• २०८१ बैशाख २० बिहीबार
  • Thursday, 2 May, 2024

कविता : समयको कठघरामा 

 सत्यको अर्गानिक इतिहास
यतिखेर भ्रमहरूको दुकानबाट
एकाएक लिलाम भएको छ
र , मृत्यु क्याप्सुल सेवन गरेर– खरानी भएको छ
बिचारको हस्तिहाडहरू
हो कुरूप समयको लप्काहरूले
तहस नहस बनाएको छ – सतिसाल सम्वन्धहरू।

नसकिने रहेछ
जतिसुकै 
जोगिन्छु भन्दाभन्दै 
मिसिन पुग्दोरहेछ
र , नचाहेरै हरबखत ठोकिन पुग्दोरहेछ
आस्थाहरूको साँध सिमाना।

अचेल समयले मेरो गिदी चाटिरहेछ
र , सैद्धान्तिक बिचारको अस्तिरपञ्जरमाथि
अचानक धावा बोलिरहेछ।

लाग्दैछ हतारमा बोल्नु भनेको 
आफ्नो खुट्टामा आफैंले बञ्चरो हान्नु हो
अचेल आफुले आफै माथि 
युद्धको धावा बोलेर
आफ्नै गर्धन रेटेको पत्तो नपाउँने भएको छु।

जब रेटिन्छन्
फक्रदै गरेको प्रेमको कोपिला 
हत्यासहरूको लस्कर बोकेर
अपभ्रंस नैतिकताको खोल भित्रबाट
नक्कली संवेदनाको आवाजहरू
एकाएक गुन्जन्छ सडकहरूमा
र , कालो बादलले ढाकिदिन्छ
बिचारको न्यायो घाम
होसियार रहनु हरेक मान्छेहरू
अचेल पसिनाको नदिहरूमा
जीवनको रङ्ग होइन 
भ्रमहरूको हजारौं कोलम्बस सपना बिराजमान भैरहन्छ।

भगवान
यो समयको कालो पर्दामा
मलाई होइन 
मेरो भाग्यलाई कैद गरिदेऊ
म इतिहासको किनारमा 
जीवनको गीत लेखेर
हो तिमीसँगै सुसेल्न चाहान्छु।

यो समय
एकाएक लिलिपुट हुदैछ 
र , नापेर खप्परको एक पाउ गिदी
ओकलीरहेछ – शकुनि सुस्केरा
अप्रत्यासित नाचेर मान्छेहरूको छाति छातिमा
ढाल्न खोज्दैछ बिश्वासको आदिम पहाड
हो चपाउँछ मुटुमा पलाउँदै गरेको चिचिला आकांक्षा 
पटकपटक जीवनको बकपत्रमा
अनुवाद गरे पनि प्रेमको आद्रता
थाहा छैन किन प्रमाणित गरिरहनुपर्छ
समयको कठघरामा आफ्नै अनुहार ।

 -पालुङ मकवानपुर

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर