काठमाडौंमा कुन बस कहाँ कतिबेला आईपुग्छ, अब हेर्नुस मोबाइल एपमा

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको अवस्थाबारे जानकारी लिन सकिने ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ मोबाइल एप्लिकेसन सुरु गरिएको छ। उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधन कुन ठाउँमा छन् र आफूले पर्खिएको स्थानमा आइपुग्न कति समय लाग्छ भन्ने जानकारी एपमार्फत लिन सकिनेछ।

बुधबार संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को तेस्रो बैठकमा परिषद्का अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले एप्लिकेसन सार्वजनिक गरेकी हुन्। एपमार्फत जीपीएस जडान भएका करिब १ हजार २ सय सवारी साधनको जानकारी लिन सकिनेछ। संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणले आगामी दिनमा यसको दायरा विस्तार गर्ने योजना बनाएको छ।

बैठकमा अध्यक्ष डंगोलले उपत्यकाभित्रको सार्वजनिक यातायात प्रणालीलाई सरल, सहज र पहुँचयुक्त बनाउन स्थानीय तहबीच वित्तीय साझेदारीसहित काम गर्नुपर्ने बताइन्। रात्रिकालीन सेवा विस्तार गर्नुका साथै विद्यार्थीका लागि बिहान सबेरैदेखि सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो। ‘सार्वजनिक यातायात कुनै एक पालिकाको सीमाभित्र मात्र राख्न मिल्ने क्षेत्र होइन। पालिका–पालिका जोडिने भएकाले यो सबै पालिकाको साझा सवाल हो,’ उनले भनिन्।

परिषद्का उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक बस चढ्ने यात्रुले सहज भएको महसुस गर्ने प्रणाली आवश्यक रहेको बताए। सार्वजनिक यातायात सुधारका लागि परिषद्ले महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ थियो। बैठकमा प्राधिकरणका कार्यकारी अधिकृत कुबेर नेपालीले अघिल्लो वर्ष सरकारले खारेजीको सूचीमा राखेका कारण अगाडि बढाउन खोजिएका काम रोकिएको बताए।

यस वर्ष बस स्टप र पिक–ड्रप प्वाइन्ट निर्धारण, रात्रि बस सञ्चालनका लागि सर्त र सम्झौताको मोडल तयार गर्ने, नगरपालिकासँग सहकार्य गर्ने, मुख्य बस स्टप तथा बसपार्कमा जीपीएस ट्र्याकिङका आधारमा सार्वजनिक यातायात सूचना प्रणाली जडान गर्ने र नगदरहित भाडा प्रणालीका लागि कानुनी पूर्वाधार तयार गर्ने योजना रहेको छ।

टिकट लिने संस्कार प्रोत्साहन गर्न अभियान सञ्चालन गर्नुका साथै अध्ययन तथा अनुसन्धानका कार्यक्रम सञ्चालन गर्ने पनि निर्णय भएको छ। ऐनअनुसार हरेक प्रदेशमा एक–एक र संघीय राजधानीमा एउटा गरी आठवटा सार्वजनिक यातायात प्राधिकरण रहने व्यवस्था छ। संघीय राजधानी प्राधिकरणको काम सञ्चालन, रेखदेख तथा व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाका प्रमुखको अध्यक्षतामा संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद् रहने व्यवस्था छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर