देउवा पक्षले पास गरे ५ प्रतिवेदन, अदालतकाे फैसला कुर्ने
काठमाडाैं । नेपाली कांग्रेसको संस्थापन इतर (निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला)समूहले राजधानीमा गरिरहेका राष्ट्रिय भेलामा प्रस्तुत ५ प्रतिवेदन परिमार्जनसहित पारित भएका छन् ।
गत शुक्रबारबाट काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा जारी राष्ट्रिय भेलामा शनिबार ५ प्रतिवेदनहरू प्रस्तुत भएका थिए ।
इतर समूहले पार्टीलाई फुटबाट जोगाउने निष्कर्षमा पुगेको छ। तर, इतर समूहले सर्वोच्च अदालतको फैसला कुर्ने रणनीति बनाएको छ।
कांग्रेसको आधिकारिकता विवादमा यसअघिको फैसला पुनरावलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको थियो। पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले फैसला पुनरावलोकनको माग गर्दै छुट्टाछुट्टै निवेदन दिएका थिए।
वैशाख ४ गते न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले गरेको आदेश स्थापित नजिर तथा कानुनी सिद्धान्त एवं प्रचलित कानुनसमेतको प्रतिकूल रहेको दाबी देउवा पक्षको छ। सर्वोच्चको फैसलालले हौसिएको देउवापक्षीय राष्ट्रिय भेलामा प्रस्तुत विभिन्न प्रतिवेदनहरूले पार्टीभित्रको गुटगत विवाद अन्त्य गर्दै संगठनात्मक पुनर्संरचना, आर्थिक रूपान्तरण र लोकतान्त्रिक संस्कारमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजन वा नयाँ दल गठनको पक्षमा नरहेको स्पष्ट पारे।
उनले जनताको चाहना र बदलिँदो परिस्थितिअनुसार कांग्रेसलाई समयसापेक्ष रूपमा परिमार्जन गर्दै लैजानुपर्ने बताए। ‘म पार्टी फुट्ने वा नयाँ पार्टी खोल्ने पक्षमा बिल्कुलै छैन। जनताको चाहनाअनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ।’ उनले पार्टीभित्र देखिन सक्ने असमझदारी संवाद र समझदारीबाट समाधान गर्न सकिने बताए। आगामी महाधिवेशनमा सभापति पदका लागि आफू इच्छुक रहेको संकेत गर्दै उनले नेता डा. शेखर कोइराला नेतृत्वका लागि अघि बढे आफूले सहयोग गर्ने धारणा पनि राखे।
विभाजन होइन, संस्थागत पुनर्निर्माण
राष्ट्रिय भेलालाई सम्मेलनमा रूपान्तरण गरेर प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा कांग्रेस इतिहासकै जटिल मोडमा पुगेको निष्कर्ष निकालिएको छ। पूर्वउपसभापति विमलेन्द्र निधिले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीभित्रको असहमति तत्काल समाधान गर्न नसके कांग्रेस दुर्घटनातर्फ जान सक्ने चेतावनी दिइएको छ।
प्रतिवेदनले विगतमा कांग्रेसले विभिन्न राजनीतिक संकट संवाद र समझदारीबाट समाधान गर्दै पार्टी एकता कायम राखेको इतिहास स्मरण गर्दै अहिले पनि त्यही बाटो अवलम्बन गर्नुपर्नेमा जोड दिएको छ। निधिले पार्टीको पछिल्लो आन्तरिक विवाद, विशेष महाधिवेशन र नेतृत्वसम्बन्धी विवादलाई गम्भीर राजनीतिक संकटका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार नेतृत्व परिवर्तनभन्दा पनि राजनीतिक संस्कार र पार्टी सञ्चालनको शैली परिवर्तन अहिलेको आवश्यकता हो। पार्टीको विधानसम्मत सञ्चालन, आन्तरिक लोकतन्त्रको संरक्षण र असहमतिको सम्मान नगरे कांग्रेस थप कमजोर हुने प्रतिवेदनको निष्कर्ष छ।
कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलाले प्रस्तुत गरेका राजनीतिक, आर्थिक–सामाजिक, सांगठनिक र समसामयिक प्रतिवेदनले एउटै सन्देश दिन खोजेका छन्। कांग्रेसलाई केवल नेतृत्व परिवर्तनबाट होइन, नीति, संगठन र राजनीतिक संस्कार परिवर्तनबाट पुनर्निर्माण गर्नुपर्ने बताएका छन्।
पार्टी विभाजनको पक्षमा नरहेको शशांक कोइरालाको अभिव्यक्ति, संवादबाट विवाद समाधान गर्नुपर्ने निधिको प्रस्ताव तथा आर्थिक र संगठनात्मक रूपान्तरणका महत र लेखकका अवधारणाले कांग्रेसभित्र नयाँ राजनीतिक समीकरण निर्माणको सम्भावनातर्फ केन्द्रित भएको देखिन्छ।






प्रतिकृया दिनुहोस