नाबालिगकाे अवैध डिम्ब काराेबारः डा. नुतन शर्मा जमानीमा रिहा
काठमाडाैं । अवैध रूपमा १६ वर्षीया नाबालिगको डिम्ब कारोबारमा संलग्न वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं टेस्ट–ट्युब बेबी (आइभिएफ) विशेषज्ञ डा. नूतन शर्मालाई प्रहरीमा हाजिर भएलगत्तै सरकारी वकिलकहाँ पुर्याएर सोही दिन बयानसमेत सकेर हाजिरजमानीमा रिहा गरिएको छ । प्रहरीका अनुसार डा. नूतन बिहीबार (२१ साउन) जिल्ला प्रहरी परिसर ललितपुरमा हाजिर भएकी थिइन् । लगत्तै जिल्ला सरकारी वकिल कार्यालय लगिएकोमा तत्कालै बयान सकाएर हाजिरजमानीमा छाड्ने अनुमति दिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय ललितपुरका न्यायाधिवक्ता गणेश पौडेलले डा. नूतन हाजिरजमानीमा छुटेको बताए । ‘डिम्ब कारोबारमा संलग्न डा. नूतन प्रहरी कार्यालयमा आफैँ हाजिर भएकी रहिछन् । उनलाई बयानका लागि प्रहरीले हामीकहाँ लिएर आयो । बयान लिएर उनलाई हाजिरजमानीमा छाडिएको छ,’ उनले भने, ‘अदालतले पक्राउ पुर्जी जारी नगरेकाले हाजिरजमानीमा छाड्ने निर्णय भएको हो ।’
वकिल कार्यालयले डा. नूतनसँगै डिम्बको अवैध कारोबारमा बिचौलियाको भूमिका खेल्ने तनहुँकी राधिका गोतामेलाई पनि केही दिनको थुनापछि हाजिरजमानीमा छाड्ने निर्णय गरेको थियो । दुवैविरुद्ध ललितपुर प्रहरीले मानव बेचबिखनविरुद्धको कसुरअन्तर्गत अनुसन्धान अघि बढाएको थियो । तर, अदालतबाटै पक्राउ पुर्जी जारी नभएपछि गम्भीर कसुरमा संलग्न डा. नूतनसहितका अभियुक्तविरुद्ध कारबाही अघि बढ्न सकेन । यद्यपि, अनुसन्धान जारी नै रहने जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रले बताए । ‘घटनाको अनुसन्धान रोकिँदैन, अहिले पनि अनुसन्धान भइरहेकै छ,’ उनले भने ।
सरकारी वकिल कार्यालयका अनुसार डा. नूतनले बिचौलिया राधिकासँगको आर्थिक कारोबार भने स्वीकार गरेकी छिन् । तर, नाबालिगको अवैध डिम्ब कारोबारमा भने संलग्न नभएको उनको बयान छ । प्रहरी स्रोतले भन्यो, ‘डा. नूतनले बिचौलिया राधिकासँगको आर्थिक कारोबार स्वीकार गरेकी छिन् ।
अवैध रूपमा नाबालिगको डिम्ब कारोबारमा संलग्न डा. शर्मा र गोतामेबिच आर्थिक कारोबार हुने गरेको उनीहरूबिच आदानप्रदान भएको ह्वाट्स एप म्यासेजले पुष्टि गरेको छ । प्राप्त सन्देशअनुसार डा. शर्माले गोतामेलाई ५० हजार रुपैयाँ मोबाइल बैंकिङमार्फत पठाएको देखिन्छ । डा. शर्माले उक्त रकम २५ डिसेम्बर ०२५ को साँझ ६ः३१ मा गोतामेको बैंक खातामा मोबाइल बैंकिङमार्फत पठाएको देखिन्छ । त्यस्तै, २२ डिसेम्बर ०२५ को साँझ ७ः५८ मा पनि डा. शर्माले गोतामेको बैंक खातामा ५० हजार नै पठाएको देखिन्छ ।
डा. नूतनको ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा आइभिएफ सेन्टर छ । सोही सेन्टरमा उनले गत १४ असारमा नाबालिकालाई आर्थिक प्रलोभनमा पारी डिम्ब दिनका लागि राजी गराएकी थिइन् । नयाँ पत्रिकाबाट







प्रतिकृया दिनुहोस