• २०८३ असोज १० शनिबार
  • Saturday, 26 September, 2026

लगातारको वर्षा, कस्ताे छ देशकाे अवस्था?

काठमाडौं । अविरल वर्षाका कारण देशभरका प्रमुख राजमार्ग तथा सडकखण्डमा पहिरो, बाढी र डुबानको जोखिम बढेपछि विभिन्न स्थानमा सवारी आवागमन बन्द गरिएको छ। कतिपय सडकखण्डमा एकतर्फी सवारी सञ्चालनमा ल्याइएको छ भने जोखिम भएका क्षेत्रमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। 

काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख सडकहरू प्रभावित भएपछि अत्यावश्यक सामग्रीको ढुवानीसमेत प्रभावित भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौंको ‘लाइफलाइन’ मानिने त्रिभुवन राजपथ हेटौँडा–नौबिसे–काठमाडौं सडकखण्ड अत्यावश्यक सामग्री बोकेका सवारीका लागि एकतर्फी सञ्चालनमा राखिएको छ।  

काठमाडौंका लागि अत्यावश्यक खाद्यान्न तथा इन्धन ढुवानी सहज बनाउन त्रिभुवन राजपथ एकतर्फी खुला राखिएको प्रहरीले जनाएको छ। साना सवारी साधनले भने हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ तथा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सक्नेछन्। यी वैकल्पिक सडकमा ठूला मालवाहक सवारी सञ्चालन गर्न नसकिने प्रहरीले जनाएको छ। जोखिमका कारण यी सडकमा समेत रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

काठमाडौं आसपासका सडकमा पनि अवरोध

ललितपुरको बागमती गाउँपालिका ३ भट्टेडाँडा पाङ्दुर, एए टाकुरे तथा गोदावरी नगरपालिका–६ विष्टधारामा पहिरोका कारण कान्तिलोकपथ पूर्णरूपमा अवरुद्ध भएको छ। 

काभ्रेमा बीपी राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। रोशी गाउँपालिका ५ किम्तबेसीमा पहिरो गएपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सिन्धुलीतर्फ पनि बीपी राजमार्गमा राति ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। 

धादिङको बेनीघाट रोराङ गाउँपालिका ७ कृष्णभीर र वडा नम्बर १० फिडिजारखानीमा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जवाङखोलामा भने पहिरो हटाएर एकतर्फी सवारी सञ्चालनमा ल्याइएको छ। पृथ्वी राजमार्गमा जोखिमलाई ध्यान दिँदै रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। 

चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी आसपासमा अविरल वर्षाका कारण पृथ्वी राजमार्ग तथा मुग्लिन सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। उक्त क्षेत्रमा ठूला सवारी साधन सञ्चालन गर्न नसक्ने अवस्था रहेकाले आवागमनमा रोक लगाइएको छ भने साना सवारी साधन र मोटरसाइकललाई पास गराइएको छ।  

बागमतीका अन्य जिल्लामा पनि जोखिम

रसुवामा बाढीका कारण जिल्लाका मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन्। नुवाकोटको विदुर नगरपालिका १० सिमटारमा बाढीका कारण पासाङल्हामु सडकखण्ड अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ। शिवपुरी गाउँपालिका ८ घेउखोलामा टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।  

मकवानपुरमा कान्तिराजमार्ग तथा भीमफेदी–देउराली–कुलेखानी हुँदै काठमाडौं जाने सडकखण्डमा राति ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोकिएको छ। भीमफेदी गाउँपालिका ८ बगुवा खोला नजिकै खहरे खोल्सामा पहिरो जाँदा कान्तिलोकपथ सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। 

दोलखा, सिन्धुपाल्चोकलगायतका जिल्लामा पनि सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।  

कोशी प्रदेशमा पनि सडक अवरुद्ध

सोलुखुम्बुमा भारी वर्षाको पूर्वानुमान रहेकाले सिद्धिचरण लोकमार्गसहित जिल्लाका भित्री सडकमा राति ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक बाहेकका सवारी तथा पैदल यात्रुको आवागमनमा रोक लगाइएको छ। 

पाँचथरको तुम्बेवा गाउँपालिका २ नाङ्खोलामा बाढीका कारण तमोर–कोरिडोर पूर्णरूपमा अवरुद्ध भएको छ। भोजपुरमा मध्यपहाडी लोकमार्गलगायतका सडकमा राति ६ बजेदेखि बिहान ६ बजेसम्म आवागमनमा रोक लगाइएको छ। यद्यपि अत्यावश्यक सवारी, एम्बुलेन्स, दमकल तथा अत्यावश्यक खाद्यान्न बोकेका सवारीलाई प्रहरीसँग समन्वय गरी सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ। 

इलाममा मेची राजमार्ग, मेची कोरिडोरलगायत जिल्लाका सम्पूर्ण सडकमा राति ७ बजेदेखि बिहान ४ बजेसम्म आवागमन बन्द गरिएको छ। ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ र ७ को सीमास्थित भँडारे खोलामा बाढीका कारण सिद्धिचरण लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।  

गण्डकी र लुम्बिनीमा पनि राति सवारी रोक

मनाङमा बेंसीसहर हुँदै खाङसार जाने सडकमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। नासों गाउँपालिका ३ खोत्रोमा पहिरोका कारण चामे–बेंसीसहर सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।  

कास्की, मुस्ताङ, पर्वत, म्याग्दी र नवलपरासी पूर्वमा पनि सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। 

लुम्बिनी प्रदेशको दाङमा राप्ती राजमार्ग, भालुवाङ–चकचके, शहीद मार्गअन्तर्गत घोराही–होलेरी तथा घोराही–मुर्कुटीलगायत सडकखण्डमा साँझदेखि बिहानसम्म सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ। रोल्पा नगरपालिका ७ माडीचौर क्षेत्रमा मदन भण्डारी राजमार्गमा पनि सवारी आवागमनमा रोक लगाइएको छ। 

प्रहरीका अनुसार अविरल वर्षा जारी रहेकाले सडकमा पहिरो तथा बाढीको जोखिम कायमै छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर