जनताको जलविद्युतमा उत्साहजनक लगानी

काठमाडौं । निकै उत्साहका साथ ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले अघि सारेको जनताको जलविद्युतको पहिलो आयोजनामा लगानीकर्ताको उत्साहनजनक सहभागि भएका छन् । 

ऊर्जा मन्त्रालयले ’नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी’ भन्ने नारासहित यो कार्यक्रम अघि बढाएको हो । यस कार्यक्रम अन्तर्गत अगाडि बढाइएका १९ आयोजनामध्ये आईपीओ विक्री गर्ने यो पहिलो आयोजना त्रिशुली थ्रि बी हो । यो आयोजना निष्काशनको दोस्रो दिनमा नै १७ करोडभन्दा बढीको आवेदन परेको छ । 

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल ले दिएको जानकारी अनुसार शुक्रबार मध्यान्ह ३ बजेसम्म १७ करोड ४६ लाख २६ हजार ७ रुपैयाँको आवेदन परेको छ । सो अवधिसम्म ३६ हजार ३ सय ८० आवेदकबाट १ करोड ७४ लाख ६२ हजार ६ सय ७० कित्ताका लागि आवेदन परेको छ । जुन माग गरेभन्दा झण्डै ५ गुणा बढी हो ।

कम्पनीले चैत ७ गतेदेखि ३५ लाख ९३ हजार कित्ता सेयर सर्वसाधारणका लागि विक्री खुल्ल गरेको छ । २ अर्ब ४७ करोड रुपैयाँ जारी पूँजीमध्ये १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख बराबरको १०० रुपैयाँ अङ्कित दरको ३७ लाख ५ हजार कित्ता साधारण सेयरमध्ये ३ प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्याई बाँकी ३५ लाख ९३ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गरेको हो । 

प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ भएपनि पहिलो चरणमा १० प्रतिशत मात्र लगानी गरेर सेयर खरीदमा सहभागि हुन सकिने व्यवस्था कम्पनीले गरेको छ । जसअनुसार हाल लगानीकर्ताले प्रतिकित्ता १० रुपैयाँका दरले न्युनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने बाँकी रकम भने आयोजनाको ५० प्रतिशत काम सम्पन्न भएपछि भुक्तानी गर्न सकिने छ ।

कम्पनीले सेयर बिक्री खुल्ला गरेको पहिलो दिन बिहीबारै करिब दुई गुणाको आवेदन परेको थियो । बिहीबार साँझ साढे ५ बजेसम्म १२ हजार ७ सय ७३ आवेदकले ६० लाख ३१ हजार १ सय ३० कित्ता सेयर किन्न आवेदन दिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारबाट सेयर किन्न आवेदन दिएर यो कार्यक्रमको उद्घाटन गरेका थिए ।  आयोजनामा लगानी गर्न चैत १ गते आह्वान गरिएको थियो ।  

नुवाकोटमा निमार्णाधीन ३७ मेगावाटको माथिल्लो त्रिशुली थ्रि बी आयोजजना जनताको जलविद्युत कार्यक्रमको पहिलो आयोजनाको रूपमा त्रिशूली गङ्गा जलविद्युत् कम्पनीले निर्माण गरिरहेको छ । 

यस आयोजनामा प्रवद्र्धक नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको समान ३०–३० प्रतिशत सेयर स्वामित्व रहेको छ । त्यसैगरी, आयोजना प्रभावित जिल्ला (नुवाकोट र रसुवा) का स्थानीय तहको ५ प्रतिशत, प्रभावित जिल्लाका स्थानीय बासिन्दाको १० प्रतिशत साथै विद्युत् प्राधिकरण र दूरसञ्चार कम्पनीका कर्मचारीका लागि ५ प्रतिशत सेयर छुट्याइएको छ । 

विसं २०७२ जेठ २४ मा विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरेको उक्त आयोजना विसं २०७८ फागुन १७ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।हालसम्म आयोजनाले साइट आवास, कार्यालय भवन, जग्गा अधिग्रहण, टेस्ट अडिट टनेल, पहुँच मार्गसम्मको अधीन, वन क्षेत्रको प्रयोग र रुख कटानलगायतका कार्य सम्पन्न गरिसकेको छ । 

छुटाउनु भयो कि

जनताको जलविद्युत : कसरी किन्ने सर्वसाधारणले सेयर ?

जनताको जलविद्युत : माथिल्लो त्रिशुली थ्रि बी को सेयर किन्दा कति फाइदा ?

जनताको जलविद्युत : पहिलो दिनमै दोब्बर बढीको आवेदन,६ करोड संकलन

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर