विराटनगर । विराटनगर १ परोपकार टोलमा अवस्थित सयपत्री परोपकार आधारभूत विद्यालयको कक्षा चारमा अध्ययनरत सलिना खातुन गुँइठा बनाउनमा व्यस्त थिइन । वार्षिक परीक्षा आउन एक हप्ता मात्र बाँकी थियो । तर, विद्यालय जाने फुर्सद थिएन उनलाई । न त, घरमा पढेर बस्ने वातावरण नै ।

सलिनाको यो दैनिकी एक दिनको मात्र होइन । घर नजिकैको सयपत्री परोपकार आधारभूत विद्यालयको कक्षा ४ मा पढ्ने उनी वर्षभरमा मुस्किलले ३०–४० दिन विद्यालय गएको आफैं बताउँछिन् । उनलाई बोर्डमा लेखेको सार्न आउँछ तर पढ्न आउँदैन । अक्षर चिन्न सक्दिनन् । विद्यालय किन नगएको भन्ने प्रश्नमा उनी भन्छिन्, ‘पापा मम्मि काममा जान्छ । दिनभर घरको काम गर्नुपर्छ, बहिनी हेर्नुपर्छ ।’ 

कक्षा ४ सम्म अध्यापन हुने उक्त विद्यालयमा ७ शिक्षक शिक्षिका छन् भने १०जना विद्यार्थी छन् । ति पनि नियमित विद्यालय आउँदैनन् । विद्यालय नआउने कारण सबैको एउटै छैन । कोही घरमा काम भएर आउँदैनन, कोही खेल्न जान्छन्, कसैको सानै उमेरमा काम गरेर परिवार पाल्नुपर्ने बाध्यता छ । कोही भने विद्यालयमा पढाई नै हुँदैन भनेर खेल्दै दिन बिताउँछन् । 

सयपत्री एउटा उदाहरण मात्र हो । विराटनगरमा भएका ५५ सामुदायिक विद्यालयमध्ये ३५ को अवस्था अत्यन्तै कमजोर रहेका छन् । बाँकीको अवस्था पनि चित्तबुझ्दो छैन ।

समग्र शिक्षा र विशेषगरी सामुदायिक विद्यलयको शैक्षिक गुणस्तरमा परिवर्तन ल्याउनुपर्छ भन्दै एउटा समुह राष्ट्रिय अभियानमा होमिएको छ । ‘सीप, संस्कार र प्रविधिसहितको शिक्षा आजको आवश्यकता’ भन्ने नारासहित विद्यालय सुधारको अभियानमा हिँडेका दुई युवाहरुले विराटनगरका तीन विद्यालयमा निःशुल्क वार्षिक परामर्श तथा सुधार योजनाको जिम्मा लिएका छन् ।
 
सार्वजनिक विद्यालय सुधार अभियान अन्तर्गत अभियानताहरुको तर्फबाट विराटनगर महानगरपालिका भित्र जीर्ण अवस्थामा रहेका तीन विद्यालयलाई वर्ष दिन भित्र भौतिक तथा शैक्षिक स्वरुपमा परिवर्तन ल्याउने जिम्मा लिइएको संयोजक अभिषेक घिमिरेले बताए । विराटनगर १ मा अवस्थित सयपत्री परोपकार आधारभूत विद्यालय, विराटनगर ३ स्थित शहिद आधारभूत विद्यालय तथा विराटनगर १९ मा रहेको जागृति आधारभूत विद्यालयलाई नमुना विद्यालय बनाउने जिम्मा लिएको घिमिरे जानकारी दिए ।

‘वृहत राष्ट्रिय शिक्षा अभियानले सम्भावना सकिएर अत्यन्तै जीर्ण अवस्थामा पुगेका विद्यालयहरुलाई नमुना बनाउने अठोट गरेको छ ।’ संस्थाका सहसंयोजक श्रीमन्त भट्टराईले भने, ‘सार्वजनिक विद्यालयको सुधारको लागि सबै पक्ष सकारात्मक भएको खण्डमा अभियान सफल हुन्छ ।’ 

होलीमा विद्यालय रंगाइयो
अभियानमा संलग्न अभियानकर्ताहरुले बिहीबार होली खेलेनन् । उनीहरुले रंगको पर्वमा विद्यालयमा रंग लगाए । स्थानीय अभिभावक, समाजसेवी र सरोकारवालाहरुसंग मिलेर विद्यालयमा रंगरोगन गर्ने कार्यक्रम भयो । अभियानले एक वर्ष भित्र विद्यालयलाई नमुना बनाउने भन्दै होलीमा विद्यालयमा रंग लगाउने काम गरेको हो । 

वृहत राष्ट्रिय शिक्षा अभियानका संयोजक अभिषेक घिमिरे र सहसंयोजक श्रीमन्त भट्टराईको व्यक्तिगत खर्चमा उक्त विद्यालयमा रंग लगाइएको हो । विद्यालय रंगाउने कार्यक्रममा स्थानीय वडाका अध्यक्ष उद्धव अर्याल, विभिन्न क्षेत्रका सामाजिक व्यक्तित्वहरु साथै विद्यालय प्रशासन, शिक्षक शिक्षिका र स्थानीयको उत्साहजनक सहभागिता रहेको थियो । 

विराटनगर १ स्थित अत्यन्तै जीर्ण अवस्थामा रहेको समाजसँग जोडिएर समाजको लागि केही गरौं भन्ने उद्देश्यसहित सार्वजनिक विद्यालयमा होलीको दिन रंग लगाएको बताउँदै संयोजक घिमिरे भन्छन्, ‘बालबालिकालाई खेल्दै, रमाउँदै सीप, संस्कार र प्रविधि सहितको शिक्षा प्रदान गराउने हाम्रो अभिप्राय हो । हामी समस्या भित्र समाधान देख्छौं र त्यसैलाई अवलम्वन गरेर परिवर्तन ल्याउँछौं ।’ 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर