कोशीमा कार्कीले पाए चौथो पटक विश्वासको मत, सकेनन् ओलीले हटाउन

विराटनगर । आफ्नै पार्टीका अध्यक्ष केपी ओलीले हटाउने प्रयास गरेपनि असफल भएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चौथोपटक विश्वासको मत पाएका छन् । 

सोमबार बसेको कोशी प्रदेश सभाको नवौँ अधिवेशनको २६औँ बैठकबाट संविधानको धारा १६८ को उपधारा ४ बमोजिम तथा प्रदेश सभाको नियमावली २०७४ को नियम १२८ बमोजिम मुख्यमन्त्री कार्कीले चौथोपटक विश्वासको मत लिएका हुन्।

मुख्यमन्त्री कार्कीलाई गठबन्धनमा सहभागी एमाले र नेकपाका जम्मा ५७ जना सांसदले विश्वासको मत दिए। विपक्षमा २२ जना सांसदले मतदान गर्दा चारजना तटस्थ बसे। मतदान प्रक्रियामा कोशी प्रदेश सभाका ९२ सांसदमध्ये ८३ जना सहभागी भएका थिए।

मुख्य विपक्षी दल कांग्रेसका सांसदले मुख्यमन्त्री कार्कीको विपक्षमा मतदान गरे। विपक्षी दलहरू राप्रपा र जसपाका सांसद तटस्थ बसे। ९२ सांसद रहेको कोशी प्रदेश सभामा एमालेको उपसभामुखसहित ४०, कांग्रेसको २९, नेकपाको १७, राप्रपाको सभामुखसहित पाँच र जसपाको एक सांसद छन्।

केन्द्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच ९ साउनमा भएको तीनबुँदे सहमतिअनुसार १ भदौमा कोशी  प्रदेशमा बनेको नयाँ गठबन्धन सरकारमा नेकपाका पाँचजना मन्त्रीले शपथ लिएका थिए। त्यसअघि नै सरकारलाई दिएको सर्मथन फिर्ता लिएको पुरानो गठबन्धनमा रहेको दल नेपाली कांग्रेसले ३ भदौमा मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश सभा सचिवालयमा दर्ता गराएको थियो।

यसैले कांग्रेस सत्ताबाट बाहिरिएपछि एमाले र नेकपा गठबन्धनको सरकारमा पनि निरन्तरतता पाएका मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट पुनः विश्वासको मत लिनुपरेको हो। कार्कीले २९ पुस ०७९ मा पहिलोपटक, ३१ वैसाख २०८१ मा दोस्रोपटक र २ असोज २०८१ मा तेस्रोपटक विश्वासको मत लिएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर