के पूर्व र मध्य नेपालमा झरी र बाढीकाे त्रास हटेकाे हाे?
काठमाडौँ । बंगालको खाडीबाट विकसित न्यूनचापीय प्रणाली कमजोर बन्दै गएको छ । पछिल्लो एक घण्टामा नेपालका धेरै भागमा वर्षा हटिसकेको छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा मात्र हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो २४ घण्टामा भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको तराई भूभागमा भारी र धेरै भारी वर्षा भएको थियो ।
सबैभन्दा बढी पाल्पाको अर्चले वर्षा मापन केन्द्रमा १९६ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । २४ घण्टाभित्र ५० देखि १०० मिलिमिटरसम्म वर्षा भए भारी, १०० देखि २०० मिलिमिटरसम्म भए धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी परे अति भारी वर्षाका रूपमा लिइन्छ ।
'पछिल्लो १ घण्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा भएको छ। बागमतीदेखि पूर्वका कोशी र मधेशका तराई भूभागमा पानी परेको छैन,' महाशाखाका मौसमविद् रोजन लामिछानेले मौसमी अपडेटमा भनेका छन्, 'कतै घाम त कतै बादल देखिएको छ ।'
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज दिउँसो र राति धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने तथा केही स्थानमा भारी वर्षासमेत हुने लामिछानेले बताए। भोलि दिउँसो यी प्रदेशमा प्रणाली कमजोर भई हल्कादेखि मध्यम वर्षा मात्रै हुने उनको भनाइ छ।
आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
'पूर्वतिर वर्षा हटेर मौसम सुधार हुने क्रममा छ,' मौसमविद् लामिछानेले भने, 'भोलि राति र पर्सिदेखि मौसम सुधार हुन्छ ।'
बागमतीदेखि पूर्व प्रभाव घटे पनि पश्चिमी क्षेत्रमा धेरै भारी वर्षासम्म हुने भएकाले आवश्यक सावधानी अपनाउन उनले अनुरोध गरेका छन् । 'प्रभावस्वरूप बाढीपहिरो, खोलाको बहाव बढ्ने र कटानको समस्या हुन सक्छ,' उनले भने, 'जोखिमयुक्त ठाउँका बासिन्दाले सतर्कता अपनाउनुपर्छ ।'
सुदूरपश्चिमी क्षेत्रमा आजको तुलनामा भोलि कम वर्षा हुने र पर्सिदेखि देशैभर मौसम सुधार हुने उनले बताए ।
हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव छ । यसमा बंगालको खाडीबाट विकसित न्यूनचापीय प्रणाली पनि मिसिएको छ ।
अहिले यो प्रणाली उत्तर छत्तीसगढ र आसपासको उत्तरपूर्वी मध्यप्रदेशमाथि केन्द्रित छ । छत्तीसगढको पेन्ड्रा रोडबाट करिब ११० किलोमिटर उत्तरपश्चिम, चम्पाबाट करिब ११० किलोमिटर उत्तरपश्चिम र मध्यप्रदेशको सिधीबाट करिब १८० किलोमिटर दक्षिणमा यो सक्रिय रहेको भारतीय मौसम विभागले जनाएको छ ।







प्रतिकृया दिनुहोस