• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

कथा : छापामारले कार्बाही गर्यो

    साँझको ६ बजिसकेको थियो । कोठाभित्र आठजना जति बसेर सरसल्लाह गर्दै थिए । बाहिरपट्टिको वातावरण भयग्रस्त थियो । गोलीका आवाजहरुले पूरै गाउँ आतंकित थियो । पुलिसहरु हेण्डमाइकबाट “खबरदार” भन्दै जनकर्णलाई अत्याउँदै यत्रतत्र घुमिरहेका थिए । दिनभरि गाउँमा छापा मार्नु र माओवादीसँगको भिडन्तका नयाँ–नयाँ नाटक कथ्नु पुलिसहरुको दिनचर्या नै थियो । साँझ ६ बजेतिर यसै गरी हेण्डमाइकबाट चिच्याउँनु र रात परेपछि डराउँदै गाउँ छाडेर आफ्नो क्याम्पतिर फर्कनु उनीहरुको नियमित क्रियाकलाप नै भने हुन्थ्यो । 

कोठाभित्रका सबैजना यसखाले क्रियाकलापबाट विज्ञ थिए तर पनि छापामार कलाकौशल जानेका उनीहरु यस्तो आतंकित वातावरणमा पनि गाउँलेहरुका न्याना छाप्राहरुमा सुरक्षित नै थिए । उनीहरु कसैको प्रतिक्षा गरिरहेका थिए । ढोका बन्द थियो तापनि बेलाबखतमा खुल्थ्यो अनि दुईजना चैं पालैपालो गरी चारैतिर हेर्थे र फेरि ढोका बन्द गर्थे । अरु छ जना र्चै एकैठाउँमा गुजुमुज्ज परेर कागजमा कोरेको केही चिजलाई अवलोकन गर्दैथे । त्यसमध्ये एकजना दाह्रीवालले भने पेन्सिलले इसारा गर्दै कागजलाई स्पष्ट गर्दै थियो । निकैबेरपछि लामो हाइ तान्दै एकजना अलि वरतिर स¥यो । दुईजना महिलाहरु पनि कोठाकै अर्को छेउपट्टि सरे ।

  “खै ? आइपुगनन् अहिलेसम्म । कतै....” रामजीले शंकायुक्त ढंगले कुरा गरे ।
    “हैन होला, अहिलेसम्म त घाम नै अस्ताइसकेको छैन ।” अर्काले शंका निवारण गर्ने प्रयत्न ग¥यो । रमेशले घडी हे¥यो अनि भित्तामा ढाडलाई अडेसा लगाउँदै योजनाको खेस्रालाई सर्र पढ्यो एकपल्ट फेरि । उसका लागि यो पहिलो अनुभव थियो । हुन त पोहरपरार चुनावताका प्रचार–प्रसारमा पनि ऊ यस्तै समूहमा बास बस्दै हिँडेको हो तर अहिलेको अनुभव चैं भिन्न थियो । नितान्त भिन्नै । त्यसैले पनि होला उसको मन तुलमुल–तुलमुल हुँदै थियो । सरलाले चैं रातो झण्डालाई एकपल्ट फर्र पारी अनि फेरि पट्याई ।

ढोका ढक–ढक ग¥यो कसैले । सबै सतर्क बने । रामजीले एउटा प्वालबाट चियाएर हे¥यो । झलक दाइ र नवीन आएका रहेछन् । उसले ढोका खोल्यो र ढिलो हुनुको कारण सोध्यो । दुबैजना कोठाभित्र पस्दै खित्का छाडीछाडी एक–अर्कालाई हेरेर हाँस्न थाले । नवीनको गोडा भने थर्रर कामिरहेका प्रष्टै देखिन्थ्यो । हाँसो थामेर रातो न रातो अनुहार पार्दै झलक दाइले कुरा खोले – “हैरान भयो नि ! गस्तीले झण्डै फेला पा¥याथे । दुबैतिरबाट घेरे जस्तो लाग्यो । म एकछेउबाट मकैबारीमा फाल हालें, नवीन अर्को छेउबाट अनि त....।” फेरि हाँस्न थाले दुबै ।
    “अनि के भो ?” रामजी उत्सुक देखियो ।
    “के हुनु नि ! म दौडेको खस्य्राकखुस्रुक सुनेर वहाँ भाग्ने, वहाँ दौडेको सुनेर म भाग्ने ।”
    “अनि पुलिस चैं...?”
    “पुलिसले त देखेकै रै’नछ ।” हाँसोको फोहरा छुट्यो कोठाभित्र ।
    एकैक्षणमा कुराले गम्भीर मोड समात्यो । हाँसो–ठट्टा छाडेर सबै योजनाका कुराहरुमा छलफल गर्न थाले । करिब दश मिनेट जति कुरा गरेपछि सबैजना आ–आफ्ना हतियार बोकेर तयार भए । मुटुको गति विस्तारैविस्तारै बढ्दै थियो सबैको । मनभित्र कौतुहलता अनि कता–कता पिङ्ग खेल्दा झैं गरी चिसिने मुटुले त्यो बृहत् यात्रामा थप रोमान्चकता थप्दै आयो । कृष्ण पक्षको बेला कालो आकाशमा राता ताराहरुको जमातले मात्र एकोहोरो हेरिरहेको थियो उनीहरुलाई ।

पुलिसहरु त यतिबेला जम्काभेट हुँदैनन् । दिनभरि गाउँलेहरुको सातो खाए पनि रात परेपछि बित्थैमा माओवादीसँग किन जोरी खोज्ने भन्दै ओरालो झर्थे । ठूला अफिसरहरु सदरमुकाम छाडेर गाउँ छिर्दैनथे तर पनि मुठभेडका थुप्रैथुप्रै समाचारहरु हेडक्वार्टरतिर ओइरिन्थे । निर्दोष आँखाहरु आँशुका नुनिला ढिकाले टिलपिलाउँथे गाउँका छाप्राहरुमा ।

दशजना सम्मिलित त्यो छापामार दल लुक्दै–छिप्दै हिँड्यो । कहिले उकालो, कहिले ओरालो, कहिले खेतमा गरागरै अनि कहिले जंगल र भिर हुँदै उनीहरु निर्धारित गाउँसम्म आइपुगे । त्यो गाउँलाई सबैले शहीद गाउँ भनेर चिन्न थालेका थिए । गएको बर्ष नौजना खेतालाहरु एकै चिहान भएका थिए त्यहाँ । साँस्कृतिक कार्यक्रम हेर्दै गर्दा बेफ्वाँकमा मारिएका थिए ती खेतालाहरु ।

लामो बाटो हिँडेकोले होला कविताले “खुइ्यऽऽ” गरी । रमेशले घडी हे¥यो । घडी हेरिरहने बानी छ उसको । दाह्रीवाल अर्थात् कविर दाइले पत्थरको लाइटर झिलिक्क पार्दै घडी हेरे– साढे आठ बजेको रहेछ । अँध्यारो पनि निक्कै भइसकेछ । गाउँका घरमा टुकी बलेको प्रष्टै देखिन्थ्यो । पुलामी दाइको घर चैं अँध्यारो थियो । घरका सबै परिवारलाई पुलिसले मार्ने र थुन्ने गरेपछि कसरी बलोस् त टुकी कठै !

दशैजना अलिक अग्लो ढिस्कोमा वरिपरि टुक्रुक्क बसेर सरसल्लाह गर्न थाले । पछाडिपट्टिको झाडीमा केही चलमलाए झैं गरी खस्य्राकखुस्रुक भयो । झाडीतिर ढाड फर्काएर टुक्रुक्क बसेको आले दाइको सातोपुत्लो गयो । भ्यागुतो उफ्रेझैं बुरुक्क उफ्रेर ढिस्कोमा छलियो ऊ । सबैले सतर्कताकासाथ बन्दुक सोझ्याए । झाडीबाट क¥याक र कुरुक गर्दै बाटो बिराएको गाई निस्कियो । 

 “धत्तेरिका” सरलाले सासलाई निर्धक्कसँग छाडेर भनी । अरुबेला भए खित्का छाडीछाडी हाँस्थे होलान तर यतिबेला सबै गम्भीर बने । मकैबारीमा फाल हानेको सम्झँदै हाँस्ने झलक दाइ र नवीन पनि पटक्कै हाँसेनन् ।

  दश मिनेटमै त्यो दस्ता निर्धारित ठाउँमा पुग्यो । मानबहादुरको घर थियो त्यो । घर त के त्यो गाउँको दरबार नै भने पनि हुन्थ्यो त्यसलाई । सिमेन्टले प्लाष्टर गरेको घर त्यै एउटा त थियो नि त्यहाँ । परपर काबेलीतिरबाट पनि चिनिन्थ्यो त्यो घर । घरकै अघिल्तिर घोडा बाँध्ने तबेला थियो । मानबहादुर सेतो विकासे घोडा चढेर गाउँ चहाथ्र्यो बेला–बेलामा । बाटो हिँड्ने बटुवाहरुले जदौ टक्र्याउँथे, ऊ नाकको पोरा फुलाउँदै हिँड्थ्यो । घोडा कुनै घर अगाडि पुग्थ्यो । मानबहादुरले घोडाको लगाम तान्थ्यो ।

घोडा थुर्थराउँथ्यो । बस्, त्यो घरको उठिबास भयो भन्ठाने पनि हुन्थ्यो । ऋण दिने बैंक नै हो मानबहादुर । ऋण नतिरुन्जेल सित्तैमा काम गरिदिनुपथ्र्यो उसको खेतीमा । ब्याज र स्याज जोडिन्थ्यो । अनि थुप्रैले घर–जग्गा जिम्मा लाएर मधेस झर्नु पथ्र्यो । यस्तै थियो मानबहादुरको कानून अर्थात त्यो गाउँको कानून ।

 छापामार दल मनबहादुरको आँगनमै पुग्यो । एकजनाले आँगनबाटै बोलायो उसलाई । मानबहादुरले मास्तिरबाट हे¥यो । अँध्यारो थियो । उसले केही पनि देखेन । हर्केले बोले जस्तो लाग्यो उसलाई । त्यसपछि ऊ झर्कँदै तल ओर्लियो– “ए गधा ! काँ म¥याथिस् आज ? तँलाई मकै गोड्न जा भन्या हैन ? तँलाई पाता कसेर कोर्रा नलगाई काँ छाडुँला र !” लिस्नुबाट ओर्लिउन्जेलमा उसले भन्नु नभन्नु ओकलिसकेको थियो । आँगनमा झरेर छेउमै पुगेर हे¥यो मानबहादुरले । हर्के नै उभिएको थियो त्यहाँ, तर अर्कै भेषमा ।

हातमा बन्दुक, निधारमा रातो तारा भएको फेटा । एउटा अजङ्गको पहाड तेर्सिए झैं लाग्यो मानबहादुरलाई । बिहान आफ्नै घरबाट कुटो बोकेर हिँडेको हर्के अहिले....। उसले दुबै आँखालाई मिचेर फेरि हे¥यो । उही हर्के मुसुमुसु हाँसिरहेको । मानबहादुरको शरीर लुगलुग काम्न थाल्यो । बडेमानको भुँडीलाई उसका आफ्नै गोडाले थेग्न नसकेर थुचुक्क बसँुला झैं भयो । बोली कमाउँदै भन्यो उसले –“हर्क भाइ ! बिराएँ ।” प्रत्युत्तरमा हर्केले केही पनि बोलेन ।
    त्यतिन्जेलमा बाटामा उभिएका अरु छापामारहरु पनि आइपुगे । अरुहरुलाई देख्नासाथ मानबहादुर बारीतिर दगुर्न खोज्यो ।

कविताले बिजुलीको गतिमा उसको बाटो छेकी । बन्दुकको नाल आफूतिर सोझिएको देखेर मानबहादुर टक्क उभियो । अब त ऊ पूरै लल्याकलुलुक भइसकेको थियो । मानबहादुरको गुहार सुनेर घरमा परिवारमा हल्लिखल्ली मच्चियो । 
    “मानबहादुर दाइ किन यसरी डराउँनुहुन्छ ? हामी तपाईँलाई क्वप्लाक्कै निल्ने अजिंगर त हैनौ नि !” कबिर दाइले मानबहादुरको ढाडमा धाप मार्दै भने ।
    “हँ ? ए !” मानबहादुरको अलिकति होस फि¥यो । त्यसपछि घर मास्तिर हेर्दै अह्रायो – “ए ठूली ! गुन्द्री ले’रा झट्टै !” यतिबेलासम्ममा तीन जना छापामारहरुले घर मास्तिरबाट एउटा बाह्रबोर र दुईवटा भरुवा बन्दुक कब्जामा लिइसकेका थिए । मानबहादुरलाई भने आफ्नो ज्यान गइसकेको अनुभव हुँदै थियो ।
    “हामी कम्युनिष्ट हौं । गरीखाने वर्गको हकहित ल्याउँन हिँडेका हौं हामी ।” कविर दाइले परिचय दिए र फेरि भने – “तपाईँका बारेमा जनताका थुप्रै गुनासा र भनाइहरु आएका छन् । त्यसैको छिनोफानोमा आज हामी छौं ।” अब भने मानबहादुरको डर अलिकति पर हट्यो । “ज्यान गुमाउँनु भन्दा त अपराध स्वीकार्नु नै ठीक छ ।”– उसको मनले उसलाई घच्घच्याउँन थाल्यो । 

कविताले आरोपहरु पढन थाली– “बीरबहादुर जिम्दारको जेठा छोरा मानबहादुर....,तेह्र घरबार उठिबास....,स्कूलको सिमेण्ट...,काली मन्दिरको गुठी जग्गा..., सित्तैमा दास राखेको...., झुट्टा मुद्दा...., बलात्कार..., झुट्टा तमसुक....।”

मानबहादुरले कुनै पनि आरोपलाई हैन भन्न सकेन । उसका मस्तिष्कमा सबै कुराहरु झल्झली आए । पुस्तौँदेखि हर्के र उसका परिवारलाई दास बनाएर राखेको अपराध पनि त्यहाँ आयो । सुन्तलीलाई ललाईफकाई पेट बोकाएपछि पन्चायत डाकेर कान्छा लामाको टाउकामा थोपरेको पोल पनि सार्वजनिक भयो । जनमत संग्रहताका बहुदललाई हराउँन धाँधली गरेका कुराहरुदेखि लिएर अहिले काँग्रेस पार्टीको अध्यक्ष भएर उसले कम्युनिष्टहरुलाई झुट्टा मुद्दा लाएकासम्मका कुराहरु त्यहाँ भए ।

मानबहादुरले चुपचाप भएर सबै यथार्थ अपराधहरु स्वीका¥यो । उसलाई भित्रभित्रै रिस पनि उठिरहेको थियो । कोठामा झुण्ड्याएको बन्दुकलाई पटकपटक सम्झियो उसले । त्यो बन्दुक पनि अहिले छापामारले खोसिसकेका थिए । ऊ लाचार थियो त्यहाँ । गाउँलेहरुको भिँडले घेरा हालेको थियो आँगनमा । कहिल्यै नझुकेको मानबहादुरको शिर आज पहिलोपल्ट हलि–खेतालाहरु सामुन्ने झुकेको थियो ।

 पार्टीले अर्थात छापामारहरुले लगाएको मद्दासँगै थुप्रैथुप्रै गाउँलेहरुले आरोपका बर्षाहरु खन्याउँन थाले । कोही अश्रुधारा बगाउँदै मानबहादुरलाई सराप्थे भने कोही चैं आक्रोशका मुठ्ठीहरु उज्याएर उत्तेजित हुन्थे । केहीक्षण त्यस्तै वातावरणले ढाक्यो मानबहादुरको आँगनलाई । बर्षौंदेखि चुँ बोल्न नसकेका मुखहरुले स्वतन्त्रताको अनुभव गरे । गाउँलेहरुलाई एकैक्षणका लागि आफ्नै राज्य आएको जस्तो भयो ।
    मानबहादुरको ओठ सुख्खा भयो । जिब्रोले ओठलाई चलायो एकपल्ट उसले ।
    “पानी खानुप¥यो ।” ऊ त्यहाँबाट उम्कन खोज्यो ।
    “पानी हामी यहीं ल्याइदिन्छौं ।” नवीनले भन्यो । मानबहादुरले घोसेमुण्टो लगायो । 
    अब निर्णय सुनाउँने बेला आयो । झलक दाइ अघि सरे र गाउँलेहरुको बिचार बुझे ।
    “यसलाई झुण्ड्याउँनुपर्छ त्यै दलानमा ।” खत्रीबाजेले थोते दाँत देखाउँदै भने ।
    “खुकुरीले चट्चट् पार्नुपर्छ ।” माइली घले कुर्ली ।
    “चारपाटा मुड्नुपर्छ यसको ।” युवाजस्तोले तर्क राख्यो ।
    “हाम्रो झुट्टा तमसुक च्यात्नुपर्छ ।” कसैले भन्यो ।
    “हो, हो । च्यात्नैपर्छ ।”सबैले सहमति जनाए ।

मानबहादुरको ढुकुटीबाट तमसुकको पोको ल्याइयो । सबैको सामुन्ने पोको खोलियो – साठी लाख बराबरको जाली तमसुक रहेछ । मानबहादुरको आँखै अगाडि ती तमसुकका कागजहरु खरानीका धुला बने । मानबहादुरले नमीठोसँग आँखा चिम्लियो ।
    कविर दाइ अलिकति अघि सरे र गाउँलेहरुलाई सम्बोधन गरे – “मित्रहरु ! मानबहादुरले गाउँ र जनतालाई लुटी आएको हुँदा आजसम्म उसले कब्जा गरेको घर–खेत सम्बन्धित व्यक्तिलाई बुझाउँनुपर्ने सजायँ दिइन्छ र सबैका सामु माफ माग्नुपर्नेछ ।”

 मानबहादुरले हात जोड्यो र माफ माग्दै कब्जा गरेको सम्पत्ति फिर्ता गर्ने कबोल पनि ग¥यो ।
     “गाउँलेहरुलाई झुट्टा मुद्दा लाउने, उठीबास लाउने र जासुसी गरेको थाहा भएमा मानबहादुरलाई ज्यानको सजायँ हुनेछ ।” कविर दाइले फेरि भने । त्यसपछि सम्पूर्ण छापामारहरु आ–आफ्नो हतियार काँधमा बोकेर हिँड्न तयार भए । गाउँलेहरुले मुठ्ठी उचालेर बिदाइ गरे । छापामारहरु पनि त्यहाँबाट हिंडे । मानबहादुर उनीहरु गएतिर हेरेर टोलाइरह्यो । गाउँलेहरुले एकै स्वरमा नारा लगाए – “नेपाली जनयुद्ध –जिन्दाबाद !”
(कथाकार रोहित दहालको इस्पातले बनेका मान्छेहरु कथासंग्रहबाट साभार)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर