• २०८३ असोज १२ सोमबार
  • Monday, 28 September, 2026

चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोगमा के छ? 

काठमाडाैं । प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई जरुरी पक्राउ पूर्जी दिएर पक्राउ गरेको खुलेको छ। 

शनिबार बेलुका प्रहरीले घरबाटै उनलाई पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार उनीविरुद्ध कसैको उजुरी छैन । शान्ति सुरक्षासम्बन्धि विश्लेषणका आधारमा उनलाई पक्राउ गरिएको हो। 

‘शान्ति सुरक्षा भड्काउने किसिमका गतिविधिमा उनको संलग्नता देखियो,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले भने,‘केही जेन–जी अभियान्ता भनिनेहरुलाई सरकारविरुद्ध उचाल्ने जस्ता गतिविधिमा संलग्नताको प्रमाण भेटिएपछि पक्राउ गरिएको हो।’

उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दामा अनुसन्धान हुने सम्भावना छ। सरकारको उच्च तहबाट आएको निर्देशनकै आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनका पछिल्ला गतिविधिहरु शंकास्पद देखिएपछि पक्राउ गरेरै अनुसन्धान गर्ने निष्कर्षमा सरकार पुगेको हो। 

स्रोतका अनुसार प्रहरीले उनको मोबाइल पनि जफत गरेको छ। मोबाइलबाट उनका गतिविधिबारे विश्लेषण गर्न लागिएको छ। 

जबरा पदमा हुँदा विवादास्पद प्रधानन्यायाधीश हुन्। उनीविरुद्ध संसदमा महाभियोग समेत दर्ता भएको थियो। उनले कार्यपालिकासँग मिलेर नियुक्तिमा भागबण्डा गरेका थिए । तत्कालिन प्रधानमन्त्री केपी ओली र सत्तारुढ नेता शेरबहादुर देउवाले मिलेर विभिन्न ५१ संवैधानिक पदमा गरेकाे भागबण्डाविरुद्ध सर्वाेच्चमा मुद्दा नै परेकाे थियाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर