• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

नेपाल र जापानबीच आज श्रम सम्झौता हुँदै

काठमाडौं । नेपाल र जापानबीच आज श्रम सम्झौता हुने भएको छ । कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी’ (एमओसी) मा दुई देशबीच हस्ताक्षर हुन लागेको हो ।

दुई देशबीच दिउँसो १२ बजे होटल हिमालय, कुपन्डोलमा एक कार्यक्रमबीच हस्ताक्षर हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । जापानले कृषि, मत्स्यपालन, औद्योगिक, होटल, रेष्टुरेन्ट, पर्यटन लगायत १४ क्षेत्रमा नेपाल लगायतका नौ देशका श्रमिक लैजाने नीति लिएकोमा नेपालसँग श्रम सम्झौता गर्न थालेको हो ।

नेपाली कामदारलाई कुन क्षेत्रमा लैजाने भन्ने विषय सम्जौतापछि मात्रै टूंगो लाग्न श्रम मन्त्रालयका प्रतिनिधिहरुले बताएका छन् । जापानको रोजगारीका लागि १८ वर्षमा माथिका युवा युवती मात्रै योग्य हुने व्यवस्था छ । श्रम तथा रोजगार मन्त्रालयले जापानसँग मार्च महिनाभित्रै एमओसीमा हस्ताक्षर गर्ने योजना बनाएको थियो ।

त्यसैअनुसार सहमति जुटेको मस्यौदालाई मन्त्रिपरिषदले पारित गरेर सचिव महेश दहाललाई सम्झौता गर्ने जिम्मेवारी दिएको छ । यो समझदारीपछि नेपालबाट जापानमा कामदार पठाउने प्रक्रिया थालनी हुनेछ । यसका लागि जापान पठाउन श्रम मन्त्रालय अन्तरगत छुट्टै इकाई खडा हुनेछ । 

कामदार आपूर्तिका लागि सरकारीस्तरबाटै संयन्त्र खडा गरेर जापानमा दुवै देश सहमत भएका छन् । अब म्यानपावर व्यवसायी जापानमा कामदार पठाउने प्रक्रियाबाट अलग हुनेछन् । नेपालले नेपाली कामदारहरुलाई रोजगारीका लागि जापान लैजान लबिङ गर्दै आएको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर