• २०८३ श्रावण २७ बुधबार
  • Wednesday, 12 August, 2026

आज खग्रास सूर्यग्रहण लाग्दै, नेपालमा देखिन्छ ?

एजेन्सी । आज अर्थात् १२ अगस्ट २०२६ मा दुर्लभ खग्रास सूर्यग्रहण लाग्दैछ। यो ग्रहणको पूर्ण स्वरूप ग्रिनल्यान्ड, आइसल्यान्ड, उत्तरी रुस, आन्ध्र महासागर, स्पेन तथा पोर्चुगलको सानो भूभागबाट देखिनेछ। 

तर नेपालसहित दक्षिण एसिया र एसियाका अधिकांश भागबाट भने यो खगोलीय घटना देखिने छैन। नासाका अनुसार यो सन् १९९९ पछि मुख्य भूमि युरोपमा देखिने पहिलो पूर्ण सूर्यग्रहण हो। पूर्ण खग्रास ग्रहणको मार्गमा करिब १ करोड ५० लाख मानिस पर्ने अनुमान छ। त्यस्तै, उत्तरी गोलार्धका अन्य धेरै स्थानबाट आंशिक ग्रहण देखिने भएकाले करिब ९८ करोड मानिसले सूर्यको केही भाग चन्द्रमाले ढाकेको दृश्य अवलोकन गर्न सक्नेछन्।

कहाँबाट सुरु हुन्छ यो ग्रहण ?
आज चन्द्रमाको छाया उत्तरी रुसबाट अघि बढ्दै ग्रिनल्यान्ड, आइसल्यान्ड र उत्तर आन्ध्र महासागर हुँदै युरोपतर्फ सर्नेछ र पूर्ण ग्रहण स्पेनसम्म पुग्नेछ।

पूर्ण ग्रहणको चरणमा चन्द्रमाले सूर्यको उज्यालो भागलाई पूर्ण रूपमा ढाक्नेछ। नासाका अनुसार अधिकांश स्थानमा पूर्ण ग्रहण देखिने अवधि दुई मिनेटभन्दा कम हुनेछ। तर, केही स्थानमा यो अवधि दुई मिनेटभन्दा केही बढी रहन सक्छ।

स्पेनका लियोन, जारागोजा र भ्यालेन्सियालगायतका सहरबाट पूर्ण ग्रहण देखिनेछ। उदाहरणका लागि, लियोनमा स्थानीय समयअनुसार साँझ ८:२८ बजे पूर्ण ग्रहण सुरु भई करिब दुई मिनेट रहने नासाको विवरण छ। आइसल्यान्डको रेक्जाभिकमा भने पूर्ण ग्रहण साँझ करिब ५:४८ बजे सुरु हुनेछ।

नेपाल र एसियाबाट किन देखिँदैन ?
यति ठूलो खगोलीय घटना नेपाल र एसियाबाट किन देखिँदैन? किनकि, सूर्यग्रहण पृथ्वीको सबै स्थानबाट देखिने घटना होइन। सूर्य, चन्द्रमा र पृथ्वी एक निश्चित ज्यामितीय अवस्थामा आउँदा चन्द्रमाले सूर्यको प्रकाश छेक्छ र यसको छाया पृथ्वीको सीमित भूभागमा मात्र पर्छ।

१२ अगस्टको ग्रहणमा चन्द्रमाको ‘उम्ब्रा’ अर्थात् पूर्ण छाया उत्तरी गोलार्धको उच्च अक्षांश हुँदै जानेछ। नासाको ग्रहण नक्साङ्कनमा पूर्ण ग्रहणको बाटो उत्तरी रुस, ग्रिनल्यान्ड, आइसल्यान्ड हुँदै उत्तर आन्ध्र महासागर र स्पेनसम्म फैलिएको देखिन्छ। त्यसको बाहिर पर्ने क्षेत्रमा आंशिक ग्रहण (खण्डग्रहण) मात्र सम्भव हुन्छ।

नेपाल भने उक्त छायाको क्षेत्रमा पर्दैन। त्यसैले देशका कुनै पनि स्थानबाट आजको सूर्यग्रहण देखिने छैन। भारतबाट पनि ग्रहण देखिने छैन। भारतीय सञ्चारमाध्यमहरूले समेत अगस्ट १२ को सूर्यग्रहण भारतबाट नदेखिने र यसको सुतक/प्रभाव बार्न नपर्ने जनाएका छन्।

युरोपका लागि ऐतिहासिक दृश्य
खग्रास ग्रहणको मुख्य आकर्षण स्पेनमा हुनेछ। उत्तरी र पूर्वी स्पेनका विभिन्न सहर पूर्ण ग्रहणको मार्गमा पर्ने भएकाले हजारौं मानिस ग्रहण अवलोकनका लागि विशेष तयारीमा छन्।
स्पेनका म्याड्रिड र बार्सिलोना भने पूर्ण ग्रहणको मुख्य क्षेत्रभन्दा बाहिर छन्। यद्यपि, त्यहाँ सूर्यको ९९ प्रतिशतभन्दा बढी भाग चन्द्रमाले ढाक्ने अपेक्षा गरिएको छ।

युरोपका अन्य सहरबाट पनि आंशिक ग्रहण देखिनेछ। पेरिस, लन्डन र बर्लिनमा क्रमशः सूर्यको करिब ९२, ९१ र ८५ प्रतिशत भाग ढाकिने अनुमान गरिएको छ। तर पूर्वी युरोपका धेरै ठाउँमा ग्रहणको अधिकतम चरण आउनुअघि नै सूर्य अस्ताउने भएकाले खग्रास दृश्य नदेखिन पनि सक्छ।

उत्तर अमेरिकामा पनि आंशिक ग्रहण
उत्तर अमेरिकाका केही भागबाट पनि आंशिक ग्रहण देखिनेछ। अलास्का र क्यानडाका केही क्षेत्रमा सूर्यको उल्लेख्य भाग ढाकिनेछ। क्यानडाको उत्तरपूर्वी सेन्ट जोन्समा करिब ५३ प्रतिशत सूर्य ढाकिनेछ भने मोन्ट्रियलमा करिब १८ प्रतिशत र टोरोन्टोमा करिब ८ प्रतिशत मात्र ढाकिनेछ।

अमेरिकामा अलास्काका केही क्षेत्रमा करिब ३७ प्रतिशतसम्म सूर्य ढाकिन सक्छ। देशका अन्य भागमा भने ग्रहणको प्रभाव निकै कम हुनेछ। नासाका अनुसार उत्तरी अमेरिकामा ग्रहण बिहानदेखि दिउँसोसम्म देखिनेछ भने युरोप र अफ्रिकामा साँझतिर देखिनेछ।

आखिर सूर्यग्रहण हुन्छ कसरी ?
सूर्यग्रहण त्यतिबेला हुन्छ, जब चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आउँछ र सूर्यको प्रकाशलाई केही समयका लागि छेकिदिन्छ। यसका मुख्य चार प्रकार छन्:

आंशिक सूर्यग्रहण: चन्द्रमाले सूर्यको केही भाग मात्र ढाक्छ।
खग्रास वा पूर्ण सूर्यग्रहण : चन्द्रमाले सूर्यको उज्यालो भाग पूर्ण रूपमा ढाक्छ। केही समयका लागि दिनको उज्यालो साँझजस्तो देखिन्छ र सूर्यको बाहिरी वायुमण्डल '‘कोरोना’ देख्न सकिन्छ।
वलयाकार सूर्यग्रहण : चन्द्रमा पृथ्वीबाट तुलनात्मक रूपमा टाढा हुँदा सूर्यलाई पूर्ण रूपमा ढाक्न सक्दैन र सूर्यको वरिपरि उज्यालो घेरा (रिङ) देखिन्छ।
मिश्रित वा हाइब्रिड सूर्यग्रहण : यो अत्यन्त दुर्लभ प्रकार हो, जसमा ग्रहणको फरक-फरक स्थानमा पूर्ण र वलयाकार दुवै स्वरूप देखिन सक्छ।
पूर्ण सूर्यग्रहण सम्भव हुनुको एउटा रोचक कारण सूर्य र चन्द्रमाको देखिने आकार हो। सूर्य चन्द्रमाभन्दा करिब ४०० गुणा ठूलो भए पनि पृथ्वीबाट करिब ४०० गुणा टाढा भएकाले आकाशमा दुवैको कोणीय आकार लगभग उस्तै देखिन्छ।

सूर्यग्रहण कति पटक लाग्छ ?
नासाका अनुसार पृथ्वीमा प्रत्येक वर्ष दुईदेखि पाँचवटासम्म सूर्यग्रहण हुन सक्छन्। तीमध्ये आंशिक, वलयाकार, पूर्ण र हाइब्रिड सबै प्रकारका ग्रहण पर्छन्। तर पूर्ण सूर्यग्रहण तुलनात्मक रूपमा दुर्लभ हुन्छ। कुनै निश्चित स्थानबाट पूर्ण सूर्यग्रहण देखिनु अझै दुर्लभ घटना हो, किनकि पूर्णताको साँघुरो पट्टी पृथ्वीको सीमित भूभागबाट मात्र पार हुन्छ।

नाङ्गो आँखाले हेर्न मिल्छ ?
मिल्दैन। ग्रहणको आंशिक चरणमा नाङ्गो आँखाले सूर्यतर्फ हेर्नु आँखाका लागि अत्यन्त जोखिमपूर्ण हुन्छ। नासाका अनुसार आंशिक ग्रहण हेर्दा प्रमाणित सौर्य अवलोकन चस्मा वा सुरक्षित सौर्य फिल्टर प्रयोग गर्नुपर्छ। साधारण सनग्लासले पर्याप्त सुरक्षा दिँदैन। खग्रास सूर्यग्रहणमा पूर्ण ग्रहणको केही क्षणमा मात्र (चन्द्रमाले सूर्यको उज्यालो सतह पूर्ण रूपमा ढाकेको अवस्थामा) विशेष सुरक्षाबिना हेर्न सकिन्छ। तर पूर्णता समाप्त हुनुअघि र पछि फेरि सुरक्षित सौर्य प्रकाशको फिल्टर आवश्यक हुन्छ।

नेपालबाट कसरी हेर्ने ?
नेपालबाट प्रत्यक्ष सूर्यग्रहण देखिने छैन। त्यसैले नेपाली आकाश निरीक्षकहरूले नासालगायतका विश्वसनीय अन्तरिक्ष तथा खगोलीय संस्थाका अनलाइन प्रत्यक्ष प्रसारणमार्फत ग्रहणको पूर्ण चरण हेर्न सक्छन्।

अर्को खग्रास सूर्यग्रहण कहिले लाग्छ ?
आजको ग्रहणपछि अर्को महत्त्वपूर्ण पूर्ण सूर्यग्रहण २ अगस्ट २०२७ मा हुनेछ। त्यसको पूर्णताको मार्ग दक्षिणी स्पेन, उत्तर अफ्रिका, साउदी अरब र यमनसम्म फैलिनेछ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर