• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

गण्डकी मेडिकलका अध्यक्ष अर्यालसहित फरार सञ्चालकलाई पक्रन सिआईबी परिचालन

पोखरा । गण्डकी मेडिकल कलेजका फरार रहेका अध्यक्ष खुमा अर्यालसहित ९ जनालाई पक्राउ गर्न कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोसँग सहयोग मागेको छ । ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाहीले फरार व्यक्तिको खोजीमा सहयोग गर्न कास्की प्रहरीले पत्र पठाएपछि टोली परिचालन गरिएको बताए ।

एमबिबिएस र नर्सिङ कार्यक्रममा अध्ययनरत विद्यार्थीले गैरकानुनी रूपमा करोडौं रकम उठाएको भन्दै अध्यक्ष अर्यालसहित ११ जनाविरुद्ध कास्की प्रहरीमा मुद्दा दर्ता गराएका थिए। तीमध्ये मेडिकल कलेजका प्रमुख कार्यकारी सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ । कलेजले झन्डै ५० करोड रूपैयाँ ठगी गरेको विद्यार्थीहरुको दाबी छ ।

कास्कीका प्रहरी उपरीक्षक ओम रानाका अनुसार अहिलेसम्म उक्त मेडिकल कलेजले ५३ करोडभन्दा बढी अवैध रूपमा उठाएको प्रारम्भिक रिपोर्ट छ । यो प्रकरणमा गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याललाई प्रमुख प्रतिवादी बनाइएको छ ।

त्यस्तै, प्रिन्सिपल रविन्द्रप्रसाद श्रेष्ठ, लेखा प्रमुख युवराज शर्मा, लेखा शाखाकै विश्वराज घिमिरे, हरिमाया पौडेल, स्टोर किपर कृष्ण पौडेल, काठमाडौंस्थित कार्यालयबाट विद्यार्थी भर्नामा काम गर्ने तिलक पौडेल, कर्मचारी कृष्ण घिमिरे र दिनेश पौडेलमाथि मुद्दा छ। उनीहरु विरुद्ध फागुन २२ गते नै पक्राउ पूर्जी जारी भईसकेको छ । अतिरिक्त शुल्क फिर्ता, शुल्कको बिल, भौचर दिनुपर्ने लगायत चारबुँदे माग राखेर कलेजका पाँच सय विद्यार्थी लामो समयदेखि आन्दोलनमा थिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर