• २०८३ असोज १९ सोमबार
  • Monday, 5 October, 2026

कांग्रेसको महाधिवेशनमा के भने नेताहरुले?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना सम्बोधन गरिरहेका छन् ।

साे क्रममा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देश विकासका लागि स्पष्ट र दीर्घकालीन योजना बनाएर राजनीतिक दलहरूबीच त्यसको कार्यान्वयनका लागि प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्। भट्टराईले मुलुकलाई आगामी २० वर्षभित्र विकसित देशको स्तरमा पुर्‍याउने लक्ष्यसहित साझा विकास योजना बनाउनुपर्ने बताए।

मलेसिया, दक्षिण कोरिया, सिंगापुर र चीनले छोटो समयमै विकासमा ठूलो फड्को मारेको उदाहरण दिँदै उनले नेपालले पनि त्यहीअनुसार दीर्घकालीन योजना बनाउनुपर्ने बताए।

‘अहिले पनि समय छ, सबैले सोच्नुस्। अरू देश कसरी विकास भए रु हाम्रै जीवनकालमा मलेसिया, कोरिया, सिंगापुर, चीनहरू ग्लोबल साउथबाट ग्लोबल नर्थसम्म पुगे भने हामी पनि आगामी २० वर्षभित्र त्यहाँ कसरी पुग्ने रु’ उनले भने।

उनले देश विकासका लागि साझा योजना बनाएर त्यसलाई कार्यान्वयन गर्ने विषयमा राजनीतिक दलहरूबीच प्रतिस्पर्धा हुनुपर्ने बताए।

‘त्यसको एउटा योजना बनाऔँ। त्यसलाई सबै पार्टीहरूले कसरी कार्यान्वयन गर्ने भनेर प्रतिस्पर्धा गरौँ। त्यसो गरे मात्रै देश बन्छ,’ भट्टराईले भने। 

जनता समाजवादी पार्टी नेपालका नेता शरतसिंह भण्डारीले लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न राजनीतिक दलबिच सहकार्य आवश्यक रहेको बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले नेपालको राजनीतिक परिवर्तनमा कांग्रेसको महत्त्वपूर्ण भूमिका रहेको बताएका हुन्। प्राप्त उपलब्धिको रक्षा गर्न सबै दल एक ठाउँमा उभिनुपर्ने उनको तर्क थियो। 

देश आर्थिक, सामाजिक र भू–राजनीतिक संक्रमणबाट गुज्रिरहेको भन्दै भण्डारीले दलबिचको खिचातानीभन्दा माथि उठेर आर्थिक समृद्धिमा ध्यान दिनुपर्ने बताए।

श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले अब दलहरूबीच कसले कति पटक सत्ता चलाउने भन्नेमा नभई कसले देशका लागि राम्रो काम गर्ने भन्ने विषयमा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।

नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव राईले पार्टी अध्यक्ष हर्क साम्पाङको भनाइ उद्धृत गर्दै दलहरूले आफ्नो कार्यशैली बदल्नुपर्नेमा जोड दिएका हुन्।

काठमाडौंको खुलामञ्चमा आयोजित सभामा उनले भने, ‘हाम्रा पार्टी अध्यक्ष हर्क साम्पाङज्यूले भनेजस्तै अब कुन पार्टीले कति पटक सत्ता चलाउने भनेर प्रतिस्पर्धा गर्नुभन्दा पनि कुन पार्टीले कति राम्रो काम गरे र देशका लागि कति योगदान दिए भन्ने कुरामा प्रतिस्पर्धा गर्नुपर्छ।’
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर