संसदमा बादलकाे घाेषणाः पराजय आत्मसमर्पण होइन, भावी विजयको अवसर
काठमाडाैं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले सरकारको ६ महिने कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता बादलले सरकारको पछिल्लो गतिविधिलाई ‘फासीवादी शासन’ को संज्ञा दिए। पूर्वप्रधानमन्त्रीको गिरफ्तारीदेखि पछिल्लो समयका राजनीतिक घटनाक्रमसम्म आइपुग्दा सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर रहेको उनको आरोप छ।
सत्तापक्षले संसदलाई केवल प्रतिछायाको रूपमा प्रयोग गरेको उनको भनाइ छ। गत निर्वाचनमा आफ्नो दलले बेहोरेको पराजयलाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गरेको उनले बताए। ‘पराजयको स्वीकारोक्ति आत्मसमर्पण होइन, हामीले यसलाई भावी विजयको अवसरका रूपमा लिएका छौँ,’ उनले भने।
सरकारको ६ महिने कार्यकालको समीक्षा गर्दै उनले विधि निर्माण प्रक्रियामा सत्तापक्षले संकुचित सोच राखेको आरोप लगाए। संसदमा दर्ता भएका दर्जनौँ विधेयकमा प्रतिपक्षको सुझावलाई स्थान नदिई सरकारले ‘एकाधिकार’ लादेको उनको दाबी छ।
‘लोकतान्त्रिक प्रक्रिया संवाद र सहमतिमा आधारित हुनुपर्नेमा सत्तापक्षले संख्या र शक्तिको दम्भमा विधेयकहरू पेलेर पारित गर्ने काम गरेको छ,’ उनले भने।
संसदका सभामुखको भूमिकामाथि पनि उनले प्रश्न उठाए। राजनीतिक सहमतिको लागि सभामुखले ठोस अगुवाइ गर्न नसकेको उनको भनाइ छ। यद्यपि पछिल्लो समय सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गर्ने जमर्को गर्नु र सत्तापक्षका केही सांसदले सरकारको कार्यशैलीमा प्रश्न उठाउनु सकारात्मक संकेत भएको बादलले बताए।
गत भदौ १० को महाविपत्तिपछि रास्वपा सभापतिले सर्वपक्षीय संयन्त्र निर्माणका लागि गरेको पहलको स्वागत गर्दै उनले संसदीय विशेष समितिमा राष्ट्रिय सभालाई समावेश नगर्नु त्रुटिपूर्ण भएको औँल्याए।







प्रतिकृया दिनुहोस