कविता : एउटा उत्सव
एउटा उत्सवको
छेउमा उभिएर चरु चढाएँ अक्षरको
र यो चरु दूबोजस्तो मौलाइरहेको आभास भएको छ ।
परदेशको आँगन
र परदेशी सभ्यताको काव्यिक प्रयोजन
तर शब्दको अन्तर्य र सरस्वती साधनामा भने परदेश हुँदोरहेनछ
मैले साक्षात् सरस्वती भेटेँ
र सरस्वतीका सन्तानहरू भेटेँ
भाषाको बोक्रा अलग भए पनि
कविताको सरगम सबैतिर एकै हुनेरहेछ
छातीभरि आफैँ अन्तध्र्वनित भइरहेछु ।
मध्याह्न्नको मधुरो वातावरण
नील गगन ओढेर सुस्ताइरहेको सहर
र सहरदेखि पर भित्र कतै
मान्छेहरूको मायाका बीच
मायाको माला
र प्रेमको प्रतीक साथैमा राखेर कविता पढिरहँदा
आफँै पोखिएजस्तो लाग्नेरहेछ
मेरो कविता भन्नु आखिर मै त हुँ ।
जहाज चढेर
यताबाट हवाइ अड्डा छोड्दाको उत्सुकता
उताको हवाइ अड्डा छोड्दा स्मृतिमा रूपान्तरित भयो
र स्मृतिले दिएको कम्पनसँग
आज आफैँ कविता हुन खोजिरहेछु
मलाई विश्वास छ –
मेरो जीवन मेरै कविताको आकृतिमा बाँच्ने छ
देश भए पनि परदेश भए पनि
हृदयको सारङ्गीमा गुन्जने संवेदनाको धुन
उस्तै हुने रहेछ, उही हुने रहेछ
यतिखेर मेरो हृदय
मेरै रोशी खोलाको शैलीमा हुत्तिन खोजिरहेछ
तर रोशीले जस्तै बेग हान्ने बगर त कहाँ पाउँला र ?
प्रतिकृया दिनुहोस