पाल्पामा जिप दुर्घटना: १० घाइते
बुटवल । पाल्पामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान तिनाउ गाउँपालिका–४, चिउरीडाँडास्थित झुम्सा–सत्यवती सडकखण्डमा बुटवलतर्फ जाँदै गरेको लु.१ ज २२३७ नम्बरको मुस्ताङ जिप दुर्घटना हुँदा उनीहरू घाइते भएका हुन् ।
दुर्घटनामा तिनाउ–३, सत्यवतीका ३६ वर्षीय खुमबहादुर दिसुवा, स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ का १० वर्षीय सन्तोष रेश्मी र तिनाउ–३, सत्यवतीका ५१ वर्षीय नरसिंह दिसुवा घाइते भए । यस्तै, सोही स्थानकी ३६ वर्षीया शर्मिला दिसुवा, रुपन्देहीको बुटवल उपमहानगरपालिका–१८ का ३६ वर्षीय दुर्गा थापा, सोही स्थानका चार वर्षीय डेनिस थापा र माथागढी गाउँपालिका–५ का ४१ वर्षीय मनबहादुर गाहा घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार दुर्घटनामा बुटवल उपमहानगरपालिका–१८ की ३६ वर्षीया सपना राना, जिप चालक माथागढी गाउँपालिका–५ का ३९ वर्षीय देवकुमार घर्ती र स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ का भुवनसिंह रेश्मी पनि घाइते भए ।
घाइतेमध्ये चार वर्षीय डेनिस थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबैको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।







प्रतिकृया दिनुहोस