संविधान दिवसमा प्रधानमन्त्री बालेनले भनेः संविधानको अक्षर र भावना दुवै पालना गर्छौं
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संविधान सभाले बनाएको संविधानको अक्षर र भावना दुवै पालना गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । संविधान दिवसका दिन आज काठमाडौंको टुंडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले भने,'जनताले सुशासन मागेका छन् , विकास मागेका छन् , समृद्धि र सामाजिक न्याय मागेका छन्। यो सरकारको हरेक कदम त्यही आकांक्षातर्फ केन्द्रित छ र रहनेछ। यो संविधानप्रतिको निष्ठा र यसको पालनामा हामी पूर्ण प्रतिबद्ध छौँ - म यो वाचा आज फेरि दोहोर्याउँछु।
शहीदहरूको रगतले लेखेको संविधान , हामी कामले पूरा गर्छौँ।'
प्रधानमन्त्रीकाे मन्तव्यकाे पूर्ण पाठः
स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू ।
नेपालको राजनीतिक व्यवस्थाको परिवर्तन र सुशासनको माग गरी गरिएका आन्दोलनमा आफ्नो ज्यान आहुती गर्ने सम्पूर्ण ज्ञात -अज्ञात शहीदहरू तथा ऐतिहासिक जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुभएका जेनजी सुशासन योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । साथै, हालै आएको रसुवा -भोटेकोशी बाढीमा परी मृत्यु भएका सबै स्वदेशी तथा विदेशी नागरिकप्रति समेत श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवदेना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
यो संविधानले नेपाली जनतासँग एउटा वाचा गरेको छ - विविधताबीचको एकता , सबै प्रकारका विभेद र असमानताको अन्त्य र विकास , समृद्धि एवम् सामाजिक न्यायका आधारमा समतामूलक समाजको निर्माण। प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र , मानव अधिकार र कानूनी राज्य - यी हाम्रा लागि सर्तहरू होइनन् , यी हाम्रो राष्ट्रिय जीवनको आधार हुन्। यो संविधानको अक्षर र भावना , दुवैप्रति यो सरकार पूर्णरूपमा प्रतिबद्ध छ।
तर एउटा कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन। संविधान जति राम्रो भए पनि , त्यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील भएनन् भने त्यो कागजको खोस्टो बन्छ।
म प्रस्ट भन्छु: यो सुरुवात हो , अन्त्य होइन। भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ। तर त्यो जरो उखेल्ने हातहरू अब झन् बलिया छन् , झन् धेरै छन्। विकासको लागि सुशासन अनिवार्य पूर्वसर्त हो भन्ने कुरामा सरकार सचेत छ। वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण , भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्ति प्रक्रिया अवलम्बन गरेको छ। सुशासन नारा होइन , काम हो। र हामी काम गरिरहेका छौ। संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न संघीय सरकार प्रतिबद्ध छ।
र हामी पुरानै बाटो मात्र हिँड्ने छैनौँ। कृत्रिम बुद्धिमत्ता , डिजिटल प्रविधि र साइबर सुरक्षालाई सँगै लिएर , नवप्रवर्तन र स्टार्टअपलाई अगाडि राखेर हामी ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्दैछौँ। डिजिटल सुशासन ब्लुप्रिन्टअनुसारको राष्ट्रिय डिजिटल पूर्वाधार त्यसैको जग हो। युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट पनि सुनिश्चित गर्छौँ।
हालैको रसुवा -भोटेकोशी बाढीले पुर्याएको क्षति हाम्रा लागि अकल्पनीय र अपुरणीय रह्यो । आजको यस विशेष घडीमा विपद् उद्धार कार्यमा सहयोग गर्ने तथा राहत कार्यमा योगदान पुर्याउने सबै मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय समुदाय एवम् संघसंस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारीहरू, आम नागरिक तथा देशवासीहरूप्रति विशेष धन्यवाद र आभार प्रकट गर्दछु। तर धन्यवाद मात्र पर्याप्त छैन। नेपाल विश्वका उच्च विपद् जोखिम भएका मुलुकहरूको सूचीमा छ। यो तथ्यलाई हामी विपद् आइसकेपछि होइन , आउनुअघि नै सामना गर्छौँ। जोखिम न्यूनीकरण , पूर्वतयारी र प्रतिकार्यमा विशेष जोड दिइनेछ। विपद्को पूर्वसूचना प्रणाली सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइनेछ।
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू ,
संविधान जारी भएको दिन हरेक वर्ष आउँछ। तर संविधान पूरा हुने दिन हामीले आफैँ ल्याउनुपर्छ - हरेक इमानदार निर्णयबाट , हरेक पारदर्शी नियुक्तिबाट , नागरिकको घरदैलोमा पुग्ने हरेक सेवाबाट।
जनताले सुशासन मागेका छन् , विकास मागेका छन् , समृद्धि र सामाजिक न्याय मागेका छन्। यो सरकारको हरेक कदम त्यही आकांक्षातर्फ केन्द्रित छ र रहनेछ। यो संविधानप्रतिको निष्ठा र यसको पालनामा हामी पूर्ण प्रतिबद्ध छौँ - म यो वाचा आज फेरि दोहोर्याउँछु।
शहीदहरूको रगतले लेखेको संविधान , हामी कामले पूरा गर्छौँ।
सम्पूर्ण नेपाली जनतामा संविधान दिवस तथा राष्ट्रिय दिवस , २०८३ को हार्दिक शुभकामना।
धन्यवाद







प्रतिकृया दिनुहोस