• २०८३ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2026

२ पटक राष्ट्रपति भएकी भण्डारीले भनिन्ः देशको सेवा गर्न चाहान्छु

काठमाडाैं। २ पटक देशकाे नेतृत्व गरेकी पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी सम्मानित वरिष्ठ नेता विद्यादेवी भण्डारीले अब आफू कुनै राजनीतिक पदको आकांक्षामा नभई पार्टी, जनता र देशको सेवामा सक्रिय हुने बताएकी छन्।

एमालेले गत असोज ८ गते उनलाई सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेपछि रुपन्देहीमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा भण्डारीले आफूले पार्टीको निर्णय स्वीकार गरेको बताइन्। उक्त निर्णय एमाले केन्द्रीय कमिटीले समेत अनुमोदन गरिसकेको छ।

‘अब यहाँभन्दा माथि जाने ठाउँ छैन। राष्ट्रपति भइसकेँ, अब कहाँ जाने ? पदको हिसाबले माथि पुगेँ। अब जाने भनेको स्वर्ग हो,’ उनले भनिन्, ‘तर राष्ट्र र जनताका लागि काम गर्ने इच्छा अझै छ। त्यसैले यही पार्टीमा रहेर काम गर्छु।’

भण्डारीले आफू बाल्यकालदेखि नै एमालेमा आबद्ध भएर सामाजिक सेवा र सामाजिक कुरीतिविरुद्धको अभियानमा सहभागी हुँदै आएको स्मरण गरिन्। राजनीतिक यात्राका क्रममा विभिन्न समस्या आए पनि आफ्नो राजनीतिक आस्था परिवर्तन नगरेको उनको भनाइ थियो।

उनले पार्टी नेतृत्वबाट भएका गल्ती र कमजोरीलाई स्वीकार गर्दै सुधार गरेर अघि बढ्नुपर्ने बताइन्। विगतका पार्टी विभाजनले एमालेसहित समग्र वाम आन्दोलनमा असर परेको उल्लेख गर्दै उनले एकता कायम राख्नुपर्नेमा जोड दिइन्।

‘नेतृत्वको गल्तीको असर तलसम्म पर्छ। त्यसैले हामीभित्र रहेका कमी–कमजोरी सुधारेर अघि बढ्नुपर्छ,’ उनले भनिन्।

२०७४ सालको निर्वाचनमा वाम एकता र सहकार्यबाट राम्रो परिणाम आएको स्मरण गर्दै भण्डारीले त्यसपछि एकता भङ्ग हुँदा पार्टी विभाजन र क्षति भएको बताइन्। मूलधारका राजनीतिक दल विभाजित हुँदा त्यसको असर समग्र राजनीतिक क्षेत्रमा पर्ने उनको भनाइ थियो।

उनले जनताको विश्वास जितेर मात्रै राजनीतिक आस्था बलियो बनाउन सकिने बताइन्। एउटा निर्वाचनको परिणामलाई आधार बनाएर निराश हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उनले एमालेले वाम आन्दोलन, देशभक्तिको आन्दोलन र सामाजिक न्यायको पक्षमा काम गर्नुपर्ने धारणा राखिन्।

‘म यही पार्टीबाट हुर्किएर देशको राष्ट्रपतिसम्म भएँ। अब यही आन्दोलनलाई बलियो बनाउने मेरो चाहना हो,’ उनले भनिन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर