• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

श्रीलंकाको 'रिफाइनरी'का लागि चार अर्ब वैदेशिक लगानी भित्रियो

हमबनटोटा । श्रीलंकामा करिब चार अर्ब अमेरिकी डलरको प्रत्यक्ष बैदेशिक लगानीमा एउटा इन्धन प्रशोधन कारखाना (रिफाइनरी) निर्माण गरिने भएको छ । 

चीनको आर्थिक सहयोगमा निर्माण भएको विवादास्पद हमबनटोटा बन्दरगाह नजिकै उक्त रिफाइनरी स्थापना हुन लागेको हो । 

श्रीलंकाली अधिकारीहरुले रिफाइनरीको स्थापनाले हमबनटोटा बन्दरगाह र यस वरपर आर्थिक चहलपहल बढ्ने अपेक्षा गरेका छन् । चिनियाँ ऋण सहयोगमा निर्मित हमबनटोटा बन्दरगाहको सञ्चालनमा श्रीलंकामा वित्तीय विवाद उत्पन्न भएपछि उक्त बन्दरगाह ९९ वर्षका लागि चीनलाई नै लिजमा दिइएको छ । 

प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले रिफाइनरी प्लान्ट निर्माणको शिलान्यास गर्दै हमबनटोटा क्षेत्र विश्वकै लागि लगानीको महत्वपूर्ण केन्द्र हुन सक्ने विश्वास व्यक्त गरे । 

श्रीलंकाको इतिहासमै यो सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी हो । यो कम्पनी ओमान सरकार र सिंगापुरमा दर्ता भएको सिल्भर पार्क इन्टरनेसनलले संयुक्त प्रबद्र्धन हो । यस कम्पनीको स्वामित्व भारतीय परिवारमा रहेको बताइन्छ । 

शिलान्यास समारोहमा प्रधानमन्त्री विक्रमासिङ्घेले भने, ‘ओमान सरकारले देखाएको अभिरुचि तथा विश्वका अरु भागका धेरै लगानीकर्ताले देखाएको रुचिले हमबनटोटा एउटा अन्तर्राष्ट्रिय लगानीको महत्वपूर्ण क्षेत्रका रुपमा स्थापित हुने सम्भावना बढाएको छ ।’

सो अवसरमा उहाँले तीन महिनाभित्रै भारतीय उड्डयन निकायसँग एउटा सम्झौता हुन लागेको पनि जानकारी दिए । उक्त सम्झौता बमोजिम करिब २१ करोड अमेरिकी डलरको भारतीय लगानीमा हमबनटोटा विमानस्थलको पुनर्निर्माण हुन लागेको छ । यस विमानस्थलमा हाल अति झिनो संख्यामा मात्र अन्तर्राष्ट्रिय उडान हुने गरेको छ । 

बन्दरगाह नजिक तेल भण्डारण ट्याँकर दुई वर्षभित्रै निर्माण भइसक्ने छ भने रिफाइनरीको निर्माण सन् २०२३ भित्रै सम्पन्न हुनेछ । 

श्रीलंकाको दोस्रो यो रिफाइनरी पूर्ण सञ्चालनमा आएमा वार्षिक करिब ९० लाख टन प्रशोधित पेट्रोलियम पदार्थ निकासी गर्न सकिने छ । श्रीलंकामा आफ्नै तेलकुवा छैनन् । श्रीलंकामा अन्यत्रबाट कच्चा तेल ल्याइन्छ, तर अहिलेको रिफाइनरी मुलुकको आवश्यकता धान्न अपर्याप्त छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर